मुख्य समाचार

हरियो तरकारी घरमै पाउँदा तानसेनका उपभोक्ता खुशी

मिलन विश्वकर्मा
पाल्पा, बैशाख ९ । कोरोना भाइरस रोकथामका लागि घरभित्र बस्न बाध्य तानसेनका उपभोक्ताले यतिबेला ठूलो राहतको महसुस गरेका छन् । लकडाउनका कारण तरकारी अभाव भइरहेको अवस्थामा हरियो तरकारी घरमै पाउँदा उनीहरूले राहतको महसुस गरेका हुन् ।

तानसेन नगर युवा परिषदले विभिन्न प्रकारका हरियो तरकारी कृषि एम्बुलेन्समार्फत घरघरमा पु¥याएको छ । तानसेन नगरपालिकाको ढुवानी खर्चमा र परिषदको समन्वयमा गाउँबाट खरिद गरेर तरकारी बजारमा ल्याएको हो । नगरपालिकाको ग्रामिण भेगमा पर्ने मदनपोखरा, अर्गली, जरेपिपलबाट तरकारी खरिद गरिएको छ ।


advertisement

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जिल्ला बाहिरबाट तरकारी आयात रोकिएपछि सदरमुकाम तानसेन बजारमा तरकारीको अभाव हुँदै गएको थियो । जिल्ला बाहिर निर्यात र बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाएपछि यहाँ हरियो तरकारीको अभाव भएको हो ।

ग्रामिण भेगमा उत्पादन भएको तरकारी परिषदले खरिद गरेर सस्तो मूल्यमा उपलब्ध गराएको परिषदका अध्यक्ष गुराँश आत्रेयले बताउनुभयो । ‘हाम्रा साथीहरू किसानकै खेतबारीमा पुगेर टिप्छन्, प्याक गर्छन्’ उहाँले भन्नुभयो ‘गाडीमा ढुवानी गरेर बजारका उपभोक्ताको घरमा ल्याएर वितरण गर्ने काम भइरहेको छ ।’ किसानले दिएको मूल्यमा नै उपभोक्तालाई उपलब्ध गराएको उहाँले बताउनुभयो । यस्तो विषम परिस्थितिमा युवाले राहतस्वरूप केहि गर्नुपर्छ भन्ने भावनाले तत्काल तरकारी व्यवस्थापनमा जुटेको उहाँले बताउनुभयो । जहाँ तरकारीको अभाव हुन्छ त्यहाँ निरन्तर तरकारी अफुहरूले पु¥याइदिने अध्यक्ष आत्रेयले बताउनुभयो । लकडाउनभरी तरकारीको अभाव हुन नदिने उहाँले बताउनुभयो ।

गएको आइतबारदेखि सुरू भएको यो अभियान दैनीकरूपमा चलिरहेको छ । काउली प्रतिकिलो २०, बन्दा प्रतिकिलो १०, काँक्रो प्रतिकिलो ४०, सिमी प्रतिकिलो ५० रुपैयाँमा उपभोक्ताले पाएका छन् । सस्तो मूल्यमा ताजा र हरियो तरकारी पाउँदा आफुहरूलाई ठूलो राहत मिलेको उपभोक्ता रमा रानाले बताउनुभयो । ‘महंगो किनेर खान बाध्य परिरहेको थियो’ उहाँले भन्नुभयो ‘संकटका बेला युवाले गरेको काम सराहनीय छ ।’

उपभोक्ताले खुला पैसा लिएर आउनु पर्ने नियम बनाइएको छ । साथै दुरी कायम गरेर तरकारी लैजान पाउने छन् । ‘तपाई घरमै बस्नुस् । तरकारी ढोकामै आउछ’ भन्ने अभियानसहित युवा परिषदले विषम् परिस्थितिमा उपभोक्तालाई घरघरमा पुगेर सस्तो मूल्यमा तरकारी उपलब्ध गराएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । ‘विश्व कोराना भाइरसको महामारीबाट ग्रस्त छ’ उहाँले भन्नुभयो ‘यस्तो कहालीलाग्दो अवस्थामा जसले जे सक्छ । त्यहि सहयोग गर्नु सबैको दायित्व हो ।’

उता खेतबारीमा तरकारी कुहिएर किसान मर्कामा पर्ने यता उपभोक्ताले खान नपाउनेस्थिति नआओस् भन्नको लागि युवाको अभियानमा तानसेन नगरपालिकाले सहयोग गरेको उहाँले बताए । तानसेन नगरपालिकाले २५ प्रतिशत छुटमा खाद्य सामग्री समेत उपभोक्तालाई उपलब्ध गराएको उहाँले बताउनुभयो । चामल, दाल, आँटा, नुन र तेल थोकमूल्यमा खरिद गरेर २५ प्रतिशत छुटमा घरघरमै उपलब्ध गराउने काम भइरहेको नगरप्रमुख शाहीले बताउनुभयो । जनताको समस्यामा स्थानीय सरकार जतिबेला पनि नजिक रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: