समाचार

भैरहवामा कोरोनाको परीक्षण रोकिएपछि स्वाब संकलन गरेर काठमाडौं पठाउन थालियो

बुटवल, २२ वैशाख । किट अभावमा भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि कोरोनाको प्रयोगशाला परीक्षण रोकिएपछि स्वाब संकलन गरेर काठमाडौं पठाउन थालिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले स्वाब संकलन गरेर काठमाडौं पठाइएको बताए ।


advertisement

‘भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशालामा किट सकिएको छैन, भैरहवाको मात्रै सकिएको हो’ उनले भने, ‘भैरहवामा किट नभए पनि थ्रोट स्वाब लिने काम रोकेका छैनौं, संकलित स्वाब काठमाडौं पठाएर परीक्षण भइरहेको छ ।’

डा. चौधरीले भैरहवाका लागि केन्द्रसंग एक हजार थान किट माग गरिएको र आज–भोलिमै आइपुग्ने दावी गरे । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने छिटो भन्दा छिटो किट पठाइदिन केन्द्रमा पहल भएको तर यकिनका साथ कहिले आउँछ भन्न नसकिने बताए ।

‘हामीले पहल गरिराखेका छौं, तर बजारमा अभाव छ,बाहिरबाट आउने हो’ डा. गिरीले भने । कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि पीसीआर जाँच रोकिएको हो ।

शनिबार मात्रै रुपन्देहीको कोटहीमाई–१ का कोरोना संक्रमित युवकको दाइ र साथीको परिवारका १० जनाको पीसीआर जाँच गरेसंगै किट सकिएको थियो ।

चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा एक महिनामै किट सकिएको हो । यो प्रयोगशालामा हालसम्म तीन सय ३४ जनाको कोरोना परीक्षण भएको छ ।

विश्वव्यापी कोरोनाको संक्रमण फैलिएसंगै प्रदेश ५ मा भारतसहित विभिन्न मुलुकबाट दुई लाख भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । उनीहरु मध्ये साढे दुई प्रतिशतको मात्रै कोरोना परीक्षण गरिएको र पँंच प्रतिशत अर्थात करिब १२ हजार मात्रै क्वारेन्टाइनमा बसेका छन् ।

हालसम्म प्रदेशमा पीसीआर र आरडीटी गरी ५ हजार जनामा परीक्षण गरिएको चौधरीले बताए । जोखिमयुक्त मुलुकबाट आएकाले स्वदेश फर्केका सबैको कोरोना परीक्षण गर्नुपर्ने हुन्छ । तर किट अभावमा परीक्षणको अवस्था नाजुक रहेको सरकारी अधिकारी नै स्वीकार्छन् ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: