अर्घाखाँची, २३ वैशाख । अर्घाखाँचीमा दुःखद घटना घटेकाे छ । विश्वभर कोरोना त्रास छ विश्वभरीका अधिकांश देशहरु सहित नेपालमा समेत लकडाउन जारी छ । यहि अबस्थामा अर्घाखाँचीमा भने जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । परिवारकै अन्य दुई जना समेत विरामी भएर उपचार गराइरहेका छन् ।
जिल्लाकाे भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको उपचारकाे क्रममा प्रदेश न ५ को राजधानी बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हो ।
अस्पतालमा उपचारका लागि भर्ना भएकी रामकलाको शनिबार राति र विपासाको सोमबार बिहान मृत्यु भएको लुम्बिनी सिटी अस्पतालका सहायक प्रशासन प्रमुख सुन्दर पोखरेलले जानकारी दिएका छन् ।
रामकलाकी सासु ५९ वर्षीया लालसरी महतरा र देउरानी २१ वर्षीया लक्ष्मी महतराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुवै जनाको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट मंगलबार जनरल वार्डमा सारिएको र भोलि डिस्चार्ज गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेज केसीले जानकारी दिए ।
च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि बिरामी चारै जनाले सन्धिखर्कको एक मेडिकल पसलबाट औषधी किनेर सेवन गरेका थिए । पखाला र बान्ता नरोकिएपछि शनिबार अर्घाखाँची अस्पताल पुगेका उनीहरुलाई बुटवल रिफर गरिएको थियो ।
प्रतिकृया दिनुहोस