उपचार गराइरहेका बुटवलमा थप ३ जनामा संक्रमण, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टिनमा

Avatar
२० श्रावण २०७७, मंगलवार ०८:३२

बुटवल, २० साउन । बुटवलमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको परीक्षणमा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

उनीहरुमध्ये कपिलवस्तु, स्याङ्जा र रुपन्देही तिलोत्तमा हुन्। उनीहरुमध्ये कपिलवस्तुका एक जना बिरामी अस्पतालमा उपचारका लागि आकस्मिक कक्षमा भर्ना भएर उपचाररत थिए। हिजो आइतबार अस्पतालमा भर्ना भएका उनी सोमबार साधारण बेडमा सरिसकेका थिए।

निमोनियाको उपचार गराउन आएका २२ वर्षका ती पुरुषको उपचारमा अस्पतालको आकस्मिक कक्ष, साधारण कक्षका रात्री र दिवाकालीन स्वास्थ्यकर्मी र चिकित्सकहरु खटिएका थिए। उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएपछि उनको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकहरु क्‍वारेन्टिनमा बसेको डा गौतमले बताए।

तिलोत्तमा र स्याङ्जाका पुरुषमा पनि कोरोना

संक्रमण पुष्टि भएका व्यक्ति तिलोत्तमाका एकजना औषधिको बिक्रेता हुन्। उनी कपिलवस्तुमा औषधि लिएर गएको समयमा मेडिकलका सञ्चालकका छोरीहरुले काठमाडौमा परीक्षण गराउँदा संक्रमण भएको थाहा पाएपछि पीसीआर परीक्षण गराउन आफै अस्पताल आएका थिए। 

यस्तै अर्का स्याङ्जाका संक्रमित विदेशबाट आएका थिए। उनी पनि आफै अस्पतालमा पीसीआर परीक्षण गराउन आएका थिए। उनीहरु सबैलाई आइसोलेशनमा राखेर उपचार थालिएको डा गौतमले बताए। उनले संक्रमण पुष्टि भएलगत्तै सबै निकायहरुमा जानकारी गराएर कन्ट्याक्ट ट्रेसिङको काम पनि अघि बढिसकेको बताए।

तीन जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सबै निकायहरुमा जानकारी गराएर कन्ट्याक्ट ट्रेसिङको काम अघि बढिसकेको अस्पतालका सूचना अधिकारी डा. गौतमले बताए । अस्पताललाई सेनिटाइज्ड गरेर सबै सेवा सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार ०८:३२

प्रतिक्रिया दिनुहोस्