मुख्य समाचार

बालुवाटार बोलाउँदै फकाउँदै

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई बालुवाटारमा बोलाएर फकाउन थालेका छन्। स्थायी कमिटीको बैठक नजिकिँदै गर्दा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई बेग्लाबेग्लै बोलाएर छलफल गरेका हुन्।

स्थायी कमिटीको अजेन्डा तय गर्ने जिम्मेवारी पाएका दाहालले सोमबार नेपालसँग भेटघाट गरेपछि मंगलबार दिउँसो ओलीले दाहाल, नेपाल र खनालसँग भेट गरी विवाद मत्थर बनाउने प्रयास गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार नेताहरुसँगको छलफलमा ओलीले पार्टीभित्र देखिएको समस्या र विकसित घटनाक्रमबारे चासो राखेका थिए।


advertisement

उनले सचिवालय बैठकपछि दाहाल, नेपाल, खनाल र नारायणकाजी श्रेष्ठबीच भएको भेटघाटका बारेमा पनि चासो राखेका थिए। २० गतेको सचिवालय बैठकपछि  दाहाल, नेपाल, खनाल र श्रेष्ठले छुट्टै बैठक गरेका थिए। दाहाल र नेपाल समूहले आफ्नो पक्षका स्थायी कमिटी सदस्यको बैठक पनि राखेका थिए।

स्थायी कमिटीको बैठक नजिकिँदै गर्दा ओलीले दाहाल, नेपाल र खनाललाई बेग्लाबेग्लै बालुवाटार बोलाएर छलफल गरेका छन्।

दुवै पक्षका नेताले आइतबार र सोमबार स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेको स्रोतले जनाएको छ। नेपाल निकटका नेताहरुले ओलीले सधैं पेल्ने गरेको र दाहालले पनि नेपाललाई छक्याएर धोका दिएको बताएपछि दाहालले सोमबार नेपाललाई बेग्लै भेटेका थिए। आइतबार कोटेश्वरमा भेला भएर नेपाल समूहका नेताहरुले दाहाल र ओलीको शैलीबारे समीक्षा गरेका थिए।

शनिबार बसेको सचिवालय बैठकले नेतृत्व तहमा देखिएको असमझदारी र शक्तिसंघर्ष सहमतिका आधारमा टुंग्याउने निर्णय गरेको थियो। २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णयसमेत गरेको बैठकमा ओली र दाहालले सरकार तथा पार्टीको कामकारबाहीका बारेमा आत्मालोचना गरेका थिए। ओलीले पार्टीलाई सहमतिका आधारमा अघि बढाउने आश्वासन पनि दिएका थिए। तर सोबमोजिम ओली चल्न नखोजेको भन्दै दाहाल र नेपालले छुट्टाछुट्टै र संयुक्त बैठक गरिरहेका छन्।

पार्टीभित्र एक व्यक्ति एक जिम्मेवारीको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको नेपाल समूह ओली र दाहालबाट स्थायी कमिटी बैठकमा आउन सक्ने अजेन्डाका लागि ‘पर्ख र हेर’ को नीतिमा रहेको सो समूहका एक नेताले बताए। सहमतीय प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएका दाहालको अबको भूमिका कस्तो रहन्छ, स्थायी कमिटीको बैठकमा आउने प्रस्तावले तय गर्ने विश्लेषण नेपाल समूहको छ। सहमतिको प्रस्ताव बनाउने जिम्मेवारी पाएपछि दाहालले नेपालसँग छलफल थाले पनि वातावरण सहज बनिसकेको छैन। आजकाे नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: