अछाममा मृतकको संख्या ६ पुग्यो, १७ बेपत्ता (अपडेट)

meropati

धनगढी, ३ भदौ । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाएका  ६ जनाको शव भेटिएको छ। बेपत्ता रहेका १७ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वति रावलले जानकारी दिइन्।

अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।



रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ । सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले बताइन् । प्रहरीले भने यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

मंगलबार राति देखिको अविरल वर्षा सँगै आएको बाढीका कारण रामारोशन गाउँपालिका सैनीबजार र छेउछाउका बस्ती बगाएको हो।बाढीले सैनीबजार र छेउछाउका २५ जती घर बगाएको खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार त्यहाँ जाने बाटाहरु पनि बाढीले बगाएका कारण उद्धार टोली सदरमुकामबाट हिँडे पनि पुग्न सकेको छैन। स्थानीयले नै उद्धार गरिरहेको प्रजिअ उपाध्यायले बताए। प्रजिअ उपाध्यायले सदरमुकामबाट तीनवटै सुरक्षा निकाय सम्मेलित ६० जनाको टोली घटनास्थल तर्फ गैसकेको बताए ।

अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: