पाल्पा, २२ मंसिर । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ पाल्पाले महिला हिंसा विरुद्ध ज्ञापन पत्र सरकार समक्ष पेस गरेको छ । आइतबार पाल्पाका प्रमुख जिल्ला अधिकारी मार्फत १५ बुँदे ज्ञपानपत्र पेस गरेको हो ।
महिला हिंसाका मुद्दालाई फास्ट ट्रयाकबाट कोर्टमार्फत फैसला गर्ने व्यवस्था मिलाउनु पर्ने माग गरेको छ। संघका अध्यक्ष उमा सिंजालीले हस्ताक्षर गरी पेस गरिएको ज्ञापनपत्र मार्फत महिला हिंसाका घटनालाई फैसला गर्न पारिवारिक अदालतको गठन गर्नुपर्ने र त्यसमा महिला न्यायाधीशको व्यवस्था हुनुपर्ने माग गरिएको छ।
यस्तै हिंसामा संलग्न अपराधीलाई कडा भन्दा कडा सजाय हुनुुपर्ने, पीडितलाई उचित क्षतिपूर्ती र छिटो न्याय दिलाउनुपर्ने, महिला हिंसाका घटनलाई दर्ता गर्ने वा नगर्ने भन्ने प्रहरी प्रशासनको स्वविवेकीय अधिकारको अन्त्य गरी घटनालाई दर्ता गर्ने बाध्यकारी कानुन ल्याउनुपर्ने माग गरिएको छ ।
पीडितलाई कुनै प्रलोभन वा दवावमा पारी मेलमिलाप गराउनेमाथि कानुनी कारबाही हुनुपर्ने, निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्ने अपराधीलाई छिटो भन्दा छिटो कारबाही गर्नुपर्ने, बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने, बालबिवाहको अन्त्य हुनुपर्ने, बोक्सी छाउपडी दाइजोजस्ता कुसंस्कारको अन्त्य हुनुपर्ने, लैंगिक हिंसाको अन्त्य हुनुपर्ने, महिला हिंसार र प्रजनन स्वास्थ्यसम्बन्धी विषयहरु पठ्यक्रममा समावेश गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने महिलालाई तालिम, विमा र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, जातीय छुवाछुतको अन्त्य हुनपर्ने, महिलामाथि एसिड प्रहार गर्ने अपराधीविरुद्ध गरिएको कडा कानुनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, महिलाको पक्षमा भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु कार्यान्वय हुनुपर्ने लगायतका मागसहित ज्ञापन पत्र बुझाइएको संघका केन्द्रीय सदस्य नरमति सिंजालीले बताउनुभयो ।
महिला हिंसाविरुद्ध संघ जहिले पनि लडिरहने उहाँले बताउनुभयो । ज्ञपानपज्ञ बुझ्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले महिला हिंसाका विरुद्ध आफूपनि हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले पीडकलाई कारबाही र पीडितलाई न्याय दिनको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । संघका अध्यक्ष उमा सिंजालीको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा राष्ट्रिय जनमोर्चाका पाल्पाका अध्यक्ष विशाल दर्लामी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस