एमाले दर्ता केपी ओलीकै सक्रियता र पहलमा भयो : प्रचण्ड

Avatar
९ श्रावण २०७७, शुक्रबार १७:५२

काठमाडौँ, ९ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चोचोमोचो मिलाएर एकता नहुने बताएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘एकता चोचोमोचो मिलाएर होइन संघर्षबाट हुन्छ’, उनले भने, ‘संघर्ष र बहस बाहिर गएर माला जपेर एकता हुँदैन।’ उनले एकताका लागि संघर्ष जरुरी भएको बताए। उनले रुपान्तरणका लागि नयाँ आधारमा एकता हुनुपर्नेमा जोड दिए।

सँगै प्रचण्डले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीकै पहलमा नेकपा (एमाले) नामक नयाँ दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन परेको दाबीसमेत गरेका छन्।

‘मैले सार्वजनिक रुपमा पहिला पनि भनेको छु । यहाँ पार्टी संकटमा छ । मैले ठिकठाक छ भने भने त्यो सत्य होइन । किनकी पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा (एमाले) को नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षसमेतको सक्रियता र पहलमा भएको छ’, प्रचण्डले ओलीतर्फ लक्षित गर्दै भने, ‘त्यसकारण यसले संकटलाई व्यक्त गरेको छ । यो तपाईंहरु सबैले देखेकै कुरा हो ।’

उनले प्रधानमन्त्री ओलीले नै पार्टी बैठक चलिरहेका बेला कार्यकर्तालाई जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको आरोपसमेत लगाए।

कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वमा चल्नुपर्ने तर त्यो नभएको उनको गुनासो छ। उनले ६–६ महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक दुई वर्षसम्म बस्न नसकेको स्वीकार गरे।

पार्टी बैठक नहुँदा सामूहिक छलफल हुन नसकेको उनको भनाइ छ। ‘पार्टी भनेको विवेक हो। सरकार भनेको सत्ता हो’, प्रचण्डले भने, ‘विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ। यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनेको हो। सत्ताले पार्टीको नेतृत्व गर्ने होइन।’

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १७:५२

प्रतिक्रिया दिनुहोस्