अर्थ खबर

बाइस प्रतिशत जनतामा बीमा पहुँच

काठमाडौँ, १२ फागुन । चरम गरिबीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफैँले योगदान गरेर बीमा सेवा प्राप्त गर्न नसक्ने समूहलाई सरकारले निःशुल्क स्वास्थ्य बीमा सुविधा दिने बताउनुभयो ।

राष्ट्रिय बीमा संस्थानको ५३औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले निःशुल्क गरेपछि साढे १६ लाख परिवारका ७५ लाख नागरिक बीमाको दायरामा आउने बताउनुभयो ।


advertisement

बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनि रहेकालाई पनि समेट्ने गरी लाग्न उहाँको आग्रह थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका डा. खतिवडाले बीमाका जोखिमलाई विविधीकरण गर्न पुनर्बीमाको जोखिमलाई पनि विविधीकरण गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न बीमाको पहुँच विस्तार हुने गरी बीमा सेवा प्रदायक निकायहरूको संस्थागत र प्रणालीगत सुधार गर्ने, घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उहाँले बताउनुभयो । बीमा सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षहरूमा बीमा सेवाको उल्लेख्य विस्तार भएको भन्दै उहाँले भन्नुभयो, यसको बाबजुद हालसम्म नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्ष्यमा संस्थानको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्ने देख्दछु ।

संस्थानले सङ्कलन गरेको बीमकको लगानीयोग्य रकमलाई सुरक्षित तथा प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवाह गर्न सकिएमा यसले मुलुकको पुँजी बजार विकासमार्फत आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नेपालको बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफ्नो वित्तीय विवरणको पारदर्शितामार्फत स्वस्थ व्यावसायिकताको मार्ग पहिल्याउन सक्नुपर्ने बताउनुभयो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलले नेपालको सबभन्दा पुरानो एक मात्र सरकारी बीमकका रूपमा संस्थानले गौरवमय इतिहास बोकेको भन्दै एकै चौमासिकमा तीन गुणा बीमा प्रिमियम जम्मा गर्न सफल भएको जनकारी दिनुभयो । प्रविधियुक्त सेवाको सुरुवात नयाँ सफ्टवेयर र बीमा एप्सको प्रयोगबाट सुरु गरिएको भन्दै उहाँले भन्नुभयो, यसलाई आगामी वर्षमा तीव्र विस्तार गरिने छ । केही वर्षयतादेखि रोकिएको लेखा परीक्षण बीमा समितिबाट स्वीकृत गर्ने प्रक्रिया अघि बढाउने सङ्केत देखिसकेको छ । आगामी वर्षको सुरुवातमै बीमाङ्कीय मूल्याङ्कन स्वीकृति प्राप्त हुनासाथ बाँकी रहेका साधारण सभाहरू सम्पन्न गर्ने छौँ ।

बजारमा प्रचलित अरू केही बीमा प्रडक्टहरू लन्च गर्ने र भएका केही प्रोडक्टलाई अपग्रेड गर्दै जाने संस्थाको लक्ष्य रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, एकीकृत बीमा सफ्टवेयर जडान गर्ने, जनशक्तिको वृद्धि गर्ने, बाँकी रहेको आर्थिक वर्षहरूको लेखा परीक्षण यथाशीघ्र सम्पन्न गरी यसको सेवा विस्तारलाई आक्रामक रूपमा अघि बढाई संस्थानलाई आजको प्रतिस्पर्धी बीमा बजारमा अग्रणी स्थानमा प्रमुख हिस्सेदारका रूपमा स्थापित गर्नु नै हाम्रो प्रमुख लक्ष्य रहेको छ ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले चालू आवको प्रथम अर्ध वार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकहरूको जीवन बीमा कोषमा रहेको दुई खर्ब ६५ अर्ब ७१ करोडमध्ये संस्थानको कोषमा २५ अर्ब ९६ करोड रहेको बताउनुभयो । सो अवधिमा सङ्कलित बीमा शुल्क ४७ अर्ब छ करोडमध्ये संस्थानको पाँच अर्ब ६९ करोड रहेको भन्दै उहाँले भन्नुभयो, यसरी हेर्दा कुल बीमा कोष र बीमा शुल्क सङ्कलनमा संस्थानको हिस्सा क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ । त्यस्तै गरी संस्थानमा कुल बीमा लेख सङ्ख्या छ लाख ८९ हजार रहेको छ ।

विगतमा आठवटा मात्र शाखा त्यो पनि निष्क्रिय अवस्थामा रहेकोमा हाल १४ वटा शाखा कार्यालयमार्फत व्यवसाय सुरु गरी सबै कार्यालयबाट बीमा लेख जारी गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसै आवभित्रै थप १० वटा शाखा कार्यालय स्थापना गरी २४ वटा पु¥याइने भन्दै प्रशासक पाठकले भन्नुभयो, यस अवधिमा व्यवसाय विस्तारको अभिन्न अङ्ग रहेको अभिकर्ताको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । ग्राहकको मागबमोजिम पूरक करारका रूपमा दोहोरो दुर्घटना लाभलाई वृद्धि गरी ५० लाख पु¥याएको जानकारी दिँदै प्रशासक पाठकले भन्नुभयो, घातक रोग सुविधा स्वीकृतिका लागि बीमा समितिमा पठाइएको छ । त्यसैगरी नयाँ बीमा योजना सञ्चालनका लागि बीमाङ्कीकोमा पठाइएको छ ।

कार्यक्रममा संस्थानमा आव २०७५÷७६ मा आर्जित बीमा शुल्कको आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदकसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । सम्मानित हुने अभिकर्ताहरूमा मनकुमारी निरौला, सकुना अधिकारी शिवाकोटी, बद्रीप्रसाद उप्रेती, शान्ति महर्जन, बुद्धिप्रसाद गौतम, राजन रिमाल, वीरेन्द्रबहादुर शङ्कर, लीलाबहादुर श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, सुभद्रा अधिकारी, कान्छा थापा क्षेत्री र टङ्कबहादुर राई हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: