कोरोना भाइरस अपडेटः

‘सुपर स्प्रेडर’को संस्मरण : बितेर गएको एउटा समयले निकै महत्वपूर्ण कुरा सिकायो

  • प्रसिद्धि श्रेष्ठ –

मार्च १७। हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा थियौं म र साथी ल्याम। हामी जहाँजहाँ पुग्दै थियौं, त्यहाँबाट नफर्किएसम्मका लागि अन्तिम भेट हुँदै थियो त्यो। उनी ठीक साढे २ बजे हो ची मिनतर्फ उड्दै थिए, म काठमाडौंतर्फ।

छुट्टिनुको पीडासँगै डर अनि घर फर्कँदै गर्दाको खुशी पनि। हाम्रा संवेदनाहरु स्थिर थिएनन्। हामी जहाँ उभिएका थियौं, त्यस परिस्थितिको दोष कोरोना भाइरसको संक्रमणलाई दिइरहेका थियौं। थाहै थिएन, अझै बढी चुनौतिपूर्ण केही भोग्नुपर्छ भन्ने।


advertisement

दुवै आ-आफ्नो देश फर्कियौं।

काठमाडौं आइपुगेँ। नियम अनुसार क्वारेन्टाइनमा बसेँ। क्वारेन्टाइनमै रहँदा हो मेरो साथी ल्याममा कोरोना भाइरस संक्रमण देखिएको खबर पाएको। मसहित धेरै साथीहरुको लागि खबर तीतो सत्य थियो। त्यो सत्य, जसलाई हामीले सामाजिक सञ्जालमा सेयर भएर आउने मिममा देखेका र विदाइ पत्रमा लेखेका थियौं।

ल्याममा संक्रमण देखिएको ठीक दुई दिनपछि आफै भुक्तभोगी भएँ। दिदीले पटकपटक ममा संक्रमण देखिएको बताइरहिन्। मैले अस्वीकार गरिरहेँ। त्यो सत्य साँच्चै अविश्वसनीय थियो। किनकि त्यतिन्जेल ममा कोरोनाको लक्षणसँग मिल्दो कुनै समस्या देखिएकै थिएन।

अन्तत: मैले आफैलाई विश्वस्त पारेँ। नेपालको हकमा दोस्रो संक्रमित पुष्टि भएँ।

मभन्दा अगाडि चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको थियो। उनी उपचार पछि भाइरस मुक्त भइसकेका थिएँ। त्यसैले कागजी दस्तावेजहरुमा त मेरो देश शत् प्रतिशत् कोरोना भाइरस संक्रमण मुक्त थियो। विश्व कोरोनाकै कारण त्राहिमाम भएको अवस्थामा नेपालीहरुका लागि गर्वको विषय थियो त्यो।

त्यहीबेला ममा संक्रमण देखियो। देशभर एकमात्र ‘एक्टिभ केस।’ त्यसैले अवस्था असामान्य बन्यो। किनकि त्यो आपत्कालीन अवस्थाको सामना कसरी गर्ने? कसैलाई थाहै थिएन, वास्तवमा यस विषयमा कुनै ‘प्रोटोकल’ बनेकै थिएनन्।

रातको दश बजे मेरो परिवारलाई उक्त जानकारी दिइयो। त्यतिखेर मलाई एउटै चिन्ता थियो – कतै कोरोना भाइरसको संक्रमण मबाट मेरो परिवार अरु कसैलाई सर्‍यो कि? डर हुनु स्वभाविक पनि थियो। किनकि चिकित्सकहरुले मेरो शरीरमा कोरोनाका जिवाणु निकै धेरै भएको बताएका थिए जुन तीव्र रुपमा फैलन सक्ने चुनौति थियो।

त्रास र चिन्ताबीच साइरन बजाउँदै आएको एम्बुलेन्स मेरै घरतर्फ सोझियो। मलाई सरकारी अस्पतालमा लिएर गयो त्यो एम्बुलेन्स जहाँ मेरो उपचार हुँदैथियो।

मार्च २२ तारिखमा हो म आइसोलेन वार्डमा भर्ना भएको। त्यही रातदेखि बल्ल ममा लक्षण देखिन थाले। मेरो पेट अत्याधिक दुख्न थाल्यो। सास फेर्न गाह्रो भयो। मेरो ध्यान पूरै सासमा केन्द्रित भयो। मलाई आफ्नै स्वासप्रस्वास प्रक्रिया असामान्य लाग्न थालिसकेको थियो।

धेरै दिनसम्म अवस्था उस्तै रह्यो। आफ्नै छातीले सास लिन रोकिरहेको महसुस भइरह्यो। मेरो शरीर आफ्नै नियन्त्रणमा थियो तर म थिइँन। खाटबाट उठ्न समेत संघर्ष गर्नुपर्‍यो। अनिद्रा र खानाको अरुची उस्तै।

मैले कतै पढेको थिएँ – संक्रमित व्यक्तिलाई गन्ध महसुस हुँदैन। संक्रमण पछिको एकरात मैले साबुन सुघ्ने प्रयास गरेँको थिएँ। साँच्चै पढेको जस्तै भयो। मैले साबुनको गन्ध चालै पाइँन। त्यो मेरो लागि ठूलो ‘सर्प्राइज’ थियो।

लक्षणहरु बढ्दै गयो। खोकी लाग्न थाल्यो। ज्वरो भने देखिएको थिएन। त्यतिन्जेल मेरो केस मध्यम खालको थियो भन्ने बुझेँ। अनि संक्रमणका कारण आफूभन्दा बढी गलेकाहरुका लागि प्रार्थना गरेँ।

यसबीचमा मैले मिडियालाई पनि सम्झनु पर्छ। मिडियामार्फत् सन्देश प्रवाह भयो – ‘फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखियो।’ समाचारमा नाम खुलाइएको थिएन। तर, मेरा बारेमा धेरै विवरणहरु खुलाइए, जसमध्ये केही सत्य थियो केही झुट।

काठमाडौं एउटा सानो शहर हो। मिडियामा संक्रमितको विवरणहरु बारेमा चर्चा हुँदा, मानिसहरुलाई मेरो नाम पत्ता लगाउन गाह्रो भएन। विशेषगरी मलाई चिन्नेहरुका लागि।

पेरिसमा ल्याम र म रुममेट। भाइरस देखिएको एकदिन अगाडि मैले नातेदारहरु भेटेको थिएँ। मेरो आमाबुबाहरु चिकित्सककहाँ पुगेको कुरा मिडियामा छाए जस्ता खबर बीना आधार मिडियामा छाए। न्यूयोर्क टाइम्सको नेपाली पार्टनर समेत रहेको रिपब्लिकाका प्रधानसम्पादकले त अनुमानका बीच मलाई ‘सुपर स्प्रेडर’को तक्मा लगाइदिए। उनलाई मेरो कथा थाहा नै थिएन। मैले भाइरस फैलाएको भन्ने बारेमा कुनै प्रमाणबिना लेखे। जसका कारण धेरै मानिसहरुका लागि म ‘सुपर स्प्रेडर’ बनेँ।

मार्चको २३ तारिख केही फरक रह्यो। कतैबाट कसैले मेरो कथा भन्दै थियो। त्यो पनि तथ्यहरु तोडमोड गरेर। आफू अनूकुल पारेर। त्यस बखत् म केवल एक वस्तु सरह भएँ। मेरो देशमा फैलँदै गरेको कोरोना भाइरसको कारक घोषित भएँ।

सामाजिक सञ्जालमा पनि मेराबारेमा धेरै चर्चा भइरहेको थियो। मानिसहरु म सावधान नबनेको आरोप लगाइरहेका थिए। उनीहरु मप्रति रीस व्यक्त गरिरहेका थिए। कतिले त मलाई मार्ने धम्की समेत दिएका थिए। यस्ता नकारात्मक टिप्पणीहरुको श्रृङ्खला नटुंगिएपछि डाक्टरहरुले मलाई समाचार पढ्नै बन्द गर्न सुझाव दिए।

म आफू सेल्फ क्वारेन्टाइनमा बसेको प्रमाण मसँग छ। म भाइरसलाई लिएर कति सचेत र सर्तक थिएँ भन्ने प्रमाण मसँग छ। तर, त्यतिखेर मैले केही भन्न सकिँन। आफ्नो सुरक्षाको लागि म गुमनाम नै रहनु नै उचित थियो।

स्वास्थ्य मन्त्रालयले ममा संक्रमण देखिएको बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्‍यो। त्यस लगत्तै नेपालभर लकडाउन लागू भयो। त्यसबेला सोचेँ- कतै सरकारले लकडाउन लागू गर्नु पछाडिको कारण म त होइन?

केही हदसम्म मेरो सोच यथार्थ थियो। तर, म निराश हुनु पर्ने कारण थिएन। आफैलाई सम्झाएँ। तर, अरु कसैले मेरो ठाउँमा उभिएर सोचिदिएन। आफै भोग्दै गएँ र यी कथाका लागि प्लटहरु थपिँदै गए।

हल्ला धेरै भए। चर्चा धेरै भयो। अप्ठ्यारा परिस्थितिबीच मेरो ख्याल राख्ने नर्सहरुप्रति सदैव कृतज्ञ रहनेछु। उनीहरुले मलाई हौसला दिइरहे।

मार्च २४ को दिन सम्झन्छु। एक नर्सले मलाई सुनाइन् – ‘मेरो फेसबुकमा रहेका एक साथीले तिम्रो स्वास्थ्यलाभको कामना गरेका छन्। उसको पूरै गाउँ चाँडै तिम्रो स्वास्थ्यलाभ भएको सुन्न चाहन्छ।’

त्यो सन्देश मेरो लागि उर्जा बन्यो। पछिल्लो तीन साता यस्तै सकारात्मक कुराहरुले मेरो आत्मबल बढाउन सहयोग गर्‍यो। अस्पतालमा रहुन्जेल नर्सहरुले मेरो अवस्था बुझ्न फोन गरिरहे र मेरो बारेमा सोधिरहे। आवश्यक नभएको बेलामा समेत उनीहरु मेरो बारेमा सोधिरहन्थे। मेरो उपचारमा संलग्न डाक्टरहरुको पनि भूमिका यस्तै महत्वपूर्ण रह्यो।

नेपाल फर्किएको एक महिनापछि मैले कोरोना भाइरसलाई जितेँ। संक्रमण मुक्त भएँ। मेरो अवस्था र भोगाइका बारेमा बुझ्ने प्रयास गर्ने सबैप्रति कृतज्ञ छु।

म आएको विमानमा सवार अधिकांश यात्रुहरुको कन्ट्रयाक्ट ट्रेसिङ भइसकेको छ। मैले गर्दा उनीहरु कसैमा भाइरसको संक्रमण सरेको छैन भन्ने आशा गर्छु। म सावधानीपूर्वक क्वारेन्टाइनमा बसेकाले मेरो परिवारमा पनि कसैलाई भाइरसको संक्रमण देखिएन।

उता साथी ल्याम पनि भाइरस मुक्त भइसक्यो। उसको स्वास्थ्य अवस्था अहिले राम्रो छ।

अस्पतालमा उपचारको राम्रो व्यवस्था थियो कि थिएन? चिकित्सक र मबीच कस्ता संवाद हुन्थे? मलाई कस्तो औषधी दिइयो? सेल्फ आइसोलेसनको बसाइ कस्तो थियो? यस्ता धेरै प्रश्न उठ्न सक्छन्। यी विषयमा चर्चा गर्न म सधैं तयार छु र आफ्नो अनुभव साट्न भविष्यमा फेरि लेख्नेछु।

अन्तत: म मानसिक र शारीरिक रुपमा आज स्वस्थ र स्थिर भएकी छु। यसमा मेरो परिवार, डाक्टर, नर्स र मेरो साथीहरुको साथ मिसिएको छ। मेरो अवस्थाको बारेमा थाहा भएका र मलाई साथ दिएकाहरुको हौसला मिसिएको छ।

बितेर गएको एउटा समयले निकै महत्वपूर्ण कुरा सिकायो – कोरोना भाइरस संक्रमणका कारण हाम्रो मानसिक स्वास्थ्यमा पर्न सक्ने असरबारे उपेक्षा गर्दा रहेछौं। जब मानिसलाई सास लिन गाह्रो हुन्छ तत्काल त्यसले मानिसको दिमागमा नकारात्मक सन्देश प्रवाह गर्दो रहेछ। त्यसपछि आम मानिसले आफूलाई दृष्टिकोणमा आएको परिवर्तन पनि स्वीकार्न गाह्रो हुने रहेछ।

तर, कोभिड १९ जस्तो सुकै परिस्थितिमा जसलाई पनि हुनसक्छ। यसकै नाममा कसैले कसैलाई आतंकित बनाउनु हुँदैन। न त आरोप लगाउनु नै उचित हुन्छ। यदि कोही यस्तै आपतकालमा गुज्रिरहेको छ भने म उसँग कुरा गर्न र उसका कुरा सुन्न तयार छु, केही प्रश्न र जिज्ञासा छन् भने पनि। म उहाँहरु सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्छु।

*(प्रसिद्धि श्रेष्ठलाई चैत्र १० मा कोरोना भाइरसको संक्रमण देखिएको थियो। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिन उनी आइसोलेसन वार्डमा रहिन्। केही दिन अघि मात्रै उनी भाइरसलाई जित्दै घर फर्किएकी छिन्। उनले आफ्नो कलेजको ब्लग मा आफ्नो अनुभूति सार्वजनिक गरेकी हुन्। यो त्यसैको भावानुवाद हो।)

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: