पाल्पा, ११ मंसिर । पाल्पामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । १६ दिनसम्म विविध कार्यक्रम गरी यो अभियान संचालन हुने छ । जिल्ला समन्वय समिति र सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको संयुक्त आयोजनामा बुधबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी यसको शुभारम्भ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य नारायाणी शर्मा घिमिरेले अझैपनि नेतृत्वदायी भूमिकामा महिला पुग्न नसकेको बताउनुभयो । कार्यकारी अधिकारसहितको भूमिका दिए महिलामाथि हुने विभेद र हिंसा न्यूनीकरणको लागि टेवा पुग्ने उहाँले बताउनुभयो । महिला हिंसा आपराधिक घटना हो । यो समाजको कलंक हो । सबै मिलेर यसको न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । बनेको कानुनलाई प्रभावकारी कार्यान्यवन गरेर पीडकलाई कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिनु पर्नेमा शर्माले जोड दिइन्।
तानसेन नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक लक्ष्मीदेवी पाठकले लैङ्गिक हिंसा न्यूनीकरण चूनौती रहेको बताइन्। जनप्रतिनिधि नै भएर काम गर्दा पनि यो वा त्यो वहानामा महिलालाई विभेद हुन्छ उहाँले भन्नुभयो अझै अधिकारबारे बेखबर तल्लोस्तरमा बसेर काम गर्ने महिलाको अवस्था कस्तो होला?
रिब्दीकोट गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले हिंसामा परेका महिला न्यायको लागि घर बाहिर निस्कदा सुरक्षित हुने अवस्था नभएको बताउनुभयो । गरिब तथा विपन्न पीडित महिलालाई अप्ठ्यारो पर्दा सहयोग गर्न रिब्दीकोट गाउँपालिकाले लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा तिनाउ गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा, निस्दी गाउँपालिका उपाध्यक्ष रीता कुमारी खनाल अर्याल, रम्भा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापा, माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराइ, मेची महाकाली बुहारी संयुक्त आवाज पाल्पाका अध्यक्ष शान्ता सोमै घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देवीराम भण्डारी, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले १६ दिने अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुएभको थियो ।
जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक प्रमुख मिरा मरासिनीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख लक्ष्मण ज्ञवालीले गर्नुभएको थियो ।
१६ दिने अभियानमा महिला पुरुष सहभागी गराइ संयुक्त कार्यक्रम आयोजना गर्ने, महोत्तरीको बालिका बलत्कार गरी हत्या भएको घटनाका दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरिएको थियो ।
प्रतिकृया दिनुहोस