स्याङ्जाको विर्घामा महिलालाई अचार बनाउने तालिम

meropati

मिलन विश्वकर्मा
पाल्पा, १९ असार । स्याङ्जाको विर्घामा एकहप्ते अचार बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोग, कालीगण्डकी गाउँपालिकाको आयोजना र विर्घा साना किसान कृषि सहकारी संस्थाको समन्वयमा तालिम सञ्चालन भएको थियो ।



तालिम समापन कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिनुभयो । ‘यसप्रकारको तालिमले महिलालाई उद्यमी बनाउन सहयोग गर्ने छ’ उहाँले भन्नुभयो ‘तालिममा सिकेका सीप व्यवहारमा लागु गर्दै व्यावसायिक बनेर आत्मनिर्भर हुन सक्नु पर्छ।’ व्यावसाय गर्न चाहनेलाई गाउँपालिकाले थप सहयोग गर्ने अध्यक्ष थापाले आश्वासन दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले परम्परागत ज्ञान सीपलाई आधुनिक व्यवसायमा विस्तार गर्न सके जिविकोपार्जनमा सहज हुने बताउनुभयो । तालिममा सिकेको सीपलाई व्यावसायमा जोडेर आर्थिक पक्षमा सबल बन्न उहाँले सुझाव दिनुभयो ।

तरूणदल कालीगण्डकी गाउँपालिकाका संयोजक यादव पाण्डेले यहाँका युवा तथा महिलालाई सीपमूलक तालिम दिएर व्यावसायमा जोड्नु पर्ने बताउनुभयो ।

सहकारीका लेखा समिति संयोजक दर्शन रानाले सहकारीले बचत तथा ऋण कारोबार नभइ संस्थामा आवद्ध सदस्यहरूलाई जीवनपयोगी तालिम तथा विभिन्न भौतिक तथा आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ र ४ का महिलाहरूको सहभागिता रहेको थियो । तालिममा आँप, कटहर, कागती, लसुन, अदुवा, सिस्नु, फर्सीका मुन्टा, मेथी लगायत मौसमी तथा बेमौसमी तरकारीबाट बन्ने विभिन्न परिकारका अचार बनाउन सिकाइएको सहकारीका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार किसानको खेतबारीमा उत्पादन हुने विभिन्न तरकारीबाट अचार बनाउन सकिने बारे तालिममा सहजीकरण गरिएको थियो । तालिममा चापाकोट नगरपालिकाका राममायाँ श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा तालिममा सहभागीहरू सबैलाई ग्रान्डर मेसिन, डिजिटल तराजु, अचार बनाउने उपकरण र मसलासहित अचार बनाउने कच्चा पदार्थसमेत वितरण गरिएको थियो ।

सहकारीका सञ्चालक समितिका सदस्य हिरादेवी पाण्डेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव गोकुल रानाले गर्नु भएको थियो ।

सहकारीका अध्यक्ष नारायणप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: