कोरोनाको कहर : बाँकेका मजदुर पाल्पामा अलपत्र

meropati

मिलन विश्वकर्मा

पाल्पा, चैत १९ । बाँके घर भइ हाल पाल्पामा काम गर्दै आएका तीनजना मजदुर अलपत्र परेका छन् । बाँके जिल्लाको बिनौना गाउँपालिका घर भएका चैन्नुप्रसाद चौधरी, सञ्जीव चौधरी र लोहारी चौधरी अलपत्र परेका हुन् । उनीहरूले यहाँ खयर काट्ने काम गर्दै आएका थिए । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले मुलुक अहिले लकडाउनको अवस्थामा छ । सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।



आफुहरू घर हिड्नेक्रममा बिचबाटोमा अलपत्र परेको चैन्नुप्रसादले बताउनुभयो । ‘एक्कासी काम गर्न बन्द भएपछि घर हिडेका थियौं’ उहाँले भन्नुभयो ‘अहिले पाल्पाको बगनासकाली गाउँपालिका–७ गाइघाटमा बसेका छौ ं।’ उनीहरू स्थानीय होटल व्यवसायी बसन्त कुवँरको घरमा शरण मागेर बसेका छन् ।

आफुहरूसँग खान र बस्नको लागि पैसा समेत नभएको उनीहरूको गुनासो छ । ‘काम गरेर कमाएको १÷२ हजार पैसा खर्च भइसक्यो’ लोहारी चौधरीले भन्नुभयो ‘जसोतसो घर पुग्न पाए बाँच्न पाइन्थ्यो भन्ने लागेको छ ।’ घरमा बुढा भएका बाबा आमा र श्रीमति रहेको उहाँले बताउनुभयो । यहाँ चामल सकियो, कहाँबाट कसरी ल्याउने हो भन्दै बाबाले फोन गरिरहनुभएको उहाँले सुनाउनुभयो ।

पैसा कमाउन घरबाट हिडेको एक महिना नपुग्दै काम गर्न नपाएकोले आफुहरू समस्यामा परेको अर्का मजदुर सञ्जीव चौधरीले बताउनुभयो । जतिसक्दो छिटो घरसम्म पुग्न सके घरमा भएका परिवारको रेखदेख गर्न पाइन्थ्यो उहाँले भन्नुभएको छ । लोहारी र सञ्जीव सहोदर दाजुभाइ हुन् । दुइ भाइ छोरा हामी यता बिचबाटोमा अलपत्र हुँदा घरमा परिवार समेत विचल्लीमा परेको सञ्जीवले बताउनुभयो । उनीहरूले घर पुग्ने वातावरण मिलाइदिन सरकारसँग अनुरोध गरेका छन् ।

आफुले विगत १० दिनदेखि उनीहरूलाई निशुल्क खान बस्नको लागि व्यवस्था मिलाएको होटल व्यवसायी बसन्त कुवँरले बताउनुभयो । उनीहरूलाई थप यहाँ बस्दासम्म खानका लागि सहयोग गर्न सरोकारवाला निकायसँग उनले अपिल गर्नुभयो । आफुले बस्ने व्यवस्था मिलाउने कुवँरले बताउनुभयो ।

पछिल्लो सर्कुलर अनुसार मंगलबारबाट मजदुर बोकेर हिड्ने सवारीलाई समेत सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले बताउनुभयो । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि जो जहाँ छ, त्यहि ठाउँमा सुरक्षित बसेर सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । वातावरण केहि सहज बनेपछि परिस्थिति अनुसार सवारीको व्यवस्था हुने उहाँले बताए। जटिल परिस्थितिमा हतोत्साही नहुन उहाँले आग्रह गर्नुभयो ।

उनीहरूलाई आवश्यकता अनुसार तत्कालका लागि खाने व्यवस्था आफुले मिलाइदिने बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बश्यालले बताउनुभयो । ‘सवारी सञ्चालनको प्रक्रियाबारे बुझेर घरसम्म पु¥याउने पहल गर्ने उहाँले बताउनुभयो । यद्यपि कोरोना भाइरसबाट बाँच्नको लागि सबै नागरिक सचेत हुन अध्यक्ष बश्यालले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: