मिलन विश्वकर्मा
पाल्पा, १६ असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । विभिन्न ठाउँबाट बरामद गरिएको घरेलु मदिरा मंगलबार नष्ट गरिएको हो ।
एकसय लिटर तयारी अवस्थाको घरेलु मदिरा र मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ करिब दुइसय लिटर बरामद गरी नष्ट गरिएको विर्घा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विमल पौडेलले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिका–३ आलमदेवीबाट बिक्रीको लागि ल्याउदै गरेको मदिरा वडा नम्बर ४ विर्घाको गौतमटोलबाट बरामद गरिएको हो । केही मात्रामा भने गौतमटोलबाट नै बरामद गरिएको थियो । स्थानीय भद्र भलाद्मी, टोलसुधार समितिका पदाधिकारीको रोहबरमा बरामद गरिएको मदिरा नष्ट गरिएको उहाँले बताउनुभयो । पहिलो पटक फेला परेको हुनाले मदिरा बिक्री गर्ने र खरिद गर्नेलाई सम्झाई बुझाई छाडेको उहाँले बताउनुभयो । आगामी दिनमा बिक्री वा खरिद गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रहरी सहायक निरीक्षक पौडेलले बताउनुभयो ।
स्थानीयले दिएको विशेष सुराकीको आधारमा ठूलो मात्रामा अवैध घरलु मदिरा बरामद भएको हो । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि यहाँका युवा सक्रिय भएर रचनात्मक गतिविधि संचालन गरिरहेका छन् । गाउँलाई मदिरामुक्त बनाउने अभियानलाई पनि कडाइका साथ अगाडी बढाएको स्थानीय युवा गोविन्द विश्वकर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्