तिलोत्तमा नगरपालिका भित्र जग्गाधनीले आफै कृषि नगरे सँधियार वा छिमेकीले खेती गर्न पाउने

meropati

रुपन्देही, १३ बैशाख । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक क्षेत्र ठप्प छ। जसका कारण विश्वको अर्थतन्त्रमा ठूलो असर पर्ने विश्लेषण भइरहेको छ। अझ यसको प्रत्यक्ष मर्का खाद्यान्नमा देखिने बताइएको छ। पछिल्लो समय नेपालमा आफ्नो जग्गा बाँझो राखेर विदेशिने क्रम बढ्दो छ। एकातिर सहरबजारका जग्गा घडेरीका रुपमा प्लटिङ भएका छन् भने गाउँका जग्गा बाँझो छन्।

आगामी दिनमा खाद्यान्न संकट हुनसक्ने भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य जमिन बाँझो नराख्ने निर्णय गरेको छ। खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैंले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले पनि खेती गर्न सक्ने नगरपालिकाको निर्णय छ।



‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य जमिन बाँझो नराख्ने नीति तिलोत्तमाले लिएको हो। तीव्र सहरीकरण भैरहेको तिलोत्तमामा घडेरीको रुपमा विकास भएका कतिपय जग्गा बाँझा छन्। मूलतः यस्तै जग्गालाई लक्षित गरी नगरपालिकाले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए।

यो निर्णयसँगै आफ्नो घर वरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न तिलोत्तमाबासीलाई बाटो खुलेको छ। यसबाट तरकारीलगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ।

नगरपालिकाले सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन आवश्यक व्यवस्था नगरे सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराई व्यक्ति, कृषि फार्म, सहकारी, कृषक समूह, सञ्जालले खेती गर्न सक्ने जनाएको छ। तर यसरी खेती गर्दा जग्गाको साँध, सीमाना, बनावट बिगार्न नहुने नगरपालिकाले स्पष्ट पारेको छ।

यसरी गरिने खेतीमा जग्गाधनीको कुनै हक नलाग्ने र जग्गाधनी आफैंले जग्गा उपयोग गर्न चाहेमा ४५ दिनअघि नैं खेती गर्नेलाई त्यसको जानकारी दिनुपर्ने नगरपालिकाले जनाएको छ। यो निर्णयले वर्षौंसम्म जग्गा बाँझो रहने तर सँधियार वा छिमेकीले त्यो जग्गामा खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख बासुदेव घिमिरे बताउँछन्। उनले कोरोनाले निम्त्याउन सक्ने सम्भावित जोखिम कम गर्ने गरी तिलोत्तमाले यस्तो निर्णय गरेको बताए।

यसरी खेती गरिने जग्गाको नियमानुसार लाग्ने कर जग्गाधनीले तिनुपर्ने र जग्गाधनीको अवरोधको कारणले भूमि बाँझो रहेमा नगरपालिकाले जरिवाना गर्ने सूचनामा उल्लेख छ।

१२६ वर्ग किलोमिटर रहेको तिलोत्तमामा वार्षिक धान २२ हजार ४६० मेट्रिक टन, गहुँ ८ हजार एक सय मेट्रिक टन, तरकारी ४१ हजार ४५० मेट्रिक टन, मकै २ हजार ४५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि शाखाले जनाएको छ। कृषिको उत्पादकत्व बढाउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको तिलोत्तमाले यसअघि नै भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाएको छ। प्लाष्टिकले कृषियोग्य भूमि जर्जर बनाएकाले नगरलाई खुला शून्य पोलिथिन क्षेत्र घोषणा गरेको छ। बुटवल र भैरहवाको बीचमा रहेको तिलोत्तमाले कृषि उत्पादन बढाउन गरेको निर्णय कार्यान्वयन भए यसले सम्भावित खाद्य संकटको सामना गर्न टेवा पुग्ने जानकारहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: