स्याङ्जाको कालिगण्डकी गाउँपालिकाको भवन शिलान्यास

meropati

 

मिलन विश्वकर्मा
पाल्पा, ६ भदौ । स्याङ्जाको कालिगण्डकी गाउँपालिकाको भवन शिलान्यास भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भवनको शिलान्यास गनुभएको हो । गाउँपालिकाको वडा नम्बर ४ बिर्घाको गहलाममा भवनको शिलान्यास भएको हो । स्थानीय सरकारको निर्वाचन भएको तीन वर्षपछि गाउँपालिकाको भवन बन्ने भएको छ । पहिलो चरणमा प्रमुख प्रशासकीय भवन, अवासीय भवन र क्याण्टिन निर्माण हुने छ ।



तोकिएको समयमा भवन निर्माण हुनेमा आफू विश्वस्त रहेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो। यहाँका जनताको सहयोगमा भवन निर्माण कार्यमा आफूलाई सहज भएको उहाँको भनाई छ । यस क्षेत्रकै नमुनाको रुपमा यो भनव निर्माण हुने उहाँले दावी गरे। निशुल्कः जग्गा दिने जग्गादातालाई धन्यावद समेत दिनुभयो । उहाँका अनुसार करिब २८ रोपनी जग्गा गहलामका स्थानीयले गाउँपालिकालाई निशुल्क उपलब्ध गराएका छन् । पहिलो चरणको भवन निर्माण कार्य सकिए लगत्तै अध्यक्ष र उपाध्यक्षको कार्यालयसहित सिटी हल निर्माण प्रक्रिया थालिने उहाँले बताउनुभयो । कम्तिमा सात सय मानिस बस्न मिल्ने सिटी हल निर्माण हुने अध्यक्ष थापाले बताउनुभयो । हाल गाउँपालिकाको अस्थायी कार्यालय रहेको स्थान कट्टीमा नेपाल सरकारको मापदण्ड अनुसार जग्गा उपलब्ध भएमा साँस्कृतिक डबली (हल) निर्माण गर्ने सोंचमा आफू रहेको उहाँले सुनाउनुभयो । आफ्नो बाँकी कार्यकाल अबको दुइ वर्ष भित्रमा गाउँपालिका भित्रका आवश्यक पर्ने सबै भौतिक संरचना निर्माण गर्ने योजनामा आफू रहेको उहाँले बताउनुभयो । निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता अनुसार काम गरिरहेको उहाँले दाबी गर्नुभयो ।

यहाँका जनताको सहयोगले नै गाउँपालिकाले प्रभावकारी काम गर्न पाएको उपाध्यक्ष साबित्री कोइरालाले बताउनुभयो । ‘कतिपय ठाउँमा विभिन्न विवादले भवन बन्न सकिरहेको छैन्’ उहाँले भन्नुभयो ‘यहाँका जनताले निशुल्कः जग्गा नै दिएर स्थानीय सरकारलाई ठूलो सहयोग गरेका छन् । जसले गर्दा जनताको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सजिलो भएको छ ।’ गाउँपालिकाको विकासमा आफूहरुले कुनै कसर बाँकी नराख्ने कोइरालाले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले कार्यालयका गतिविधि प्रभावकारी ढंगले संचालन गर्नको लागि भौतिक संरचना आवश्यक रहेको बताउनुभयो । गुणस्तरीय भवन समयमै निर्माण हुुनुपर्नेमा उहाँले जोड दिनुभयो । समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उहाँले आग्रह समेत गर्नुभयो ।

७ करोड ७० लाख ९७ हजार २ सय ६१ रुपैया बराबरको बजेटबाट प्रमुख प्रशासकीय भवन, अवासीय भवन र क्याण्टिन निर्माण हुने इन्जिनियर सागर आचार्यले बताउनुभयो । करिब दुइ रोपनी जमिनमा निर्माण हुने भवनमा ३२ वटा कोठा, एकवटा सभाहल र दुइवटा बैठक हल बन्ने छ । भवन साढे दुइ तलाको निर्माण हुने उहाँले बताउनुभयो ।

श्यामसुन्दर निर्माण सेवा कम्पनी काठमाण्डौसंग भवन निर्माण गर्ने सम्झौता भएको छ । गएको असार ३० गते भएको सम्झौतामा १५ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

तोकिएको समयभन्दा अगावै भवन निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि यामप्रसाद पाण्डेले प्रतिवद्धता गर्नुभयो ।

कार्यक्रमको संचालन कालिगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: