सावधान ! थाहा नपाइ हुनसक्छ ‘डिप्रेशन’

meropati

डिप्रेशनको उपचार के हो ?

काठमाडौं , असोज १८ । यो एक प्रकारको रोग हो र यसको उपचार पनि छ । डिप्रेशन रोगको उपचार पद्धति दुई प्रकारको हुन्छ । एउटा मनोवैज्ञानिक उपचार । यसलाई साइकोथेरापी भनिन्छ । अर्को, औषधि उपचार, जसलाई फर्माकोथेरापी भनिन्छ ।सामान्य खालको वा भर्खरभर्खर देखिन सुरु भएको डिप्रेशनका लक्षणहरू जस्तै, सामान्य रुपमा मानिसलाई निराशाको अनुभूति हुन थाल्यो, धेरै थाक्न लाग्न थालेको लामो समय भएको छैन वा पेशा व्यवसायमा समस्या परेको छैन भने यो सुरुवाती अवस्थामा मनोपरामर्शले ठिक भएर पुरानो अवस्थामा फर्किन सकिन्छ ।



तर डिप्रेशनका लक्षणहरूले च्यापेर सामाजिक सम्बन्ध, काम–पेशामा असर पर्न थाल्यो, व्यक्तिको जीवनस्तरमा समस्या पर्न थाल्यो भने औषधि उपचारको आवश्यकता पर्छ । केही महिना उपचार पाएको खण्डमा पूर्ण रुपमा निरोगी भएर डिप्रेशनबाट पार पाउन सकिन्छ । यस्तै अलि कडा खालको डिप्रेशन लागेको छ भने औषधि उपचारसँगसँगै व्यक्तिको शरीरमा आउने परिवर्तनहरूलाई न्युट्रेसन र अन्य उपचारको पनि जरुरी पर्नुका साथै मनोपरामर्श उपचार पद्धतिलाई पनि सँगै लैजानुपर्छ । उपचार गरेपछि मानसिक रोग निको हुने भएकाले उपचारको दायरामा आउन कोही पनि हिच्किचाउन हुँदैन ।

डिप्रेशनका लक्षणहरू

–दुई हप्ताभन्दा बढी समयसम्म दैनिकजसो हरेक समय मनमा निराशा, दिक्दारी छाउने, रमाउन छाड्ने ।

–कम काम गर्दा बढी थकाइ लाग्ने ।

–भोकमा गडबड हुने ।

–निद्रामा गढबड हुने ।

–वरिपरिको वातावरण आफ्नो पक्षमा नहुँदा निराश हुने ।

–मेरो जीवन व्यर्थको हो, जीवन समाप्त भए राम्रै हुने थियो, म समुदाय र परिवारको लागि बोझ भएँ भन्ने भावना मनमा आइरहनु ।

–डिप्रेशनले धेरै गाँजेपछि व्यक्तिमा आत्महत्या गर्ने सोच आउनु, आत्महत्याको उपायहरू सोचेर आफुलाई समाप्त गर्ने सम्भावनासम्म रहन्छ ।

–बिरामी थला पर्ने, शारीरिक शक्ति नहुने अवस्था समेत सिर्जना हुन सक्छ ।

–कहिलेकाहीँ बिरामीमा विक्षित अवस्था आउँदा अस्वाभाविक व्यवहारहरू देखाउने गर्छन् ।

डिप्रेशन हुने कारणहरू

यो–यो समस्या हुँदा मानिसलाई डिप्रेशन हुन्छ भन्न सकिँदैन । डिप्रेशनलाई बाहिर ल्याउने केही तत्वहरू छन् । जस्तै–

जैविक कारण— जैविक कारण भन्नाले कुनै व्यक्तिमा डिप्रेशन छ भने उसको भावी सन्तानहरूमा देखिने सम्भावना सामान्य मानिसको तुलनामा अलि बढी हुन्छ । यस्तै, कुनै कारणले मष्तिष्कमा हुने स्नायुतन्त्रिका सिग्नल तल–माथि गर्ने व्यालेन्स बिग्रियो भने पनि समस्या देखिन्छ । स्नायुतन्त्रिका तल–माथि हुनुको कारण कुनै मादकपदार्थ सेवन, कुनै औषधिको साइडइफेक्ट वा अन्य कारणले डिप्रेशनको लक्षण देखिन सक्छ ।

मनोवैज्ञानिक कारण— मनोवैज्ञानिक कारण भन्नुपर्दा व्यक्तिको सहन गर्ने क्षमता, वातावरण पर्यावरणमा आफुलाई हेर्ने दृष्टिकोणले केही प्रभाव पारेका हुन्छन् ।

सामाजिक कारण— बाह्य कारणले गर्दा पनि डिप्रेशनको समस्या देखिन सक्छ । जस्तै, हामीले भोगिराखेको कोरोनाको सन्त्रास, कोरोनासँग जुध्नुपर्दा आर्थिक, सामाजिक  क्रियाकलाप न्यून रुपमा परिचालित भएको अवस्था, कोरोना महामारीको कारण घरभित्रै सीमित हुँदा डिप्रेशनमा जान सक्ने सम्भावना रहन्छ ।

डिप्रेशनका बारेका भ्रमहरू यस्ता छन्

भ्रम नम्बर १ः समाजमा डिप्रेशन कमजोर मानसिकता भएकालाई लाग्छ भन्ने एक प्रकारको भ्रम छ । तर त्यो कुरा गलत हो । डिप्रेशन जोकोहीलाई हुन सक्छ । आत्मबल बलियो भएका मानिसहरूलाई पनि डिप्रेशनले सताउन सक्छ । जस्तै, हामीले चर्चित सेलिब्रेटीहरू समेत डिप्रेशनको शिकार भएको देखेका, सुनेका छौं । राजनीतिक नेताहरू समेत यस रोगको शिकार भएको देखेका छौं । त्यसैले जोसुकै व्यक्ति यस रोगको शिकार हुन सकिन्छ । यसले कसैलाई पनि छाड्दैन । यो रोग देखिनेबित्तिकै मनोपरामर्श तथा उपचारको दायरामा आउन जरुरी छ ।

नम्बरभ्रम  २ : डिप्रेशन पूर्वजन्मको पाप भन्ने गलत धारणा छ । तर डिप्रेशन अरु रोगहरू जस्तै एउटा रोग हो । यसको उपचार गरेपछि यो निको हुन्छ ।

साभर:   रातोपाटी

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: