काठमाडौं, २४ बैशाख । पार्टीको सचिवालय बैठक चलिरहेका बेला नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली उठेर गएका छन्। ‘म थाकें, एकछिनमा आउँछु’ भनी निस्केर गएका ओली ६ बज्न लाग्दा पनि फर्किएका छैनन्।
प्रधानमन्त्री गएपछि बैठकमा सहभागी भएका अरू नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसिरहेको बालुवाटार स्रोतले सेतोपाटीलाई जानकारी दियो। भोलि बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावलगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेको थियो।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मआलोचना गर्दै सबै जना मिलेर अघि बढ्ने बताएका थिए। प्रधानमन्त्रीपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि मिलेर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए।
भोलि बस्ने स्थायी कमिटी बैठकका लागि दुबै अध्यक्षले प्रस्ताव तयार गर्ने भनिएको थियो। तर प्रस्ताव तयार गर्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन।
शनिबार भएका सहमतिबाट प्रधानमन्त्री पछि हटेको आरोप प्रचण्ड र माधवकुमार नेपाल खेमाले लगाएका छन्। पहिला सहमति भएअनुसार कार्यकारी अध्यक्षका रूपमा प्रचण्डको भूमिकालाई थप प्रष्ट्याउने गरी स्थायी समितिमा प्रस्ताव लैजाने, मन्त्रिमण्डल पुनर्गठन गर्ने र केही मुख्यमन्त्रीहरू फेरबदल गर्ने सहमतिबाट प्रधानमन्त्री ओली पछि हटेको प्रचण्ड-नेपाल खेमाको आरोप छ।
वैशाख १७ गतेको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका प्रधानमन्त्री ओलीले २० गतेको सचिवालय बैठकमा उक्त प्रस्तावबारे केही पनि उल्लेख नगरेपछि पछिल्ला दिनमा गौतम पनि आफ्नो हुर्मत लिएको भन्दै रूष्ट बनेका उनीनिकट नेताहरूले बताएका छन्।
प्रतिकृया दिनुहोस