प्रेस संगठन नेपाल पाल्पा शाखाका सदस्यहरुले लिए सपथ

meropati

मिलन विश्वकर्मा
पाल्पा, २४ माघ । प्रेस संगठन नेपाल पाल्पा शाखाका नवनियुक्त सदस्यहरुले सपथ लिएका छन् । शुक्रबार तानसेनमा आयोजित शाखाको प्रथम भेलाको अवसरमा उनिहरुले सांगठनिक जिम्मेवारीको सपथ खाएका हुन् । संगठन प्रदेश ५ का सह–संयोजक मानसिं विश्वकर्माले नयाँ सदस्यहरुलाई सपथ खुवाउनुभएको हो ।

भेलामा प्रमुख अतिथि पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सदस्य सोम प्रसाद पाण्डेले मुलुक निर्माणमा पत्रकारको भूमिका अतुलनीय रहेको बताउनुभयो । ‘अहिले मुलुक निर्माणको चरणमा छ’ उहाँले भन्नुभयो ‘सरकार, जनप्रतिनिधी र प्रतिपक्षलाई सकारात्मक ढंगबाट सचेत गराउने जिम्मेवारी मिडियाको हो ।’



नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश ५ का सांसद बसन्त घर्तीमगरले पत्रकारले अधिकारसँगै दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । ‘राजनीतिक दलका नेताहरुले कहिल्यै पनि मिडियालाई अपमान गरेका छैनन्’ उहाँले भन्नुभयो ‘कहिलेकाँही भूलवस गल्ती भएका हुनसक्छन् । त्यसको आत्माआलोचना गर्दछौ ।’ मिडियाले सरकारको कामलाई खबरदारी गरिरहनुपर्ने सांसद घर्तिमगरले बताउनुभयो ।
प्रदेश ५ का सांसद तथा नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यले मुलुकको विकासको लागि जनप्रतिनिधि र पत्रकारबीच समन्वय हुनुपर्ने बताउनुभयो । अहिलेको सरकार र जनप्रतिनिधिले धेरै राम्रो काम गर्न नसकेपनि बिग्रन भने नदिएको उहाँको भनाई छ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले जनताको हक अधिकार र स्थानीय सरकारले दिने सेवा सुविधाका बारेमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

भेलामा प्रेस संगठन प्रदेश ५ का सह–संयोजक मान सिंह विश्वकर्मा, प्रेस संगठनका केन्द्रीय सदस्य रुद्रहरी कुँवर, नेकपा पाल्पाका प्रचार विभाग प्रमुख गुराँस आत्रेय, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सभापति राजेश कुमार अर्याल, वरिष्ठ पत्रकार मेघराज शर्माले नवनियुक्त सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

भेलाले ११ सदस्यीय सचिवालय गठन गरेको शाखा संयोजक राजेन्द्र लिगलले बताउनुभयो । संगठनले पत्रकारिता क्षेत्रमा छिटै रचनात्मक कार्यक्रम सञ्चालन गर्ने सह–संयोजक कृष्ण दर्नालले बताउनुभयो ।

संगठन पाल्पामा संयोजक, सह–संयोजक सहित २५ जनाको कमिटी गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: