समाज

गाउँमा सन्‍नाटा छायो, जनतामा सन्‍त्रास !

झविन्द्र भण्डारी
चैत्र, २३ गुल्मी ।
घर, टोल, गाउँ, वस्ती सवै सुनसान छन । आवाज गुञ्जिन्छ त केवल चराचुरुङ्गी, विभिन्न जनावर त कतै रेडियो अनि टेलिभिजन । लाग्छ गाउँमा कोही मानिस छैन, केवल घर मात्र छन । एका विहानै जस्तापाताले छाएको छाप्रो मुनी गएर साझ सम्म चिया वेच्ने दिदिको चिया पसलमा आज ताल्चा लागेको छ । तल्लो टोलमा जम्मा भएर केही भद्र भलाद्मी सहित दर्शन र राजनीति छाट्ने हर्क दाइलाई आज देखिदैन त्यो ठाउँनै विरानो लाग्छ । सकि नसकि मन्दिर जाने अनि विहान वेलुुक हरे राम गर्ने बुढी आमाहरुको भजन सु्निन छाडेको छ । न त कैयौँ सपना बुन्दै भविश्यको गोरेटोलाई सफल र मार्गदर्शक बनाउन सधै हिड्ने विद्यार्थी देखिन्छन् न त मार्ग दर्शक दिने गुरु नै । आफ्नै संसारमा रम्ने कलिला बालबच्चा रम्ने ठाउँ समेत आज सारहीन छ, चकमन्न छ, लाग्छ सबै उजाड नै उजाड छ ।

गाउँ मात्र होइन मानिस मानिसको कोलाहल हुने सहरको अवस्था समेत यस्तै छ । घर भित्रको कोठा भन्दा बाहिर मानिसलाई देखिदैन । चाडपर्वमा जस्तै ठूला सहर छाडेर गाउँ फर्किनेको केही दिन पहिला लहर थियो । ति सबै गाउँमा त आए तर कहाँ गए ? दिनहु भिडभाड लाग्ने पसल, आफ्नो गन्तव्यमा पुग्ने सवारी, सयौँ मानिस हिड्ने सडक, दिनभर मेला मजदुरी गर्ने मानिस आज कसैलाई देखिदैन । देख्छु त केवल सुनसान अनि सन्नाटामय दृश्य सायदै यि आखाँले कल्पना गरेकै थिएनन् ।


advertisement

घर भित्र गुम्सिएर वस्न त कसलाई रहर छ र, चिया वेच्ने दिदिलाई चिया वेच्न मन छ, हर्क दाइको दर्शन सुन्न मन छ, बुढी आमालाई भजन गाउन मन छ, विद्यार्थीलाई विद्यालय जान मन छ, मजदुर गर्नेलाई भारी बोक्न मन छ । आज कसैले केही गर्न पाएका छैनौँ । रिक्तता र शुन्यताले भरिएको मेरो गाउँमा कहिले हुन्छ भरिपूर्ण म यसै आँकलन गर्न सक्दिन । किनकी यतिवेला विश्व नै समस्यामा छ, जटिलतामा छ अनि चुनौतिको सामना गरिरहको छ । चिनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसले विश्वका शक्तिसाली देशहरु अमेरीका, स्पेन, इटली, जर्मनी, फ्रान्स जस्ता राष्ट्रमा धेरैले ज्यान गुमाइसकेका छन । हो यही महामारीको चपेटामा हामी परेका छौँ त घर भित्रै वस्न विवस छौँ । यो क्षणमा नेपालमा समेत भित्रिएको कोरोना भाइरसले जुनसुकै समयमा जटिलता उत्पन्न गर्न सक्ने अवस्था छ । जसले गर्दा हामीहरु आत्मवल दह्रो गराएर कुनै विचल्लित नभई संयमित भएर कोरोना विरुद्ध अगाडी वढ्नु पर्ने आवश्यकता छ ।

जताततै यतिवेला शुन्यता, नीरवता र एकलास छ भने मानिसमा डर र छट्पटी समेत उत्पन्न भएको छ । एउटा अदृश्य शक्ति हाम्रो सामु जटिलता वनेर उभिएको छ । यो शक्तिको परास्त गर्न हामी पूर्ण रुपमा संयमित र चनाखो हुनुपर्छ । कोरोना भाइरसबाट वच्न का लागी घर भित्रै बसेर नियमित रुपमा साबुन पानिले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, जङ्गली तथा घर पालुवा जनावरको सम्पर्कबाट टाढा रहने तथा आफ्नो घरलाइनै क्वारेन्टाइन वनाएर सावधानी अपनाउनु नै पर्ने छ ।

मानिस सबै घर भित्र छन् अझ के होला र कसो होला भन्ने उत्सुकता, डर, भय, त्रास हामिमा छ । बाच्नका लागि संघर्ष गर्नु छ । अहिले साच्चिकै संघर्ष गुर्नपर्ने परिस्थिती हाम्रो सामु आएको छ । यो अवस्थामा कत्तिपनी विचल्लित र त्रसित नभई विषम परिस्थिती संग जुध्नु छ । र अन्त्यमा दिदीको चियापसलको ताला छिट्टै खुल्नेछ, हर्क दाइलाई त्यही ठाउँमा देन्न पाइनेछ, बुढी आमाको भजनले निरन्तरता पाउने छ, विद्यार्थी विद्यालय जानेछन अनि पुरानै दैनिकीमा नयाँ उत्साह हेर्न यी आखाँ व्यग्र प्रतिक्षामा छन् ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: