निगमले मंगलबारदेखि क्‍वालालम्पुरमा गर्दै आएको नियमित उडान रोक्यो

meropati

काठमाडौँ, ४ चैत । मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशी नागरिकलाई रोक लगाएपछि नेपाल वायुसेवा निगमले मंगलबारदेखि क्‍वालालम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

निगमले अर्को निर्णय नभएसम्मलाई क्‍वालालम्पुरको उडान रोकेको हो। निगमले जारी गरेको विज्ञप्तिअनुसार चैत ४ देखिका उडानका लागि बिक्री भएका टिकट फिर्ता गर्नुपरेमा सबै रकम भुक्तानी गर्ने जनाएको छ। जेठ १७ गतेसम्म यात्रुहरुले उडानको मिति परिवर्तन पाउने र त्यस्को शुल्क नलाग्ने जनाएको छ।



निगमले क्‍लालालम्पुरमा सातामा ७ वटा उडान गर्दै आएको थियो। उडान नै रद्द गर्नुपरेको यो दोहापछि दोस्रो गन्त‍व्य हो। प्रवक्ता अर्चना खड्काअनुसार, यात्रु अभाव हुँदै गएपछि निगमले दिल्ली, बैङ्लोर, मुम्बई, बैंकक र हङकङका हुँदै आएका नियमित उडानमा केही संख्या कटौती गर्दै उडान गरिरहेको छ। यी स्थानबाहेक यस्ले जापानको नारिता र दुबईमा उडान जारी नै राखेको छ।

यसैबीच सातामा ४ वटा उडान गर्दै आएको कोरियन एयरले यात्रु अभाव भएपछि मंगलबारदेखि अर्को शनिबारसम्मका ६ वटा उडान रद्द गरेको छ। त्यस्तै निजी क्षेत्रको हिमालय एयरलायन्सले दुई साताका लागि दमामका उडान स्थगन गरेको छ। साउदी अरबमा विदेशीलाई प्रवेश रोक लगाइएपछि उसले चैत १५ गतेसम्मका लागि दुई साता उडान स्थगन गरेको जनाएको छ।

यता नेपाल सरकारले विदेशी नागरिकलाई भिसामा रोक लगाएपछि हङकङको क्याथे ड्रयागनले काठमाडौं उडान शुक्रबारदेखि एक महिना बन्द गरेको छ । काठमाडौंस्थित क्याथेको कार्यालयका अनुसार बैशाख १८ सम्म क्याथेले उडान गर्ने छैन । अहिले यसले काठमाडौं–हङकङ–काठमाडौं सातामा ५ वटा उडान गर्ने अनुमति पाएको छ ।

एयरबसको ए–३३० जहाजबाट हङकङ हुँदै अस्ट्रेलिया, जापान, कोरिया जाने नेपाली तथा पर्यटक लैजान्थ्यो भने चीनलगायत प्यासेफिक क्षेत्रबाट पर्यटक ल्याउँथ्यो । क्याथे अघि कोरोना प्रभावका कारण चीनको तिब्बत एयरलायन्स र सिचुवानले उडान स्थगन गरेका छन् ।
त्यस्तै काठमाडौंबाट भारतको बनारस सातामा दुइटा उडान गर्दै आएको बुद्ध एयरले आइतबारदेखि बैशाख १८ गतेसम्मका लागि उडान स्थगन गरेको छ । भारत सरकारले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएकाले उडान स्थगन गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: