रूपन्देही, २७ बैशाख । कपिलवस्तुमा आज भेट्टिएका तिन जना संक्रमित समेत यस अगाडी संक्रमित भेट्टिएका २ जना संक्रमित संगैं मुम्बइबाट नेपाल भित्रिएकाे बुझिएकाे छ ।
उनीहरु पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार रातको समयमा नेपाल प्रवेश गरेका उनीहरु पाँचै जना भारतको मुम्बइबाट सँगै आएका थिए ।
आज कोरोना पुष्टि भएका तीन जना र यसअघि फेला परेका दुई जना युवाहरु कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ अभिरावका हुन् ।
वडा नं. २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानका अनुसार मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरुलाई गाउँमा प्रवेश गर्न नदिइ बाटोमै रोकेर क्वारेन्टाइनमा पठाएका थिए ।
यसअघि कोरोना पुष्टि भएका कपिलवस्तुका २ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत छन् । नयाँ संक्रमित ३ जनालाई पनि आज बुटवल ल्याइँदै छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने देखिएको छैन ।
उनीहरु पाँचैजना मायादेवी १ को पकडी छत्रपाली माबिमा बनाइएको क्वारेन्टाइनमा थिए । सो क्षेत्रमा हाल आउ–जाउ बन्द गरिएको छ ।
कपिलवस्तुका पाँच जनासमेत गरी प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २४ र रुपन्देहीमा १ जनालाई कोरोना पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस