अध्यक्ष बन्न माधव नेपालद्वारा अस्वीकार, वामदेव भने चुनाव लड्न तयार

meropati

काठमाडाैं, २१ बैशाख । नेकपा वरिष्ठ नेता माधव नेपालले आफूलाई पनि अध्यक्ष बन्न गरिएको प्रस्ताव अस्वीकार गरेका छन् । आफूलाई पदलोलुप देखाएर मानमर्दनका लागि त्यसरी प्रस्ताव गरिएको भन्दै उनले अस्वीकार गरेका हुन् । पार्टीका विवाद स्थायी समितिमा छलफल गरेर टुंग्याउनुपर्ने नेपालको भनाइ थियो ।

तर, लामो छलफलसम्म पनि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने विषयले बैठकमा प्रवेश पाएको थिएन । प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘अस्ति वामदेव कमरेडलाई सांसद र प्रधानमन्त्री बनाउने प्रस्ताव आएको थियो, अब त्यसको विषयमा के हुन्छ’ भनेर विषय प्रवेश गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले ‘वामदेव कमरेडलाई उपयुक्त समयमा प्रतिनिधिसभामा चुनाव लडाउने’ भनाइ राखेका थिए ।



सचिवालय बैठकले नेता वामदेव गौतमलाई प्रतिनिधिसभाको चुनाव लडाउने राजनीतिक निर्णय लिएको छ । वरिष्ठ नेता झलनाथ खनालले भने, ‘यो राजनीतिक निर्णय हो । जहाँ जहिले खाली हुन्छ, त्यहीँबाट चुनाव लडाउने भन्ने छ ।’

नेकपा विवाद चर्कंदा चिनियाँ पक्ष सक्रिय : दुई राष्ट्रपतिबीच टेलिफोनमा संवाद, राजदूतले प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई भेटिन्

सत्तारुढ नेकपाभित्र अन्तरविरोध चर्कंदै गर्दा चिनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भयो, दुई वर्षअघि तत्कालीन एमाले र माओवादी एकता घोषणा हुनुअघि पनि उत्तरी छिमेकीको भूमिका यस्तै थियो ।

नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘मुख्यतः जनताले स्थिरताका पक्षमा दुईतिहाइ दिएकाले शीर्ष नेताहरूमाथि दबाब थियो, तर छिमेकी मित्रहरूको भूमिकाले पनि समझदारी निर्माणमा सघाउ पुर्‍याएको छ ।’

नेकपामा आन्तरिक विवाद बढिरहेका वेला चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्ता तीव्र पारेकी थिइन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेकी थिइन् ।

यान्छी सोमबार साँझ राष्ट्रपति भवन शीतलनिवास पनि पुगेकी थिइन् । त्यहाँबाट उनले राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ताको सहजीकरण गरेकी थिइन् । दुई देशका राष्ट्रपतिबीच करिब ४५ मिनेट टेलिफोन संवाद सकिएपछि चिनियाँ राजदूत फर्केकी थिइन् । राष्ट्रपतिहरूबीच फोनवार्ता हुनुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग दुईपटक टेलिफोन संवाद गरेका थिए ।

यहीबीचमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहितका अधिकारी र नेकपा विदेश विभागका प्रतिनिधिमण्डलबीच बुधबार करिब तीन घन्टा लामो भिडियो संवाद भएको थियो । त्यसक्रममा ताओले कोरोना महामारीमाथि पश्चिमा मुलुकले चीनविरुद्ध राजनीतीकरण गरेको आरोप लगाउँदै चीनले ऐक्यबद्धता खोजेको बताएका थिए ।

नेकपा एकीकरणपछि चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध बढेको छ । एकतालगत्तै दुवै देशका पार्टीका नेताहरूको भ्रमण बाक्लिएको छ । अझ, नेकपाले सी विचारधारामाथि प्रशिक्षण कार्यक्रमसमेत चलाएको थियो । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: