दलितसँग विवाह गरेको भन्दै आमाको दाहासंस्कारमा छोरालाई विभेद

meropati

मिलन विश्वकर्मा
पाल्पा,  २७ बैशाख ।
वरिपरी पक्की घर । ति घरकोबीचमा एउटा बारी। जुन बारिमा भर्खरै टुसाएका मकैका विरूवा। तिनै विरूवा मासेर बाँसको सहयतामा बनाइएको त्रिपालले बारेको र प्वाल परेका पूराना जस्तापाता तेर्साइएको एउटा सानो छाप्रो । जुन छाप्रोभित्र एउटा जोडी । ति जोडी हुन् बगनासकाली गाउँपालिका–१ चिर्तुङधारास्थित मैदानका पूर्णमान श्रेष्ठ र सरिता श्रेष्ठ ।

आमाको निधनपछि काजकिरयाका लागि पूर्णमान र उनकी श्रीमति सरिता यसरी छाप्रोमा बसिरहेका छन् । तर त्यहि छाप्रो नजिकै उनको घर छ । अन्तरजातीय विवाह गरेका पूर्णमान घरभित्र प्रवेश गर्न नपाएपछि बारीमा छाप्रो बनाएर आमाको काजकिरियाका दिन कटाउन बाध्य छन् । नेवार समुदायका पूर्णमानले आजभन्दा १४ वर्ष पहिले छिमेकी दलित समुदायअन्तर्गत पर्ने नेपाली थरकी सरितासँग विवाह गरेका थिए ।



शुक्रबार विहान करिब एक बजेतिर ७३ वर्षीया आमा मनकुमारी श्रेष्ठको निधन भयो । आमाको निधन भएको कुरा छिमेकीबाट थाहा पाएका उनी विहानपख घरमा पुगे । तर आमाको पार्थिव शरीर हेर्ने शिवायः छुन पाएनन् । नेवार समुदायको संगठित संस्था गुठियारका सदस्यले घरकी कान्छी बुहारी गीता श्रेष्ठको निर्देशनमा पूर्णमानलाई आमाको पार्थिव शरीर नजिक बस्न समेत दिएनन् ।

एकछेउमा टोलाएर बसिरहेका पूर्णमानले घरबाट शव उठाइसकेपछि बाटोमा आमाको शवलाई काँधमा राख्ने मौका पाए। उनले काँध थापेको केहि समयमा शव बसमा राखियो । घाटमा जाने मलामी पनि बसमा बसे। जब बस चल्यो पूर्णमानका बारेमा विभिन्न चर्चापरिचर्चा चल्न थाले र जुन चर्चा घाटमा पुग्दासम्म चलिनै रहे । राम्दीघाटमा पुगेपछि आमाको दाहासंस्कार गर्न थालियो। पानी खुवाउन र चितामा चढाउन सहयोग गरेका पूर्णमानलाई आमाको पार्थिव शरीरमा दागवत्ति दिनबाट भने रोकियो ।

जेठी आमातर्फका छोरा रामलाल श्रेष्ठले दागवत्ति दिए । कथित् तल्लो जातीसँग विवाह गरेकोले दागवत्ति दिंदा आमा स्वर्ग नजाने भन्दै आफुलाई दागवत्ति दिनबाट रोक लगाएको पूर्णमानले सुनाए। ‘समाजका दाजुभाइले स्वीकार गरेनन् । दाइ रामलालले समाजलाई दोषी देखाइ आफुलाई सम्झाएको सुनाउदै’ पूर्णमानले भने ‘दागवत्ति मैले दिन्छु भन्दै दाइ आफैले दागवत्ति दिनुभएको हो ।’
घाटमा आमाको दाहासंस्कार सकेर घर फर्किएका उनले बारीमा बसेर क्रिया बस्नुपर्ने अलिकतिपनि कल्पना गरेका थिएनन् । छुट्टै किरिया बस्नुपर्ने मानसिकता बनाएका उनले घरमा एउटा कोठा पाइने आशामा थिए । विडम्वना, घरमा आइपुगेपछि आफ्नै तरिकाले किरिया बस्ने कुरो भयो । किरिया बस्न घरमा नदिने भनेपछि उनी घरपछाडिको बारीतर्फ लागे। त्यहि बारीमा किरया बस्न दिनुस् भन्दै धेरै पटक उनले परिवार र गुठियार दाजुभाइसँग अनुरोध गर्नुप¥यो । पूर्णमानको आफ्नै घर छैन् । उनी ससुराली बस्दै आएका छन् ।
मलामी गएका गुठियारका दाजुभाई लाखापाखा लागेपछि यहाँको दलित समदायले रातीको १० बजे छाप्रो बनाइदिए । त्यसपछि कोरा बेरेका पूर्णमानको जोडी त्यहि छाप्रोमा बस्न बाध्य भए । जेनतेन एकरात कटाएका आफुहरूलाई अबका ११ रात कटाउन भने निकै कठिन हुने किरिया बसेकी सरिताले दुखेसो पोखिन् । ‘त्यसैत्, रातको समयमा डर लाग्छ’ उनले भनिन् ‘यस्तो अवस्थामा छाप्रोमा कसरी दिनरात कटाउने हो? भन्ने चिन्ता लागेको छ।’

१४ वर्ष अघि उनको अन्तरजातीय विवाह भएको हो। विवाह भएदेखि उनी र उनका परिवार ससुराली बस्दै आएका छन् । उनका एक छोरा र एक छोरी छन् । पोखरामा बस्दै आएका उनले गाडीमा सहचालकको काम गर्छन् । घरमा जाने र बस्ने पटकपटक प्रयास गरेपनि परिवारले अस्वीकार गरेपछि फर्किन बाध्य भएको उनले सुनाए । ‘छोराछोरी साना छन् । एक्लै श्रीमतिले रेखदेख गर्नुपर्छ। म कहिले कता, कहिले कता, जागिरको कुनै ठेगान छैन् । अहिलेसम्म बस्नको लागि आफ्नै घरसमेत छैन्’ उनले भने ‘बाबाको अंश पाएपनि ठूलो राहत हुने थियो ।’ ऋणधन गरेर घर बनाएर बस्ने उनी बताउँछन्। आमाको किरिया बारिमा बसेर गर्नुपर्दा दुःख लागेको उनले बताए । समाजले न्याय देलानि भन्ने पर्र्खाइमा आफु रहेको उनले सुनाए ।

तीन भाइमध्य पूर्णमान माइला हुन् । उनका दाइ र भाई रोजगारको शिलशिलामा विदेशतिर छन्। भाउजु र बुहारी भने घरमै किरिया बसिरहेका छन् । जेठी आमातर्फका दाई रामलाल भने घरभित्रको चाँजोपाँजो मिलाएर आफ्नो घर बुटवल गएका छन् । कान्छी बुहारी गीता श्रेष्ठका अनुसार रामलालले भित्र जान नदिन भनेका थिए । ‘मैले घरभित्र पस्न दिंदिन’ उनले भनिन् ‘दाई रामलालसँग कुरा गर्नुस्। उहाँले जे भन्नुहुन्छ त्यहि गर्नुस् ।’ रामलाल श्रेष्ठ बुटवलको एक प्रतिष्ठित क्याम्पसका पूर्व प्रमुख हुन् ।

प्रतिक्रिया लिनको लागि थाहाखबर पाल्पाका समाचारदाताले रामलाल श्रेष्ठलाई पटकपटक फोन गर्दा उठेन्। परिवारका अनुसार उनी अहिले बुटवल नै छन् ।

स्थानीय गुठियार दाजुभाइृ लोकमान श्रेष्ठले परिवारले सल्लाह गरेअनुसार किरिया बसेको बताए । ‘परिवारले गरेको कुरा हामिले मान्ने हो’ उनले भने ‘तर यसरी किरियापुत्रीलाई बारीमा राख्नु राम्रो कुरा होइन् ।’

आमाको दाहासंस्कार र किरिया बसेको बेला गरिएको जातीय विभेद जघन्य अपराध भएको बगनासकाली गाउँ कार्यपालिका सदस्य तेजप्रसाद रसालीले बताए । घट्नामा संलग्नमाथि तत्काल छानविन गरी जातीय विभेदविरूद्ध कारबाही हुनुपर्ने उनले माग गरे ।

स्थानीय कमल नेपालीले मानवमाथि गरिएको यस्तो कार्य अमानवीय र सामाजिक अपराध भएको बताए । एक्काइसौं शताब्दीमा गरिएको जातीय विभेद क्षम्य नहुने भन्दै विभेद गर्नेउपर कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले बताए ।

यस्ता कार्य ऐन कानुनभन्दा विपरित भएको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालले बताए। घट्नाबारे आफुले केहिबेर अघि थाहा पाएको र थप जानकारी लिएपछि अगाडि प्रक्रिया बढाउने उनले बताए । यदि यसरी जातीयताकै आधारमा विभेद भएको हो भने कानुन बमोजिम कारबाहीका लागि आफुले सहयोग गर्ने र पीडितलाई न्याय दिने अध्यक्ष बश्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: