जमिन भासिँदा अर्घाखाँचीको शीतगंगाका ३०० घर जोखिममा

meropati

१३ असोज, बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई वटा वडामा जमिन भासिँदा तीन सय घर जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्वर ११ को ढुंगेशेरा र वडा नं. १२ को कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेका जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको हो ।

‘जनप्रतिनिधि र  सुरक्षा निकायले स्थलगत अध्ययन गरेपछि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले दुई वटा वडाका तीन सय घर पहिरोको जोखिममा परेका ठहर गरेको छ,’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘बैठकले जोखिममा परेका परिवारको सुरक्षित स्थानमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।’यस्तै  वडा नम्वर ११ को ढुंगेशेरा क्षेत्रमा जमिन भासिँदा ११ घर पहिरोको उच्च जोखिममा रहेका र झण्डै २ सय घर पहिरोको जोखिममा परेका वडा अध्यक्ष कपिल आलेले बताए ।



दुवै वडामा घर, गोठ भत्किएर अन्नपात, पशु चौपायासहित ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलन गर्ने काम अझै नसकिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समितिसमेत बनाइएको उनले बताए । घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न उपयुक्त ठाउँको खोजी गर्न नगर प्रमुख अधिकारीको संयोजकत्वमा अर्को समिति पनि गठन भएको छ । उक्त स्थानमा तीन–चार वर्षअघिदेखि जमिन धाँजा परेको थियो । स्थानीयले धाँजा पुर्दै खेती गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: