कछुवा गतिमा नेपालगञ्जमा कोरोना परीक्षणः भयावह अबस्था आउनसक्छ- चिकित्सक

meropati
Spread the love

बाँके, २५ बैशाख । पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण डरलाग्दोरुपमा फैलिन सक्ने चेतावनी बिज्ञहरुले दिएका छन् । कोरोना संक्रमण देखिएको एक सातासम्म करिव २५० जनाको मात्र पिसिआर परीक्षण गरिएको भन्दै चिकित्सकहरुले छिटो परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेका छन् ।

नेपालगञ्जमा एक सयजनाको स्वास्थ्य परीक्षण गर्दा २३ जना संक्रमित भेटिएका छन् । सानो परीक्षणमा ठुलो संख्यामा संक्रमतिहरु भेटिएपनि स्वास्थ्य परीक्षणलाई तिव्रता दिइएको छैन ।



‘यहाँ समुदायलाई नै स्वास्थ्य परीक्षणको आवश्यकता छ, तर परीक्षण कछुवा गतिमा भयो’, कोहलपुर मेडिकल कलेजका डाक्टर श्याम विकले भने ‘कोरोना संक्रमति नदेखिएका प्रदेशमा रहेको स्रोत साधन र जनशक्ति यहाँ ल्याएर तत्काल प्रयोग गर्न ढिलाई गर्नुहुँदैन ।’

कतिपय प्रदेशमा कोरोनाका लागि स्रोत साधन पठाइएको छ । तर ती ठाउँमा अहिले आवश्यकता परिसकेको छैन । त्यहाँ रहेको स्रोत साधन र जनशक्ति नेपालगञ्जमा परिचालन गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । ‘यहाँ सानो स्केलमा स्वास्थ्य परीक्षण गरेर पुदैन, समुदाय स्तरमै गर्नुपर्ने अबस्था छ’, डाक्टर श्याम विकले भने ‘अन्यथा यो क्षेत्रमा कोरोनाको डरलाग्दो रुप देखिन सक्छ ।’

पहिलो कोरोना संक्रमति ब्यक्ति भेटिएको एक सातामा जम्मा २५० जतिको स्वास्थ्य परीक्षण गरिएको छ भने एक सयजतिको मात्र परीक्षण रिपोट आएको छ । बुधवार संकलन गरिएका १२६ जनाको रिपोट आउन बाँकि छ । सातामा हजारौ मानिसको स्वास्थ परीक्षण गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुले बताएका छन् ।

मुस्लिम समुदायका बालबालिकालाई उर्दु भाषा र नवाज पढ्न सिकाउने गुरु नै पहिलो संक्रमित ब्यक्रि हुन् । उनी धेरैको सम्पर्कको गएको आशंका गरिएको छ । तरपनि परीक्षण सुस्त हुँदा समुदायमा त्रास फैलिएको छ । उनीको सम्पर्कमा रहेका केही ब्यक्तिको मात्र नमुना परीक्षण भएको छ ।

नेपालगञ्जको धम्वोजी चोकस्थित एक मस्जिदमा करिव ६० जनाको जमाती समुह बसिरहेको छ । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छैन । सवैभन्दा पहिले त्यो समुहको स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: