जनताकाे पसिनामा आश्वासनको वर्षा !

meropati

काठमाडौं, ८ भदौ  । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायत धान खेतमा बनाइएको मञ्चमा देखिने एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ ।स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेका थिए । त्यही तस्वीरलाई लिएर थापाको आलोचना भइरहेको छ ।

राहत र पुनर्वासको आश्वासनको वर्षा



सिन्धुपाल्चोकको जुरेमा २०७१ सालमा १४५ जनाको ज्यान जाने गरी गएको पहिरोदेखि हालसम्म हरेकपटक विपद् लगत्तै आकाशमा महिना दिनसम्म हेलिकप्टर उडिरहेको सिन्धुपाल्चोकवासीको अनुभव छ । राहत र पुनर्वासको आश्वासन पनि हरेक वर्ष दिने गरिन्छ ।

यो वर्ष जुगलमा गएको पहिरोले पनि नेताहरूको हेलिकप्टरबाट हुने दौडधुप राजनीतिक स्टन्ट मात्र भएको पुष्टि गरिदिएको छ । किनकि जुगल गाउँपालिका-२, लिदीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम न्यूनीकरण गरेर मात्र बस्ती बसाल्नुपर्ने गाउँको सूचीमा राखेको थियो ।

प्राधिकरणका अधिकारीहरूका अनुसार बस्तीलाई पहिरोबाट जोगाउन केही संरचना बनाउनुपर्ने थियो । तर भूकम्प गएको ५ वर्षसम्म बस्तीलाई जोगाउन कसैले पहल गरेनन् । फलतः यो वर्ष लिदीले ठूलो मानवीय क्षति व्यहोर्नुपर्‍यो ।

लिदीको पहिरो प्रकरणले पनि जोखिमको सूचीमा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने योजना कार्यान्वयनभन्दा नेताहरू अप्रिय घटना भएपछि राहत र आश्वासन दिन मात्रै सक्रिय हुने यथार्थलाई प्रस्तुत गरेको छ ।

यो वर्ष जुगल गाउँपालिका पुगेका गृहमन्त्री थापाले पहिलेको जस्तै आश्वासन दोहोर्‍याए । उनले वडा क्षेत्र नै जोखिममा छ भन्ने आकलन पहिलेदेखि कै रहेको कुरा समेत दोहोर्‍याए । उनले भने, ‘अझै ठूलो क्षति हुन सक्छ भन्ने अनुमान थियो । पूर्वसावधानीले धेरै हुन पाएन ।’ भने, ‘गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष, सेना, प्रहरी सबै छौं, राहत लिएर गएका छौं, स्थानीयको बाली बिगार्ने भन्ने त कुरै आउँदैन ।’

तर सीमित राहत बाँड्नका लागि हेलिकोप्टर चढेर असीमित रकम स्वाहा पार्ने यो तरिका संघीयताको मर्मअनुसार नभई पहिलेकै सामन्ती केन्द्रीकृत मानसिकताको उपज त होइन ? केन्द्र सरकारको यस्तो कार्यशैली ‘चारआनाको ‘मूर्गा’लाई बाह्रआनाको मसला’ भनेजस्तै भएन र ? यसमा बहसको खाँचो देखिएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: