जहाँको सास्ती सरकारले देख्दैन

meropati

पृथ्वी राजमार्ग, ५ बैशाख । बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिँडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये एक जना सात महिनाकी गर्भवती रहिछन् ।

सल्यान, कपुरकोटकी १७ वर्षीया गर्भवती कमला घर्ती आफ्नै रहर या साथीसंगतिको लहलहैमा हिँडेर सल्यान पुग्न कस्सिएकी भने होइनन्। इँटाभट्टामा काम गर्दा कमाएको पैसा र अलिअलि भएको रासन ‘लकडाउन’ को २४ औं दिनमा आइपुग्दासम्म सकिएपछि उनीसँग जसरी भए पनि घर फर्किनुको अर्काे विकल्प थिएन।



‘पेटमा बच्चा छ, साहुले रासन पनि दिएन,’ कमलाले भनिन्, ‘जसोतसो घर पुग्न पाए हुन्थ्यो भनेर निस्किएका हौं।’कमलाका श्रीमान्सहितको टोली भने एक घण्टाअघि नै त्यहाँबाट हिँडिसकेको रहेछ। कमलाहरूचाहिँ काठमाडौंमा मालसामान छाडेर फर्किएका ट्रकले चढ्न देलान् कि भनेर पर्खिबसेका रहेछन्। ‘हिँड्न सकिएन, हाम्रो बिजोग भयो, जसरी पनि लगिदिनुस् भनेपछि दया देखाउँछन् कि भनेर कुरेका हौं,’ कमलासँगै रित्तो ट्रक पर्खेर बसेकी कपुरकोटकै प्रतिभा बुढाले भनिन्।

उनीहरूलाई त्यहीँ छाडेर हामी नौबिसेतर्फ अघि बढ्यौं। जसै काठमाडौं जिल्लाभित्रै पर्ने पिपलामोड सकिनेबित्तिकैको सानो मोड पुग्यौं, एक हूल मानिसहरू ट्रकमा अटेसमटेस भएर बसिरहेका थिए। बर्दियाका मात्रै ३९ र दाङ, सल्यानका ११ जनाको त्यो टोली काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकका विभिन्न कलकारखानामा काम गर्ने मजदुरहरूको रहेछ।

यसअघि ट्रकमा त्यसरी खाँदाखाँद गरेर तराई–मधेसबाट राँगा–भैंसी मात्रै ल्याएको देखेका हाम्रा आँखा त्यो दृश्यले बिझाउनु स्वाभाविक थियो। तर रातोदिनको हिँडाइले लखतरान परेका ती मजदुरहरूलाई दुई खुट्टा मात्रै अड्याउन भए पनि ट्रक भेटिएकामा असाध्यै खुसी लागेको थियो।

कति जना सिन्धुपाल्चोकबाट दुई दिन हिँडेर त्यहाँ पुगेका रहेछन् भने कति काभ्रेबाट दिनभरिको बाटो नापेर जम्मा भएका। तामाकोसी हाइड्रोपावरमा काम गर्न चैत ८ गते मात्रै सिन्धुपाल्चोक पुगेका निरञ्जन बुढाथोकी दुई दिन हिँडेर काठमाडौं कटेपछि त्यो ट्रक चढ्न पाएका थिए। हिँड्दै आउँदा पनि ठाउँ–ठाउँमा प्रहरीको केरकारमा परेका उनी बाटोमा खाना, चिउरा र चाउचाउ खुवाउने तथा ट्रकले नारायणघाटसम्म पुर्‍याइदिन्छु भनेर मागेको पाँच सय रुपैयाँ तिरिदिने मनकारीप्रति कृतज्ञ देखिए।

त्यो भीडमा भएकामध्ये कोही त एकले अर्कालाई चिन्दैनथे पनि, तर परिस्थिति र सबैले भोगेको उस्तै–उस्तै पीडाले उनीहरूलाई नजिक्याएको रहेछ। ‘सरकारले हिजोदेखि लकडाउन झन् कडा बनाएको छ, तपाईंहरूलाई यसरी कोचिएर जान दिन्छ र?,’ हाम्रो प्रश्न नसकिँदै ट्रकका चालकले भने, ‘अब त पुलिसलाई पनि दया लाग्न थालेछ, जाऊ न त भनेर पठाइदिन्छ।’

राज्यले त कुनै उपाय दिएन दिएन, उनीहरू आफैंले जोडजाम गरेको उपाय छिन्ने अधिकार उससँग छैन भन्ने हामीलाई पनि लाग्यो। त्यहीँ छेउ होटल गरेर बस्ने सानु लामाका अनुसार ५/७ सय मजदुरको लावालस्कर यो बाटोमा यसैगरी झुल्किन्छ र ओझेल पर्छ। धेरैले खाना पकाउने भाँडाकुँडादेखि ओढ्ने–ओछ्याउने लुगाफाटासम्म बोकेका देखिन्छन्।

‘दसौं दिन हिँड्नुछ, कहाँ–के पर्छ, थाहा छैन, अलिअलि जोहो त गर्नै पर्‍यो,’ बर्दिया, राजापुरका छोपलाल चौधरीले भने, ‘पुलिसले एकछिन रोकिन पनि दिएन, लखेटेको लखेट्यै गर्‍यो, बनेपाबाट यहाँसम्म आइपुग्दा भोक न प्यास केही पनि भन्न पाइएन।’

तै आज बास बस्न चितवन पुगिन्छ भन्ने विश्वासमा रहेका उनीहरूको अनुहारको आभा ट्रक चढ्न पाएको खुसीले उज्यालिएको थियो। ५० जनाबाट पाँच/पाँच सय रुपैयाँ उठाएको ट्रक चालकले ट्रकको नम्बर नदेखिने गरी फोटो खिच्नुस् भनेपछि हामीले उनको आग्रह मान्यौं पनि। जसै ट्रक अघि बढ्यो, त्यहाँ कोचिएका मजदुरलाई हामीले हात हल्लायौं।

अलिकति अघि बढेपछि एक जना प्रहरीले त्यही ट्रकका चालकलाई रोकेर केरकार गरिरहेका थिए। केहीबेर सोधखोज गरेर उनले ट्रकलाई त छाडिदिए, हामीसँग भने सरकारले बाटोमा हिँड्न झन् कडाइ गरेको र त्यसैअनुसार आफूले सोधपुछ बढाएको बताए। उक्त ट्रकका बारेमा पनि आफूले माथिल्लो निकायलाई जानकारी गराएको सुनाए।

ती प्रहरीले त्यसोभन्दा थोरै खुसी भएर अघि बढ्न पाएका मजदुरहरूलाई कतै अवरोध हुने त होइन भनेर मनमा चिसो नपसेको होइन। हामी त्यहाँबाट अगाडि बढ्यौं। बाटोमा कोही समूहमा, कोही एक्लाएक्लै हिँडेको धेरै ठाउँमा देखियो। महिला, बच्चाबच्चीदेखि उमेरले उकाली चढेका वृद्धवृद्धा सबैले लामो यात्रा तय गरेका थिए।

हामी पछ्याउँदै, कुरा गर्दै र उछिन्दै आदमघाटसम्म पुग्यौं, जसको दूरी काठमाडौंबाट ५६ किलोमिटर मात्रै रहेछ। सवारी हुनेलाई पो ५६ किलोमिटर छोटो दूरी होला, सयौं किमि टाढा जान हिँडेका मजदुरका लागि त्यति यात्रा त छेउ बराबर पनि थिएन।

आदमघाटमा भेटिए चन्द्रशेखर यादव, जो नुवाकोटको छहरेबाट लगातार १५ घण्टा हिँडेर त्यहाँ पुगेपछि टुसुक्क बसेका छन्। उनलाई पुग्नु छ भैरहवासम्म। उनको टोलीलाई सुरुमा यो दु:ख गरेर घर नफर्किउँ भन्ने नै लागेको थियो। तर इँटाभट्टाका साहुले ‘अब तिमीहरूको काम छैन, जता गए पनि जाऊ’ भन्ने जवाफ दिए। राहत भन्दै वडा कार्यालयले एकपटक दिएको चामलमा चामलभन्दा धेरै ढुंगा थियो।

‘हामीसँग जे थियो, खाएर सक्यौं, अब पनि नहिँडे भोकै मरिन्छ भन्ने सोचियो,’ यादवले भने, ‘हामीलाई प्रशासनले यति कडा बनाएको छ भन्ने थाहा पनि थिएन, तीन ठाउँमा पुलिसले बेस्सरी गाली गर्‍यो।’

बुधबार राति लिखु खोलाको किनारैकिनार हिँडेका चन्द्रशेखरहरू खोला छोडेर बाटोमा निस्किँदा बिहान ३ बजेको थियो। जब बाटोमा निस्किए, प्रहरीले फेरि हकारे। पाल्पा, माडीका दिलबहादुर गाहा मगरले भने, ‘हिँड्दाको दु:ख त छँदै थियो, पुलिसले गरेको व्यवहारले झन् मन दुख्यो।’

उनीहरू नुवाकोटबाट हिँड्दा १६ जनाको टोली थियो, आदमघाट पुग्दा १० जना भेटिए। अरू ६ जना हिँड्न नसकेपछि उतै कतै बाटोमै छुटेछन्। कतै यो युगका ‘मदन’ को हालत त भएन उनीहरूको। त्यसैले उनीहरू उठे, झोला बोकेर हिँड्न थाले। असाध्यै गाह्रो भएको छ उनीहरूलाई। सबैले खुट्टा खच्याङखच्याङ गरिरहेका छन्। लगातारको हिँडाइले खुट्टामा उठेको फोका फुटिसकेको छ, चप्पलको फित्ताले त्यहीँ रगेड्छ, झन् चहर्‍याउँछ। एउटा गतिलो जुत्तासमेत नभएकामा आफ्नै गरिबीलाई सराप्नुबाहेक उनीहरूसँग अर्काे उपाय के छ र? तै वैशाखको चर्काे घामले खाल्टो परेको पिचसमेत पग्लिएको बाटोमा हिँडे उनीहरू। घामले तातेर पिच रोडबाट आएको रापले उनीहरूको खुट्टा पोलेको त हामीले देख्यौं, राज्यले नजरअन्दाज गरिदिँदा जलेको मनबाट निस्किएको राप केवल महसुस मात्रै गर्न सकिन्थ्यो।

स्थानीय बासिन्दाका अनुसार यसअघि अरू दुई समूहमा अघि नै गजुरी कटिसकेका थिए। पछ्याएको भए कहीँ कतै भेट्थ्यौं होला तर हामीले फर्किने निधो गर्‍यौं। छक्क त हामी त्यतिखेर पर्‍यौं, जब महादेवबेंसी आइपुगेपछि बिहानै पिपलामोडबाट ट्रक पाएर हामीसँग बिदाइ भएका मजदुरहरूको लावालस्कर भेट्यौं।

हाम्रो स्कुटरभन्दा दोब्बर वेगमा कुदेको ट्रकमा मजदुर हामीभन्दा पछि कसरी छुटे ‘ड्राइभरलाई भाटा ताकीताकी थर्कायो, हामीलाई एक शब्द पनि बोल्न दिएन,’ बर्दियाका गोपाल चौधरीले भने, ‘कि यहीँ बस्ने, खाने व्यवस्था गरिदिनुस् कि हामीलाई जान दिनुस् भन्दा पनि पुलिस झन् झम्टिन आयो।’

प्रहरीले नै आदेश दिएपछि न मजदुर, न ट्रक चालक, उनीहरूको केही जोर चलेन। चालकले फनक्कै ट्रक घुमाए र झन्डै २५ किलोमिटर परको पिपलामोड लगेर छोडिदिए। उनीहरूले दु:खजिलो गरेर दिएको पाँच/पाँच सय रुपैयाँ चालकले फिर्ता पनि गरेनन्, बरु पर पुगेर पर्खिएर बस्छु भनेर झुक्याएछन्।

ती मजदुरले यो अप्ठ्यारोमा नहिँडेर सरकारलाई सक्दो सहयोग गर्न भरमग्दुर प्रयास गरेका पनि हुन्। ‘राहतका लागि फाराम भर्न खोज्यौं,’ बर्दिया, राजापुरका लाहुरप्रसाद चौधरीले भने, ‘१०/१२ वटा फर्म बोकेर आएका थिए, तर हामीलाई भर्नै दिएनन्, दु:ख पायौं भनेर हाम्रा सांसद सन्तकुमार थारूलाई फोन पनि गरेको हो तर उहाँले वास्ता नै नगरेपछि नहिँडी सुखै थिएन।

कुरा गर्दागर्दै आकाश कालो, नीलो भएर आयो, पानी छिट्याउन थाल्यो, हिँडेरै बर्दियासम्म पुग्ने लक्ष्यले लम्किएका उनीहरूको आतुरी बुझ्यौं र बिदा गर्‍यौं।

उनीसँग छुट्टिनेबित्तिकै मुसलधारे पानी पर्‍यो, सामलतामल र लुगाफाटा बोकेर हिँडेका उनीहरू बाटोमा पक्कै रुझे होलान्। नरुझ्नका लागि त्यो राजमार्गमा ओत लाग्ने ठाउँ पनि त छैन। बिहीबार राति ९ बजे मैले जब उनै लाहुरप्रसादलाई फोन गरें, उनीहरू रुझ्दै वर्दै मुग्लिन परको दासढुंगासम्म पुगेका रहेछन्।

दाङ जाने एउटा ट्रक रोकिएपछि त्यहीँ चढ्न लागेका लाहुरप्रसादको ५० जनाको टोलीलाई थाहा छैन, कुन विन्दुमा पुगेपछि प्रहरीले रोक्ने या फर्काउने हो। ‘हामी गरिब मजदुरहरूले यो सब दु:खको एक–एक हिसाब राख्छौं,’ उनको आक्रोशमा पीडा र शब्दमा आँसु मिसिएको स्पष्टै बुझियो।

काठमाडौंमा पाएको दु:ख र राजमार्गमा दिनभरको यातनापछि आएको त्यो आक्रोशले हामीलाई पनि स्तब्ध बनायो। सान्त्वना दिने शब्द हामीसँग थिएनन्। आजकाे कान्तिपुरदैनिकबाट साभार गरिएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: