स्वास्थ्य

कोरोनामुक्त भएर घर गएका युवक पुनः विरामी उपचार गर्न वीरगञ्ज ल्याइयो

वीरगञ्ज, २१ वैशाख । दुई साता लामो कोरोना भाइरस (कोभिड – १९) को उपचार पछि गत साता डिस्चार्ज भएका रौतहटका १९ बर्षिय युवकलाई पुन : कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको छ । उनलाई हिजो राती वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको हो ।

गत १ बैशाखमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई सोही दिन नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको थियो । तर पछिल्लो दुई रिपोर्ट नगेटिभ देखिएपछि उनी १४ बैशाख (गत आइतबार) मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।


advertisement

अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले युवक घरमा एक साता बस्दा समसया र केही लक्षण दोहोरिएको बताएपछि अस्पताल आउन भनेको र हिजो राती नै अस्पतालमा ल्याएर राखिएको जानकारी दिए । उनको आज थ्रोट स्वाब र रगतका नमुना लिएर पुन कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको बताए ।

सो अस्पतालमा अहिले ८ जना विरामीले कोरोना भाइरसको उपचार गराईरहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो । रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले कोरोनामुक्त भएर आएका युवकलाई पुनः वीरगञ्ज लगिएको पुष्टि गरे । ‘गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको छ,’ गुप्ताले भने, ‘तर किन लगिएको हो भन्ने थाहा छैन ।’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने युवकको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ल्याइएको जानकारी दिए ।

बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएको स्रोतले जनाएको छ ।

युवकले आफूलाई अचानक अस्पतालबाट टोली गएर वीरगञ्ज ल्याएको बताए । ‘पहिला घर पठाए अहिले अचानक घरमा आएर सम्झाएर ल्याए, किन अस्पताल ल्याइएको हो केही बुझिरहेको छैन,’ उनले भने ।

कोरोना संक्रमितमा देखिने कुनै पनि लक्षण आफूमा नदेखिएको तर पनि डेढ महिनादेखि दुःख पाइरहेको उनको भनाइ छ । ‘कोरोना संक्रमितलाई ज्वरो आउँछ, स्वास प्रश्वासमा समस्या आउँछ भन्छन्,’ उनले भने, ‘तर मलाई डेढ महिनादेखि न खोकी छ, न सर्दी ज्वरो छ ।’

ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । अस्पतालमा ल्याइसकेपछि शनिबार राति पुनः उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: