बलात्कारका घटनामा थप कडा कानून निर्माण गर्नुपर्ने अवस्था रहेको गृहमन्त्री थापाको बुझाइ

meropati

काठमाडौं ,१४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन् । संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधीलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका हुन् । घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे । थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि उनले स्पष्ट पारे । सम्झानाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उनले जानकारी दिए ।

मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६÷७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताए । पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानूलाई अझ कडाई गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताए । उनले भने, ‘‘झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ ।’’



उनले भने, ‘‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रुपमा अनुसन्धान भइरहेको छ । प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौँ । घटनाको अहिले रिभ्यू गरिरहेको अवस्थामा छौँ । त्यो केसमा यातना दिएको भनेर प्रहरीलाई सामान्य जिल्ला अदालतबाट यातना नदिएको भनेर सफाइ दिएको अवस्था छ । त्यो सफाइले अलिकति तत्कालिन अवस्थामा हामीले गरेको अनुसन्धानमा त्यो कुरा होइन भन्ने कुरा अदालतले स्वीकार गरेको भएर विगतको कुरा सही थियो भन्ने भयो । त्यसलाई छिट्टै टुंगोमा पु¥याउने गरी काम भइरहेको छ । निर्मला प्रकरणले नेपाल प्रहरीको इमेजको गतिमा योगदान भन्ने की के भन्ने जुन गरेको थियो, त्यो धब्बा थियो । यो घटनामा हामीले पनि पार लगाउन नसके सदाका लागि धब्बा हुनेछ भन्नेमा सचेत रहेका छौँ । छिटो निष्कर्षमा पुग्ने गरी काम गरिरहेका छौँ ।’’

उनले पछिल्लो समय बालिकामाथि हुने यौन दुर्व्यवहारका घटना बढिरहेको बताएका छन् । बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि उनले बताए । बोहराले गत साउनमा पनि बलात्कार गरेको घटना बाहिर आएकाले अहिले दुईवटा बलात्कार र एउटा कर्तव्य ज्यान अभियोगमा मुद्धा दायर गरी अनुसन्धान भइरहेको उनले बताए । पहिलेको घटनालाई मिलापत्र गराउनेहरुलाई समेत प्रतिवादीको रुपमा लैजाने तयारी भइरहेको उनले बताए । ‘‘सम्झना कामीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिले अपराध स्विकारेको अवस्था छ । पहिलेको  मिलापत्रमा गरेकालाई पनि प्रतिवादी बनाउने गरी मुद्धामा लैजाने तयारी गरेका छौँ । मिलापत्रमा पीडितको दाजु पनि बसेको हुनाले अहिलेको अवस्थामा जाहेरवाला हुने र पछि प्रतिवादीको रुपमा लैजाने गरी अगाडी बढ्दै छौँ ।’’

सप्तरीको घटनामा पनि पञ्चायती गरेर पीडितलाई सजाय गरेको अवस्था रहेको देखिएको छ । त्यो पीडता सहन नसकेर उसले आत्महत्या गरेको भन्ने प्रहरी अनुसन्धानले देखाएको उनले बताए ।  रोकथामका लागि प्रहरीले आफ्नो तर्फबाट कार्यक्रम गरिरहेको उनले बताए । समाजले फौजदारी अभियोगमा मिलपत्र गर्ने पराम्पराले यस्ता घटनाहरुलाई मलजल गरेको बुझाइ प्रहरीको रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: