दुई हजार वर्षपछि भक्तपुरको बिस्काः जात्रा स्थगित

meropati

भक्तपुर, २७ चैत । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण भक्तपुरको चिनारीका रूपमा रहेको बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा यसपालि नमनाइने भएको छ । देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जात्रा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नै रोकिन पुगेको हो ।

भक्तपुरको सबैभन्दा लामो बिस्काः जात्रा २७ चैतको बेलुकादेखि सुरु हुँदै छ । आठ दिन नौ रातसम्म मनाइने बिस्काः भक्तपुरको लामो र मुख्य जात्रा हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।



भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।

तर, भक्तपुरमा बिस्का जात्रा सुरु नहुँदै कोरोनाका कारण लकडाउन हुँदा बिस्का जात्रामा प्रयोग हुने तीनतले रथले पूर्णतासमेत पाउन सकेको छैन । पाँचतले मन्दिरको आँगनमा निर्माणको पर्खाइमा नै रथका विभिन्न पाटपुर्जा छरिएर रहेका छन् ।

गुठी संस्थानले यो वर्ष नयाँ रथ बनाउन बेतसीलगायत छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको भए पनि यस वर्ष भैरवनाथको रथ भक्तपुरमा नगुड्ने भएको छ ।

हजारौं मानिसको भीडले पाँचतले मन्दिरको तल र माथि गरी तान्ने प्रचलन रहेको सो जात्रा यो वर्ष भने केवल पूजाआजामा मात्र सीमित हुने भएको छ ।

बिस्केट अहिलेसम्म रोकिएको छैन
करिब २ हजार वर्ष लामो इतिहासमा बिस्केट जात्रा नरोकिएको प्राडा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । उनका अनुसार जात्राको इतिहास हेर्दा विभिन्न कालखण्डमा भएका रोग व्याधिमा पनि यो जात्रख रोकिएको पाइँदैन । प्लेग आउँदा होस् वा भक्तपुरलगायत उपत्यकामा विभिन्न समयमा शत्रुहरुले आक्रमण गर्दा वा प्राकृतिक कारणले आपत् पर्दा समेत यो जात्रालाई निरन्तरता दिइँदै आइएको इतिहास रहेको उनी बताउँछन् ।

नेपाल संवत् ७४१ मा जात्रा दोहोरिएको थियो
बिस्केट जात्राको इतिहास पल्टाएर हेर्दा हालसम्म यो रोकिएको नपाए पनि पुनः सञ्चालनमा भने ल्याइएको पाइएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘यो जात्रा नेपाल संवत् ७४१ चैत शुक्ल पूर्णिमाको दिनमा भैरवनाथको रथ तान्ने क्रममा रथ पल्टिएको इतिहास रहेको छ । क्वाछें टोलमा पल्टेपछि तान्न मिलेन र फेरि बनाएर बिस्काः जात्रा नै पुन सरञ्चालनमा ल्याएको इतिहास रहेको छ ।’ त्यस समयमा जात्रा रोकिएपछि विभिन्न विधि विधान प्रयोग गरी क्षमा पूजा र राँगो बलि दिएर जात्रा पुनः सञ्चालनमा ल्याइएको राष्ट्रिय अभिलेखालयमा रहेको उनले जानकारी दिए ।

अब जात्रा के हुन्छ त ?
उनका अनुसार बिस्केट जात्राका दुई पाटा रहेका छन्– एक त्रान्त्रिक विधिविधानबाट पूजाआजा गर्ने र अर्को रथ एवं लिगो ठड्याउने । यसमा भक्तपुरको तलेजु मन्दिरभित्र नै सुनको लिंगो बनाई उठाउने र विधि विधानअनुसार नै रथ तानेर पनि यो जात्रालाई सम्पन्न गर्न सकिन्छ । यो भित्री पूजा जहिल्यै हुँदै आएको हो ।

जात्रा कहिलेदेखि मनाइयो ?
बिस्काः जात्रा लिच्छविकालदेखि नै प्रख्यात जात्राका रूपमा रहेको अभिलेखालयमा पाइन्छ । नेपालमा लिच्छविको शासन करिब २ हजार वर्ष पहिलादेखि थियो । लेलेको शिवदेव अंशु वर्माको शिलालेखमा ध्वज गोष्टीको उल्लेख छ । यसले पनि लिच्छविको आगमनदेखि नै यो जात्रा मनाइँदै आइएको देखिन्छ । उक्त समयमा पनि दुई दिने जात्राका रूपमा मात्र यो जात्रा प्रख्यात रहेको इतिहास छ । श्रेष्ठ भन्छन्, ‘मध्यकालमा आएपछि विभिन्न शासकहरुले विभिन्न जात्रा उपजात्र सम्मिलिन गरेपछि मल्ल कालको अन्तिमसम्म पुग्दा यो जात्राले आजको रूप पाएको हो । ७४१ तिर नै राजा जगज्योतिर मल्लले बिस्काः जात्रामा भैरवनाथको जात्रा रथ जात्रा सञ्चालन गरे र थिमिमा पनि उनैले सञ्चालनमा ल्याएको इतिहास छ ।’

यस्तै, राजा जगज्योतिर मल्लभन्दा पहिला विश्व मल्ल र गंगा रानीले पनि बिस्काः जात्रामा केही विशेष विधिविधान थपेको पाइन्छ । सानो पांग्रा भएको रथ तानिँदै आएकोमा रथमा भूपतिन्द्र मल्लले रथको पांग्रा ठुल्ठूलो बनाई रथ नै ठष्ूलो बनाउन लगाएको इतिहास छ । श्रेष्ठ भन्छन्, ‘बिस्काः जात्राको स्थापनाकालदेखि नै सम्भवत् (इतिहासमा फेला नपरेकाले) यो पहिलोपटक हो, जात्रा स्थगित भएको ।’ आजकाे राजधानीदैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: