पाल्पाको छापटोल : जहाँ घरमा बिजुलीको होल्डर जडान गरे वापत नै शुल्क तिर्नुपर्छ

meropati

पाल्पा, फागुन ३० । सबैलाई थाहा भएको कुरा हो । विद्युत खपत गरे वापत शुल्क तिर्नु पर्छ । यो स्वभाविक पनि हो । तर विद्युत बाल्नको लागि चिम राख्ने होल्डर घरमा जडान गरे बापत नै शुल्क तिर्नुपर्छ भन्ने कुरा सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ ! अचम्म मान्नु पर्दैन् ।

जिल्लाको तिनाउ गाउँपालिका–४ छापटोलका स्थानीयलाई आफ्नो घरमा वायरिङ गरेर होल्डर जडान वापत शुल्क तिर्ने कुरा सामान्य बनेको छ । उनीहरुले करिब १० वर्ष पहिलेदेखि चिम नबालेको होल्डरको शुल्क तिर्दै आएका छन् । यो उनीहरुको लागि रहर नभइ बाध्यता हो । उनीहरूले घरमा वायरिङ गरेर जडान गरेको होल्डरमा चिम नबाले पनि शुल्क तिर्नुपर्छ। एउटा होल्डर जडान गरे वापत मासिक १५ रुपैयाँ शुल्क तिनुपर्छ । कतिपयको घरमा १० वटाभन्दा बढी होल्डर जडान गरिएको छ । पछी केन्द्रीय प्रसारण लाइन आउँदा सजिलो होस् भन्ने उद्देश्यले घरमा व्यवस्थीत वायरिङ गरेका हुन् । लघु लघुविद्युतबाट २ वटामा चिम मात्र बाल्न पाइन्छ । अन्य ८ वटा होल्डरको समेत १५ रुपैयाँका दरले शुल्क तिर्दै आएका छन् । बिद्युत खपत गरेवापत पनि १५ रुपैयाँ नै शुल्क लाग्छ ।



विकट ठाउँमा पर्छ छापटोल। यहाँ जनजाती समुदायअन्तर्गत मगरजातीका मानिसहरुको बसोबास रहेको छ । यो ठाउँमा बाह्रैमहिना सवारी चल्न सक्ने सडक समेत बनेको छैन् । जुन ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन जोड्नको लागि समेत कुनै प्रक्रिया अगाडि बढेको छैन् । यहाँका नागरिक प्रायः अध्यारोमा बस्न बाध्य छन् ।

यहाँ २०६६ सालदेखि लघु जलविद्युत आयोजना सञ्चालनमा आएको छ । गाउँभन्दा तल खहरे खोलाबाट यो लघु जलविद्युत उत्पादन गरिएको छ । जुन आयोजना ५ किलो वाट क्षमताको भएपनि ३ किलोवाट विद्युत मात्र उत्पादन हुँदै आएको छ । जसोतसो रातीको समयमा मात्र यहाँका स्थानीयले बिजुली बाल्न पाएका छन् । तर सामान्य हावाहुरी चल्यो र खोलाको पानीको वहाव कम भयो भने रातीको समयमा समेत विद्युत ठप्प हुन्छ । एउटा घरपरिवारले बढीमा २ वटासम्म चिम बाल्न पाउने नियम बनाइएको छ । त्यहि पनि बढीमा ५ वाटसम्मका चिम बाल्न पाइन्छ। त्योभन्दा बढी क्षमताका चिम बाल्न पाइदैन् । सुरूमा केहि घरपरिवारले ५ वाटभन्दा धेरै क्षमताका चिम राखेका थिए । तोकिएभन्दा धेरै क्षमताको चिम बाल्न नपाइने भन्दै झिकेर फालिदिएको स्थानीय तिलक सिं दर्लामीले बताउनुभयो ।

विहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म पुर्णरूपमा विद्युत कटौती नै हुन्छ । ‘दिउँसोको समयमा विद्युत आउदैन्। मोवाइल समेत चार्ज गर्न पाइदैन् ।’ उहाँले भन्नुभयो रातीको ‘समयमा समेत प्रष्ट उज्यालोमा बस्न पाइएको छैन् ।’ घरभित्रको एउटा कोठामा एउटा चिम र घरबाहिर एउटा चिम बाल्दै आएको उहाँले बताउनुभयो । घरको अन्य कोठा, माथिल्लो तला, शौचालय र गोठमा जानुप¥यो भने हातमा लाइट बोकेर जानुपर्छ ।

गाउँमा सुविधा सम्पन्न पसल छैन्। भनेको समयमा मैनवत्ति पाइदैन्। मट्टितेल पाइन छाड्यो । विद्युतको कुनै भर हुँदैन् । प्रायः रातीको समयमा अध्यारोमा बस्न बाध्य भएको स्थानीय बिमला दर्लामीले दुखेसो पोख्नुभयो । साँझको समयमा छोराछोरीले राम्रोसँग विद्यालयको गृहकार्य गर्न नपाएको उहाँले बताउनुभयो । बिहानैदेखि दिनभर विद्युत जाने हुँदा घरको कोठामा बसेर राम्रोसँग काम गर्न समेत नपाएको बिमलाले बताउनुभयो । अन्य गाउँमाजस्तै यहाँ विजुली बल्ने कहिले होला? उनले प्रश्न गर्नुभयो ।
साविकको जिविस र गाविसको आर्थिक सहयोगमा लघु जलविद्युत

२०६६ सालमा छापटोलमा लघु जलविद्युतबाट विजुली बाल्न थालिएको हो । साविकको जिल्ला विकास समितिले ५० हजार र साविकको कोलडाँडा गाविसबाट प्राप्त भएको २ लाख बजेटले यो आयोजना थालिएको थियो । आयोजना सम्पन्न गर्न बजेट नपुगेपछि स्थानीयले रकम उठाएका थिए । त्यतिबेला कम क्षमता भएको यो आयोजनाबाट जसोतसो ३८ घर लाभान्वित भएका थिए । त्यहि ३८ घर धुरीले ८ हजारका दरले रकम संकलन गरे। जसको कूल रकम ३ लाख ४ हजार हुन आउँछ । ८ हजार मध्ये ३ हजार सम्बन्धित घरमा वायरिङ गर्न खर्च गरिएको थियो। भने ५ हजार आयोजनाको निर्माण कार्य सम्पन्न गर्नको लागि खर्च गरेको स्थानीय अगुवा चेतबहादुर दर्लामीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक घरले ६५ दिन बराबर श्रमदान पनि गरेका छन्।

पछिल्लो समयमा घरधुरी बढ्दै गएकाले विद्युत आपूर्तीमा समस्या भएको चेतबहादुरले बताए। ‘सुरूमा ३८ घर थियो । अहिले ४९ घरधुरी पुगेको छ’ उहाँले थप्नुभभयो ‘त्यसैमाथि खोला सुक्दै गएको छ । विद्युत उत्पादनको क्षमतामा ह्रास आएको छ । जसले गर्दा थेग्न नसकेर छिनछिनमा विद्युत जान्छ ।’ आयोजनाका संरचना र उपकरण समेत जीर्ण बन्दै गएको उहाँले बताउनुभयो । वडाले दिएको २ लाख बजेटबाट यो वर्ष सामान्य मर्मत गरिएको छ । यो ठाउँमा मोवाइलको नेटवर्कले राम्रो काम गर्दैन् । विजुली नहुँदा सञ्चारबाट समेत बञ्चित हुनुपरेको बाध्यता उहाँले सुनाउनुभयो । धेरै वर्ष पहिलेदेखि केन्द्रीय प्रसारण लाइनबाट विजुली ल्याउन यहाँका स्थानीयले माग गरेपनि कुनै सुनुवाई भएको छैन् । यहाँका जनताको माथिल्लो तहसम्म पहुँच नपुग्दा विजुली आउन नसकेको चेतबहादुरको बुझाइ छ।

गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको एउटै खालको प्रतिक्रिया

गत वर्ष केन्द्रीय प्रसारण लाइन जोड्नेबारे सामान्य गाउँमा सर्वे भएको वडा अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । ‘त्यसपछि पनि मैले पटक पटक गाउँपालिका र विद्युत प्राधिकरण पाल्पामा अनुरोध गरिरहेको छु’ उहाँले भन्नुभयो ‘तरपनि कामको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन् ।’ यो ठाउँमा ठ्याक्कै बिजुली कहिले बल्छ भन्नेमा गाहा अन्योलमा हुनुहुन्छ ।

अर्को वर्षसम्म यहाँ बिजुली बाल्न सकिने आशामा आफु रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताउनुभयो । ‘छापटोल नजिकका अन्य गाउँमा लगभग बिजुली पुगिसकेको छ’ उहाँले भन्नुभयो ‘अर्को आर्थिक वर्ष भित्रमा यहाँ बिजुली बाल्ने योजनाका साथ गाउँपालिकाले पहल थालेको छ ।’ सिंगो गाउँपालिकाको बस्तीमा विद्युत पु¥याउने योजनालाई प्राथमिकता दिएर गाउँपालिका अगाडि बढेको अध्यक्ष घर्तिमगरले दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: