सिन्धुपाल्चोकको पहिरो : ११ जनाको शव भेटियो, २७ जना अझै बेपत्ता

meropati

काठमाडौं, ३० साउन । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव भेटिएको छ। सिन्धुपाल्चोक प्रहरीका अनुसार अझै २७ जना बेपत्ता छन्।

फेला परेका शवको सनाखत हुन सकेको छैन। शव नचिनिने अवस्थामा रहेका कारण सनाखत हुन गाह्रो भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख माधवप्रसाद काफ्लेले जानकारी दिए। ‘ शव चिन्न सकिने अवस्थामा छैनन्। स्थानीयको सहयोगले शवको पहिचान गर्ने काम भइरहेको छ। बेपत्ताको पनि खोजि भइरहेको छ’, एसपी काफ्लेले भने।



काफ्लेले स्थानीयको भनाइ उद्धृत गर्दै पहिरोले ३७ घर पुरिएको बताए। ‘हामीले पाँच जना घाइतेको बिहानै उद्धार गरेका थियौँ’, उनले भने

शुक्रबार बिहान ६ बजे तिर उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए। शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेका छन्।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल घटनास्थल पुगेर स्थलगत निरिक्षण गरेका छन्। गृहमन्त्री थापा राहत सामग्री लिएर पुगेका थिए।

खाद्यान्‍न, लत्ताकपडा र २ लाख रुपैयाँ पैसा स्थानीय जनप्रतिनिधीलाई उपलब्ध गराएको गृहमन्त्रिका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: