काठमान्डौं, १७ चैत । रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण थियो कि थिएन भन्ने कुरा आज (सोमबार) पुष्टि हुने भएको छ।
उनको स्वाब (र्याल) परीक्षण गरिरहेको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।
प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले ती युवकको नुमना परीक्षणको क्रममा रहेको र आज नतिजा निस्किने जानकारी दिइन्। ‘आज बेलुकीसम्म नतिजा आउला,’ सोमबार बिहान उनले भनिन्।
बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पर्सन सुदर्शन थापाका अनुसार चैत १३ देखि अस्पतालको आइसोलेसनमा उपचाररत ती ३४ वर्षीय युवकको आइतबार दिउँसो मृत्यु भएको हो।
उनी दुबईमाबाट चैत ६ गते नेपाल आएका थिए।
‘दुबईमा ट्याक्सी चालक उनमा कोरोना भाइरस संक्रमणको निकै लक्षण देखिएका थिए,’ फोकल पर्सन थापाले सोमबार बिहान नेपालखबरसँग भने, ‘लक्षण हेर्दा त उनमा कोरोना भाइरस थियो भन्ने अनुमान गर्न सकिन्छ, तर रिपोर्ट नआएसम्म एकिन गर्न मिल्दैन।’
उनका अनुसार ती युवकलाई अत्यधिक ज्वरो र खोकी थियो।
प्रतिकृया दिनुहोस