कोरोना नियन्त्रणको अन्तिम विकल्प ‘हर्ड इम्युनिटी’

meropati
  • डा. मुकेशकुमार साह

काठमाडौँ, ८ बैशाख । कोरोना भाइरस (कोभिड(१९)को फैलावट तथा यसको विरुद्ध विश्व नै लडिरहेको छ। यस भाइरसको सम्भावित संक्रमणले विश्वनै आक्रान्त भएको छ। चीनको वुहान सहर र जहाँ जीउदो जनावरको बेचविखन हुने स्थान थियो, त्यहाँबाट फैलिएको कोरोना भाइरस हाल विश्वको लगभग सबै देशमा फैलिएको छ।

स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका देशहरु पनि यस भाइरसरको संक्रमण पश्चात हुने रोगको उपचारमा सफल भएको दैखिएको छैन। अमेरिकामा मात्र करिब ३५ हजारको मृत्यु भईसको छ, स्पेन, चीन र इटालीले पनि धेरै मानिसहरुलाई गुमाई सकेको छ भने धेरै जना संक्रमित वा संक्रममणको जोखिममा छन्।



आइतबारसम्म नेपालमा पनि ३१ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ। तर हालसम्म यसबाट उत्पन्न रोगका कारण कसैको पनि मृत्यु भईसकेको छैन तर जोखिम भने यथावत नै छ।

विश्वका सबै देशहरुमा लकडाउन गरिएको छ। यसरी लकडाउन हुँदा भाइरसको फैलावट हुन नपाउने मान्यता छ जुन प्रभावकारी पनि देखिएको छ। नेपालमा पनि लकडाउनको सफल चौथो हप्ता चलिरहेको छ। सरकारले हालको लागि वैशाख १५ गतेसम्म लकडाउन कायम गरेको छ। अधिकांश व्यक्तिहरु हात धुने, मास्कको प्रयोग गर्ने र भाइरस फैलन नदिन अन्य उपायहरु अपनाईरहेका छन्।

अन्य अधिकांश भाइरस जस्तै केन्द्रमा हुने राइबोन्युक्लिक एसिड (आरएनए)लाई चिल्लो लिपिडको दोहोरो पत्रले घेरेर रहने एक प्रकारको आरएनए भाइरस (अनुप्राणी) हो, कोरोना भाइरस। यहि दोहोरो पत्रमा हुने प्रोटिनले संक्रमितको शरीरमा प्रभाव पादर्छ।

संक्रमित व्यक्तिको शरीरले पनि भाइरस वा त्यस प्रोटिन विरुद्ध रोग प्रतिराधात्मक क्षमताको विकास गर्दछ। सिधै भाइरस मार्ने क्षमतादेखि लिएर लिपिडको दोहोरो पत्रमा हुने हानिकारक प्रोटिन (एन्टिजेन)को विरुद्ध लड्ने वा त्यसलाई नष्ट पार्ने क्षमताको एन्टिबडी बनाएर पनि मानव शरीरले त्यस भाइरस विरुद्ध प्रतिरोध गरिरहेको हुन्छ।

यिनै भाइरसको केन्द्रमा रहेको न्युक्लिक एसिड पहिचान गर्ने वा शरीरमा तयार भएको भाइरसको प्रोटिन (एन्टिजेन) विरुद्ध लड्न शरीरमा रहेको एक प्रकारको कोषिकाले बनाएको एन्टिबडी (विभिन्न प्रकारका इम्युनोग्लोवीन)को पहचिान गर्ने क्षमताको आधारमा विभिन्न टेष्ट गर्ने प्रविधि कोरोना भाइरस वा कोभिड(१९ को पहिचानको लागि प्रयोगशालामा प्रयोग गरिन्छ।

आरटी पिसिआर (रिभर्स ट्रान्सकिप्टेज पोलिमेरिक चेन रियाक्सन)ले भाइरसको केन्द्रमा रहेको न्युक्लिक एसिडलाई नै पत्ता लगाउँछ। तर लिइएको नमुना (स्याम्पल)मा भाइरस भने अवश्य हुनुपर्छ। रोग भएपनि नमुना उचित ठाउँबाट छैन वा रोग लागेको धेरै दिनपछि संकलन गरिएको नमुना छ भने वा नमुनालाई ओसारपोसार गर्दा प्रयोग गरिने तरिका तथा यसका लागि प्रयोग गरिने माध्यम (भाइरस टान्सपोर्टेशन मिडिया) उचित भएन भने पनि टेष्टका लागि लिइने नमुनामा भाइरस नहुने भएकोले कुनै व्यक्तिमा रोग वा संक्रमण भएता पनि उक्त प्रयोग (टेष्ट)को नतिजा नेगेटिभ आउँन सक्छ।

यसरी कुनै पनि परीक्षणले संक्रमण वा रोग भएको खण्डमा अधिकतम सम्भाव्यताका साथ उक्त नमुनामार्फत रोग वा संक्रमण भएको पहिचान गर्ने क्षमता नै त्यस टेष्टको सम्वेदनशीलता हो। जति बढी सेन्सिटिभिटी भयो, त्यस टेष्टले संक्रमण वा रोग भएको व्यक्तिमा त्यतिकै सम्भाव्यताका साथ पहिचान गर्न सक्ने भएकोले ठूलो संख्यामा गरिने कुनै पनि रोगको स्क्रिनिङको लागि बढी संवेदनशीलता (सेन्सिटिभिटी) भएको टेष्ट प्रयोग गर्ने गरिन्छ।

यसरी बढी सेन्सिटिभिटी भएको टेष्ट प्रक्रिया प्रयोग गर्दा कुनै पनि रोगी वा संक्रमित छुट्ने सम्भावना धेरै कम भएर जान्छ। हुन त आरटी पिसिआर टेष्ट निकैनै राम्रो मानकको टेष्टको रुपमा स्थापित छ, तर यस कोरोना भाइरसको लागि लिइने नमुना र नमुना लिने समय (भाइरसका लोड बढी वा कम हुने समय)मा भर पर्ने भएको यस टेष्टको संवेदनशीलता कम देखिन्छ। नाकघाँटीबाट लिइने (न्याजोफ्यरिन्जियल) नमुनाका लागि यस टेष्टको संवेदनशीलता मात्र ६३ प्रतिशत छ भने रोग निको हुने समयमा लिइने नमुनामा झन् कम छ।

किनकी यस्तो अवस्थामा लिइने नमुनामा भाइरस नै नआउन सक्ने सम्भावना धेरै हुन्छ। एकै व्यक्तिको दुई फरक नतिजा आउनुको कारण यो पनि हुन सक्छ।

भाइरसको प्रोटिन (एन्टिजेन) विरुद्ध लड्न शरीरमा रहेको एक प्रकारको कोषिकाले बनाएको एन्टिबडी (विभिन्न प्रकारका इम्युनोग्लोवीन)को पहिचान गर्ने क्षमताको आधारमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्ने गरिन्छ। यस्तो टेष्टको लागि कम समय लाग्ने भएकोले सहजरुपमा उपलब्ध हुन्छ र नमुना परीक्षण पक्रिया समेत सजिलो भएकोले सामान्य अस्पताल वा ल्याबहरुमा समेत यसबाट परीक्षण गर्न सकिन्छ।

एन्टिबडी बन्न भाइरस शरीरमा प्रवेश गरेदेखि करिब ५ देखि ७ दिन लाग्छ। सुरुमा बन्ने यस प्रकारको एन्टिबडीलाई इमुनोग्लोवीन ’एम’ भनिन्छ र यो केही दिनमा नै घट्न थाल्छ र पछि इमुनोग्लोवीन ’जी’ बन्छ जुन लामो समयको लागि शरीरमा रहीरहन सक्छ। यसरी इमुनोग्लोवीन ’एम’ र ’जी’ दुवै प्रकारका एन्टिबडीलाई पहिचान गर्न सक्ने परीक्षण किटहरुले संक्रमण भएको करिब एक हप्तापछिका दिनहरुमा लिइएको रक्त नमुनामा पोजिटिभ नतिजा दिन्छ भने त्यस अगावै लिइएको नमुनामा पोजिटिभ आउने सम्भावना कम हुन्छ।

त्यसैले संक्रमणको समय घर्किदै जाँदा लिइएको नमुनामा यस टेष्टको संवेदनशीलता बढी हुन्छ। रोग निको भए पश्चात पनि यो टेष्ट पोजिटिभ आउनुले रोग भएको वा संक्रमण भएको तर निको हुँदै गएको (सक्रिय अवस्थामा नरहेको) अनुमान गर्न सकिन्छ। त्यसैले दुई फरक प्रकृतिबाट गरिने परीक्षणमा भर पर्न सकिने वा नसकिने विषय बिरामीले रोग सम्बन्धी दिएको जानकारी (हिस्ट्री) र बिरामीको लक्षणमा समेत भर पर्दछ।

तसर्थ चिकित्सकीय अभ्यास र यी विषयको ज्ञानको अभावमा निर्क्यौल निकालिनु बुद्धिमतापूर्ण हुने छैन। त्यसैले र्‍यापिड डायग्नोष्टिक किटको विश्वसनीयता कम छ। यस्तो अवस्थामा बरु शंकास्पद भएमा आफ्नो सुरक्षा आफैँ अपनाउनुको विकल्प छैन।

यसरी भाइरसको प्रोटिन (एन्टिजेन) विरुद्ध लड्न शरीरमा रहेको एक प्रकारको कोषिकाले बनाएको एन्टिबडी (विभिन्न प्रकारका इम्युनोग्लोवीन) रोग लाग्न नदिन वा रोग लागि हाले पनि भाइरसको थप संख्या बढ्न नदिने भएकोले रोग निको हुँदै जान्छ। यस्तो अवस्थामा व्यक्ति संक्रमित भए पनि रोगका लक्षण नदेखिन सक्छ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको घटना यस्तै प्रकारको हो, लक्षण नदेखिए पनि दुई जना संक्रमित भएको पुष्टि भएको थियो। भाइरसको संख्या बढ्दै गएमा वा भाइरसले दिनानुदिन शरीरको श्वासप्रश्वासको अंगमा रहेको कोषिकाहरुमा क्षति पुर्‍याई रहेको खण्डमा कोभिड(१९ का कारण बिरामी झन्(झन् ग्रसित भएर जान्छन्।

ज्वरो आउने, रुघा वा सुख्खा खोकी लाग्ने, श्वास प्रश्वासमा समस्या आउने, टाउको दुख्ने, जीउहात दुख्ने, पेट दुख्ने समस्या सुरुमा देखिन्छन् भने रोगले ग्रसित बनाएको खण्डमा श्वासप्रश्वास गर्नै नसक्ने, शरीरका साईटोकाइन्स जस्ता विकार बस्तुहरु अत्याधिक मात्रामा बढ्ने र अन्य महत्वपूर्ण अंग मुख्यतः मुटु, मृगौलामा क्षति पुग्ने भएकोले बिरामी धेरै नै सिकिस्त पनि हुन सक्ने हुनसक्छ र ज्यान समेत गुमाउन पुग्छ।

तर यदी शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमता वा एन्टिबडीले शरीरमा भएका भाइरसलाई वा भाइरसको बाहिरी परतमा रहेको रोगको कारक प्रोटिन (एन्टिबडी)लाई नष्ट गर्ने भएकोले रोग लाग्न नपाउँदै संक्रमित कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन्छ। संक्रमित भएका तर करिब तीन हप्तासम्म नै रोगको कुनै पनि लक्षण नदेखिने विषय यसै सिद्धान्तमा आधारित छ।

अन्य भाइरस वा रोगको कारकको हकमा पनि यस्तै हुन्छ। यसरी शरीरमा थोरै संख्यामा जीवित वा मरेतुल्य भाइरस वा प्रोटिनका कणहरु रोग नलाग्ने मात्रामा शरीरमा प्रवेश गराएमा शरीरले नै उक्त भाइरस वा व्याक्टेरिया विरुद्ध रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छ। यसका अलावा अन्य प्रकारका भाइरस वा व्याक्टेरिया शरीरमा प्रवेश गरेको खण्डामा उक्त जीव विरुद्ध शरीरले आफैँ रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्दछ।

फलस्वरुप दोश्रो पटक उक्त जीवहरु शरीरमा प्रवेश गरेमा शरीरको रोग प्रतिरोधात्मक क्षमताले बनाएको एन्टिबडीमार्फत नष्ट हुने गर्दछन् र रोग लाग्न पाउँदैन र संक्रमण फैलन समेत पाउँदैन। विभिन्न रोग विरुद्ध प्रयोग गरिने भ्याक्सिन यसै सिद्धान्तको आडमा बनाइएको हुन्छ।

यदि यस्तै प्रभावमार्फत कुनै एक क्षेत्रको अधिकांश व्यक्तिमा त्यस प्रकारको जीवसँग लड्ने क्षमता विकसित भएमा संक्रमण फैलन नपाउने र व्यक्तिहरु संक्रमित भए पनि रोग लाग्न नपाउँदै संक्रमण गराउने जीव नष्ट हुने हुन्छ। यसरी एकै पटक धेरै मान्छेमा हुने रोग प्रतिरोधात्मक क्षमताको विकासको प्रक्रिया नै हर्ड इम्युनिटी (सामुहिक रोग प्रतिरोधात्मक क्षमता) हो।

तर यसरी रोगको फैलावट कम गर्न वा रोगको जोखिम न्युनिकरणका लागि आवश्यक हर्ड इम्युनिटी विकास गर्न कुनै एक भौगोलिक क्षेत्रको ४० देखि ६० प्रतिशत मानिसमा रोगको संक्रमण वा भ्याक्सिनको माध्यमबाट रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुनुपर्छ र ९० देखि ९५ प्रतिशत व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता विकास भएमा मात्र भाइरस नष्ट वा लोप भएर जाने सम्भावना रहन्छ।

माथि उल्लेखित तथ्यहरुका आधारमा भन्ने हो भने हर्ड इम्युनिटी कि त भ्याक्सिन लगाएर वा उक्त भाइरसको संक्रमण भएको अवस्थामा मात्र सम्भव छ। हालसम्म कोरोना भाइरसको विरुद्ध भ्याक्सिन परीक्षणकै क्रममा छ भने यसको उपचार बिरामीको लक्षणअनुसार मात्र भइरहेको छ। यस रोगको हालसम्म कुनै ठोस उपचार विधि छैन।

केही औषधिहरु बिरामीलाई भएको लाभाको आधारमा प्रयोग भईरहेको छ। तर वैज्ञानिक तवरले पुष्टि हुन बाँकी नै छ। त्यसैले कि त अधिकांश व्यक्तिमा भ्याक्सिन लागए मात्र यस भाइरसको फैलवट तथा यसबाट हुने जोखिम कम गर्न सकिन्छ। विभिन्न देशहरु पछिल्लो समयमा यसकै प्रतिक्षामा रहेका छन्।

त्यसैले भ्याक्सिन बजारमा आउने समयसम्म लकडाउनमार्फत रोग नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। तर दिनानुदिन भाइरसको संक्रमण फैलिरहेको र कुनै खास औषधि समेत नभएकोले धेरैको ज्यान समेत गईरहेको छ। त्यसैले धैरै देशहरुले हर्ड इम्युनिटीको बारेमा सोच्ने समय फेरि आएको छ।

सबै देशको हालको तयारी संक्रमण फैलन नदिनु, संक्रमण फैलिएको खण्डमा रोगीहरुको सही पहिचन गरी थप संक्रमण हुन नदिनु, रोगीको उपचार उचित तवरले गर्नु र कमभन्दा कम कोभिड(१९ रोगीको मृत्यु होस् भन्ने रहेको छ। हालको धेरै देशको तयारी समग्रमा यहि नै हो, लकडाउन यसकै लागि हो, सबैले बुझ्नु जरुरी छ।

तर अमेरिका, स्पेन, इटाली र पुनः चीनमा फैलिरहेको संक्रमणले उपचार मात्र कोरोना भाइरसबाट उन्मुक्ति पाउने उपाई हैन भन्ने जनाई सकेको छ। यदी भ्याक्सिन छिटै बनाएर सफल परीक्षण भएको खण्डामा मात्र भाइरसको नियन्त्रण सम्भव छ। अन्यथा यस भाइरसको संक्रमण वा फैलावट कम हुने छैन र यसबाट धेरै ग्रसित हुनेछन् र धेरैले ज्यान समेत गुमाउने पक्का छ। विश्व नै अबको केही महिना वा एक वर्ष नै यसबाट प्रताडित हुनु पर्ने हुन सक्छ।

नेपालमा पनि बढ्दो संक्रमितको संख्याले नेपालमा पनि जोखिम बढ्दै गएको पुष्टि गर्छ। हिजो मात्र उदयपुरमा एकै पटक १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुले यही संकेत गर्दछ। हालसम्म गरिएको लकडाउन भविष्यमा हुन सक्ने अत्याधिक क्षति न्युनिकरण गर्ने पूर्व तयारी हो, यसलाई व्यर्थ सम्झनु हुन्न। यसको विकल्प अहिले अरु छैन।

कि त रोग फैलन दिएर स्वयम् हर्ड इम्युनिटी विकास गर्ने लक्ष्य सम्बन्धित आधिकारिक निकायले लिन सक्नुपर्छ। तर भ्याक्सिनको सम्भावना रहेको अवस्थामा यस्तो नीति लिनु कदापी उचित हुने छैन। यसरी जोखिम मोल लिएर भाइरसको संक्रमण फैलन दिएमा हाम्रो जस्तो स्वास्थ्य सेवा प्रभावकारी नभएको देशमा धेरै व्यक्तिले ज्यान गुमाउनु पर्ने हुन सक्छ, जुन नैतिक रुपमै राम्रो हैन्।

बेलायत पनि यस्तै जोखिम मोल लिएर हर्ड इम्युनिटीको कल्पनाबाट पछाडि फर्किएर लकडाउनको बाटो अवधारण गरेको छ। त्यसैले अबको प्रतिक्षा भनेको जोखिम लिएर हैन बरु भ्याक्सिनमार्फत हर्ड इम्युनिटी विकसित गर्दै कोरोना भाइरसलाई फैलनबाट रोक्नु नै हो। त्यसैले विश्वभर नै भ्याक्सिनको व्यग्र प्रतिक्षा गरिएको छ। हामी पनि त्यही बाटोमा छौँ किनकी कोरोना भाइरस नियन्त्रणको अन्तिम विकल्प हर्ड इम्युनिटी नै हो। त्यसैले जति नै आर्थिक, समाजिक, मनोवैज्ञानिक क्षति भए पनि लकडाउनको विकल्प छैन।

बरु सरकारले मजदुर, किसान, साना उद्योगी तथा पीडितको उद्धार गर्नेतर्फ अगाडि बढ्नु पर्छ भने कोराना उपचार गर्ने छुट्टै अस्पताल तोकेर अन्य उपचार सेवालाई प्रभावकारी बनाउन सक्नु पर्छ। यसका लागि केही समय निजी अस्पताललाई सरकार मातहत गर्न मिल्ने नीतिगत निर्णय गर्न सक्नुपर्छ।

अन्तमा लकडाउनमार्फत दिन खोजिएको सन्देश आम(नागरिकले बुझिदिने हो भने लकडाउनलाई केही खुकुलो बनाएर दैनिक जीवन सहज बनाउन सकिन्छ। तर संक्रमित क्षेत्र शील गर्न सक्नु पर्छ। सिमित कर्मचारी राखी कार्यालय संचालन, व्यवस्थित यातायात र व्यापार संचालन गर्न सकिन्छ, तर आम(नागरिकले संक्रमण फैलन नदिन भीडभाड नगरी सामाजिक दुरी कायम राख्ने, शंकास्पद अवस्थामा आफैँ क्वारेन्टाइनमा बस्ने वा चिकित्सकको परामर्ष लिने, हात सफा राख्ने, भीडभाड नगर्ने, विवाह वा अन्य भोजलाई सिमित गर्ने खालका न्युनतम मुल्यमान्यता स्वविवेकले प्रयोग गर्न सक्नु पर्छ।

अन्यथा लकडाउन आफैँ लम्बिदै जानेछ, जसले सामाजिक, मानसिक, आर्थिक लागयतका सबै क्षेत्रमा नकारात्मक असर पार्ने छ। त्यसैले संयमित बनौँ, घरमै सुरक्षित बसौं, सरकारले लकडाउन खुकुलो पारे पनि वास्तविकतालाई आफैँ मनन् गरौँ, इमान्दार बनौँ। तपाई हामी सबैको सहयोगले मात्र कोरोना नियन्त्रण सम्भव छ। भ्याक्सिन नबन्दासम्म वा करिब एक वर्षसम्मको लागि सबैले भाइरस फैलावट रोक्न मद्धत गर्नु आजको आवश्यकता हो।

(लेखक पाटन अस्पतालमा एमडी अध्ययनरत छन्।) साभारः सेतोपाटी डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: