कोरोना रोकथामको पहलः बैशाख १८ गतेसम्म सार्वजनिकस्थल बन्द

meropati

काठमाडौं, ६ चैत । सरकारले डेढ महिना सबै सार्वजनिक स्थल बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण दक्षिण पूर्वी एसियामा फैलन सक्ने डब्लुएचओको कडा चेतावनीपछि सरकारले सार्वजनिक स्थल बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले २५ जनाभन्दा बढी भेला हुन समेत आह्वान गरेको छ । समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरूमा पनि बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।



विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रममा समेत ठूलो भिड नलगाउन आग्रह गरेको छ । ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सोको अनुगमन गृह मन्त्रालय एंव संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गर्ने ।

समितिले भिडभाड हुने सबै स्थानलाई बन्द समेत गर्ने निर्णय गरेको छ । ‘सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’, उल्लेख छ ।

यो लागु भए नभएको अनुगमन गर्न तीन वटा मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने छ । साथै यी विषयको कार्यन्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने समितिले निर्णय गरेको छ ।

नेपाल आउन प्रतिबन्ध
समितिले कतिपय देशहरूबाट आउने यात्रुलाई पनि प्रतिबन्ध लगाएको छ । त्यसमा नेपाली पनि रहेका छन् । युरोप, खाडी र कोरोनाको प्रभाव सबैभन्दा बढी रहेका देशबाट आउनेलाई आउँदो शुक्रबारदेखि नेपाल छिर्न प्रतिबन्ध लगाएको हो ।

‘युरोपका सबै मुलुकहरू, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबैलाई यात्रुहरूलाई २० मार्च २०२० मध्य रातिदेखि लागु हुनेगरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने’, निर्णयमा भनिएको छ । उक्त निर्णयअनुसार ती मुलुकबाट कुनै पनि यात्रु नेपाल आउन नपाउने भएका छन् ।

बैठकले यससम्बन्धी सूचना सम्बन्धित देशका कूटनीतिक नियोगमार्फत पठाइने जनाएको छ । सरकारले ट्राभल एडभाइजरी जारी गरिएको अवधिमा उडान यात्रा स्थगन या उडान कम्पनी आफैँले उडान रद्ध गरेको अवस्थामा यात्रुबाट अतिरिक्त शुल्क नलिने व्यवस्था पनि गर्ने भएको छ । त्यसको अनुगमन पर्यटन मन्त्रालयले गर्ने भएको छ ।

दक्षिण कोरिया, जापान, मलेसिया, युएई, कतारलगायतका मुलुकमा धेरै नै नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । निर्णयअनुसार अमेरिका, अष्ट्रेलियामा रहेका नेपाली सिंगापुर वा बैंकक ट्रान्जिट भएर आउन सक्ने देखिएको छ । तर, सरकारले यसबारे स्पष्टरूपमा भनेको छैन ।

सवारीमा सीमित यात्रु
सार्वजनिक सवारी साधनमा अब सीमित यात्रुमात्र चढाउन पाउने भएका छन् । सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने नियम लागु गरेको छ । सार्वजनिक सवारीसाधनहरूमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय समितिले गरेको अर्थ एंव सूचना तथा संचारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

समितिले भिडभाडमा सकेसम्म नजान आग्रह गरेको छ । कोरोना सर्न सक्ने आशंकामा सबै सर्वसाधारण नागरिकहरूलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्ने र त्यसको अनुगमन नेपाल प्रहरीले गर्ने भएको छ । यसैगरी सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई ‘डिसेनीफ्याक्सन’ गर्न लगाउने र यसको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्नेछन् ।

भ्रम फैलाए कारबाही
सरकारले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने भएको छ । कोरोना संक्रमणको विषयलाई लिएका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा भ्रम सिर्जना हुने खालका गलत सूचनाहरू दिए सरकारले कारबाही गर्ने जनाएको छ । निर्णयको १५ नम्बर बुँदामा भनिएको छ,‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम(सामाजिक सञ्जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिने छ ।’

सरसफाइ अनिवार्य
बैठकले होटल, रेस्टुरेन्ट तथा सपिङ मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रूपमा डिसइन्फेक्सन गर्न पनि भनिएको छ । साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरूमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: