लकडाउनमा कडाइ : भुवनपोखरीको सडकमा चौबिसै घण्टा चौकीदार

meropati

 

  • मिलन विश्वकर्मा

पाल्पा, १७ जेठ ।  जिल्लाका विभिन्न ठाउँमा आवताजावतमा कडाई गरिएको छ । सिद्धार्थ राजमार्ग र पाल्पा गुल्मी सडकखण्डमा पर्ने विभिन्न ठाउँमा प्रहरीले चेकजाँचमा कडाई गरेको छ भने गाउँमा स्थानीय युवाले निगरानी गरिरहेका छन् । उनीहरू पालो बाँडेर दिनरात गाउँका मुख्य सडकमा बस्ने गरेका छन् । कुनैपनि सवारी साधन वा पैदल हिडेका मानिस आएमा उनीहरूले सोधपुछ गर्छन् । हिड्नको लागि पाइने कुनै आधिकारी पास वा भरपर्दो प्रमाण भए गाउँमा प्रवेश दिन्छन् । नभए त्यहिँबाट फर्काइ दिन्छन् ।



रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भने तलब नै दिएर चौकीदार राखिएको छ। चौबिसै घण्टा निगरानी गर्न मासिक तलब तोकेर दुइ जनालाई चौकिदारकोरुपमा खटाइएको वडा अध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयो । उहाँका अनुसार उनीहरूले मासिक ३० हजारका दरले तलब पाउँछन् । दिनरात उनीहरूले ड्युटी गर्नुपर्छ ।

वडामा कति गाडी प्रवेश गरे, कति बाहिरिए भन्ने रेकर्ड उनीहरूले राख्नुपर्ने हुन्छ । कुन मानिस के कामका लागि आए, कहाँबाट आए, क्वारेण्टाइनमा राख्नुपर्ने अवस्था भए नभएकोबारे उनीहरूले वडामा वा नजिकैको प्रहरी चौकीमा जानकारी गराउने वडाध्यक्ष दर्लामीले बताउनुभयो । जिल्लामै उच्च जोखिममा रहेको भुवनपोखरीमा कोरोना भाइरस (कोभिड १९) बाट सतर्कता अपाउनको लागि चौकीदारनै खटाउनु परेको उहाँले बताउनुभयो ।

लुकिछिपी वडामा प्रवेश गर्न थालेपछि कोरोना संक्रमितको जोखिम बढ्न थालेको दर्लामीले बताउनुभयो । लकडाउनको सुरूवाती चरणमा २ सयभन्दा बढी युवा भारतबाट भुवनपोखरीमा आएका थिए । जिल्लामा एकैपटक सबैभन्दा बढी यहि वडामा भारतबाट आएका थिए । केहि दिनअघि भारतबाट आएका ६८ जना युवा अहिलेपनि स्थानीय सरकारले निर्माण गरेको क्वारेण्टाइनमा बसिरहेका छन् भने १० जना आजै सुनौली नाकाबाट आउने तयारीमा रहेको अध्यक्ष दर्लामीले बताउनुभयो ।

बैशाख ३ गतेदेखि आफुले यहाँ काम गर्दै आएको स्थानीय तोलबहादुर दगालले बताउनुभयो । लकडाउनले परिवार पाल्नसमेत समस्या भएको अवस्थामा पाएको जागिरले ठूलो राहत मिलेको उहाँले बताउनुभयो । ‘दुइजना छौं, १२÷१२ घण्टा काम गर्छौ’ उहाँले भन्नुभयो ‘रातीको समयमा कतिपय मानिसले कुरा नबुझेर थर्काउने र धम्काउने गर्छन् ।

तरपनि गाउँको सुरक्षाका लागि वडाले दिएको जिम्मेवारी पूरा गरिरहेका छौं ।’ यहाँ आउने र जाने सवारी साधनसहित मानिसको रेकर्ड राखेर वडामा बुझाउने गरेको उहाँले बताउनुभयो । साथै नयाँ मान्छे कुनै पास वा आधिकारीक कामको प्रमाणविना आएमा फर्काउने गरेको दगालले बताउनुभयो ।

कसैले अटेर गरेमा प्रहरीको सहायतामा उनीहरूलाई सम्बन्धित ठाउँमा फर्काउने गरेको दगालले सुनाउनुभयो । सडकमा तेर्साइएको बाँसमा चापी लगाएर उनीहरूले ड्युटी गर्दै आएका छन्। जान दिन मिल्ने अवस्थाका मानिसलाई चापी खोलीन्छ । नत्र नखोल्दिने गरेको उहाँ बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: