स्याङ्जा र तनहुँका बासिन्दालाई पाल्पामा छेकबार

meropati

पाल्पा, ६ जेठ । स्याङ्जा र तनहुँबाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मर्कामा परेका छन् ।

धान तथा मकै गोड्ने अहिलेको समय घरनजिकै भए पनि कृषकहरु कालीनदीको पुल तरेर पाल्पा रामपुरको खेतबारीमा  जान पाएका छैनन् । खेतबारीमा काम गर्ने समयमा पुलमा छेकबार लगाइएको छ ।



मुलुक बन्दाबन्दी र जिल्ला बन्दले खेतमा सिँचाइ गर्न जाने सहज अवस्था नहुँदा रोपिएको धान खेतमै सुक्न थालेको कृषकको गुनासो छ । “यसअघि बन्द गरिएको पुल दुवै जिल्लाका वडा कार्यालय र प्रहरीसँगको समन्वयमा बिहान र बेलुका कृषकका निम्ति बाटो खुला गरिएको थियो । अहिले पुलमा स्थानीय युवा तथा प्रहरी परिचालन गरेर आवागमनमा अवरोध गरिएको छ,” स्याङ्जा चापाकोट दामाचौरका खगेश्वर कुमालले भने ।

चापाकोट नगरपालिकादेखि  गएर रामपुर नगरपालिकाको खेतबारीमा काम गर्ने करिब ३० कृषक छन् । चापाकोट, दामाचौर र रामपुर प्याक्लुकघाट जोड्ने झोलुंगे पुलमा छेकबार लगाउँदा कृषकलाई निकै समस्या छ । “खेतमा मकै गोड्ने, हिउँदे धान गोड्ने चटारो छ, बिहानैदेखि बाँदरसमेत लाग्‍ने क्षेत्र हुँदा मकै कुर्न जान पाइँदैन, पुलमा बार छ, ” कुमालको गुनासो छ ।

कालीगण्डकीमा ट्युब चलाई खेतमा पानी लगाउन जान  आँट गर्न नसकिएको अर्का कृषक चन्द्रबहादुर कुमाल बताउँछन् । “खेतमा केही घोगा हाल्न थालेका मकै बाँदरले नष्ट पार्ने भो, धान रोपेको खेत सुकेको छ, लौन कसले सहयोग गर्ला,” उनले भने ।

स्याङ्जा र तनहुँमा बसोबास भएका तथा पाल्पा रामपुर र बगनासकाली क्षेत्रमा खेतबारी भएका कृषक धेरै छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट पाल्पा बगनासकालीमा घरगोठ भएर बसेका करिब १२ कृषक  छन् । बगनासकाली गाउँपालिका ७ फाँटमा आएर कृषि काम गर्नेलाई पुल तरेर आउनजान समस्या छ ।  तनहुँ घिरिङ गाउँपालिकाका गजरकोट, पुट्टार र रामपुर स्याउलीबजार जोड्ने गरी कालीगण्डकीको झोलुङ्गेपुलमा लगाइएको बारले पनि घर र गोठ वारिपारि भएका कृषकको दैनिकी कष्टकर बनेको छ ।

तनहुँ, पुट्टारमा घर र रामपुर पीपलडाँडामा गोठ भएका कृषक सन्तबहादुर श्रेष्ठ गाईभैंसीलाई कुँडो, घाँसपराल दिन आउन-जान समस्या भएको गुनासो गर्छन् । “पुलमा बार छ, जसोतसो बेलुका र बिहान आएर दिनभर फर्केर आउन पाइँदैन, वस्तुभाउ फुके, लडे र खान नपाए पनि हेरचाह गर्न समस्या छ,” उनले भने ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भने विभिन्‍न बहानामा आवातजावत गर्न नपाइने तर कृषि कार्यका लागि एक-एकजना खेतमा आउने-जाने व्यवस्था मिलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले खेतीपाती एवं कृषि कामका लागि कोहीकसैलाई प्रतिबन्ध नलगाइएको र यदि यसो भएका भए स्थानीय सरकारले व्यवस्थापन मिलाउनुपर्ने बताए । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: