आमा, तिम्रो भावना

Avatar
११ बैशाख २०७७, बिहीबार १३:५५

आमा । सबैभन्दा प्रिय शब्द । उत्तिकै मीठासपूर्ण र ममतामयी पनि । जब आपत–बिपत आइलाग्छ, तब हामीले स्मरण गर्ने शब्द । दुःखमा सबैभन्दा पुकारिने शब्द ।

अनेक कष्ट खेपेर, असह्य पीडा सहेर जब सन्तानलाई जन्म दिन्छिन्, आमाले आफ्ना सबै दुःख भुल्छिन् । एक तथ्यांक अनुसार विश्वभरमा हर सेकेन्डमा औसत चार जना बच्चालाई जन्म दिन्छन् । बच्चा जन्मउने क्रमम हरेक ९० सेकेन्डमा एक आमाको मृत्यु हुन्छ । प्रसूती पीडा अरु पीडा भन्दा कता हो कता असह्य हुन्छ ।

सन्तानलाई पहिलो पटक स्पर्श गर्न पाउँदा उनको हृदय अपार स्नेहले छचल्किन्छ । आमालाई त्यसै भनिएको होइन, सृष्टिको सबैभन्दा उत्कृष्ट रचनाकार ।

भनिन्छ, दुनियाँमा आमा मात्र एक त्यस्ती पात्र हुन्, जसले सन्तानको सुखमा आफ्नो खुसी खोज्छन् । संसारमा अनेकन मान्छे हुन्छन् । राम्रा–नराम्रा, चर्चित–गुमनाम, विद्वान–मुर्ख, साना–ठूला, धनी–गरिब । यी सबैलाई हेर्ने साँझा आँखामा विभेद लुकेको हुन्छ । तर सन्तान चाहे जस्तोसुकै होस्, आमाको आँखामा समान स्नेह छचल्किएको हुन्छ ।

चाहे त्यो निर्धो होस्, चाहे गरिब होस्, चाहे कुरुप होस् वा अशक्त होस् । आमाको हृदयभरी उनको लागि प्रेममय ठाउँ सुरक्षित हुन्छ । भनिन्छ, हामीलाई आफ्ना आमाले जति बुझेका हुन्छन्, अरुले सायदै बुझ्न सक्छन् । एउटा मर्मस्पर्शी भनाई छ, ‘तिमी भन्छौं, ‘आमाले मेरो कुरा बुझ्दैनन् ।’ तर, आमाले त तिमीलाई त्यसबेला पनि बुझ्नुहुन्थ्यो, जतिबेला तिमी बोल्न सक्दैनथ्यौं ।’

जतिबेला हामीसँग व्यक्त गर्नका लागि कुनै बोली हुँदैनथ्यो, त्यसबेला पनि हामीलाई आमाले बुझ्न सक्थिन् । हाम्रो पीडा, हाम्रो दुःख, हाम्रो खुसी, हाम्रो सन्तुष्टि सबैकुरा आमाले बुझ्न सक्थिन् ।

आमा नै हाम्रा पहिलो गुरु पनि हुन् । हामीले यो धर्तीमा बाँच्न र हाँस्न सिक्ने कौशल आमाबाटै प्राप्त गर्छौं । एउटा भनाई छ, ‘कस्तो जीवन बाँच्ने भनेर मैले आमाको काखमै सिकेको छु । किनभने मैले आमाको एउटा हातबाट थप्पड र अर्को हातबाट लिटो खाएको छु ।’

जीवन जिउने क्रममा हामी आ–आफ्नो कर्ममा लाग्छौं । हाम्रा नयाँ सम्बन्धहरु बन्छ । नयाँ साथीहरु बन्छ । आफ्नो बेग्लै संसार बन्छ । यद्यपि यस संसारमा स्वार्थरहित सम्बन्ध आमासँग मात्र हुन्छ । न त्यहाँ कुनै अपेक्षा हुन्छ, न स्वार्थ । सन्तानका सारा गल्तीहरुलाई माफ दिएर आफुभित्र समेट्न सक्ने छाती आमासँग मात्र हुन्छ ।

एउटा कथन छ, ‘जब एक रोटीको चार टुक्रा हुन्छ र खाने व्यक्ति पाँच । त्यसबेला ‘मलाई भोक लागेको छैन’ भन्ने व्यक्ति आमा हुन् ।’ सन्तानको खुसीका खातिर आफ्नो दुःख भुल्ने पात्र हुन् आमा । आमाले आफ्नो खुसी सधै आफ्ना सन्तानको आँखाबाट नियाल्छिन् ।

त्यसैले त भनिएको हो, भगवानले हामीलाई दिएका सबैभन्दा मूल्यवान उपहार हो आमा ।

राती सुत्दा आमाले गाउने लोरी, भोक लाग्दा आमाको हातबाट खाइने लिटो, हाम्रा स्मृति र हृदयबाट कहिल्यै नमेटिने कुरा हुन् । अहिले पनि हामीलाई आमाको हातबाट बनेको खाना सबैभन्दा स्वादिलो लाग्छ । संसारभरमा जतिपनि मान्छे छन्, उनीहरुका पहिलो भान्से भनेकै आमा हुन् । एक अनुमान अनुसार आमा हप्तामा औसत १४ घण्टा भान्सामा खाना बनाउने काममा खटिएकी हुन्छिन् ।

अनलाईनखबरबाट ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १३:५५

प्रतिक्रिया दिनुहोस्