बारिचौर–मन्द्रान झोलुङ्गे पुलको सिलान्यास, स्याङ्जामा नै अग्लो पुल बन्ने

meropati

मिलन विश्वकर्मा
पाल्पा, ५ पुस । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने झोलुङ्गे पुलको सिलान्यास भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका ३ बारिचौर र पाल्पाको बगनाशकाली गाउँपालिका ६ मन्द्रानस्थित कालिगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको हो । कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले एक कार्यक्रमकाबीच शनिबार पुलको सिलान्यास गरेका छन् ।

दुइ प्रदेश जोड्ने यो पुलले स्याङ्जा र पाल्पाको विगतको व्यापारिक सम्बन्धलाई अझै मजवुत बनाउने थापाले बताउनुभयो । जिल्लाको विकट कालिगण्डकी गाउँपालिका भित्रका पनि विकट वडा तथा टोलमा विकासलाई प्राथमिकता दिएको उहाँले दावी गर्नुभयो । सडक वा पुलको सञ्जालबाट यस क्षेत्रको विकास हुने छ। गन्तव्यको अन्तिम विन्दुका रुपमा रहेका बस्तीलाई सडक र पुल निर्माण गरेर केन्द्रको रूपमा स्थापित गर्ने योजनाका साथ काम भइरहेको उहाँले बताउनुभयो । अबको केही दिनमा कालिगण्डकी गाउँपालिकाको बराचौर–गुल्मीको हर्मिचौर र मिर्मीको बारिचौर देखि निवुवाखर्क जोड्ने झोलुङ्गे पुल निर्माण कार्यको थालनी हुने उनले सुनाउनुभयो । ‘सबै ठाउँ सुगम बनाउने लक्ष्यका साथ काम गरिहेका छौं’ उहाँले भन्नुभयो ‘यो आर्थिक वर्षमा गाउपालिका भित्र ३८ किलोमिटर सडकमा पीच गर्ने काम सम्पन्न हुने छ ।’



यो पुल निर्माण भएपछि दुई प्रदेश मात्रै नभइ यहाँका मानिसको भावना जोडिने उपाध्यक्ष साबीत्रा कोइरालाले बताउनुभयो । यहाँको बजार पाल्पाको तानसेन भएकाले यो पुलबाट आउन जान छिटो छरितो हुने उहाँको भनाई छ।

वडा नम्बर ३ वडाध्यक्ष रामबहादुर आलेले विकासको लागि स्थानीय उपभोक्ता जागरुप हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा कालिगण्डकी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर लामिछानेले यहाँका विभिन्न टोलको विकासका लागि झोलुङ्गे पुलले महत्व राख्ने बताउनुभयो । नदी किनारका बस्तीमा पुल निर्माण भएपछि केन्द्र र व्यापारिक नाका बन्न सक्ने उहाँले बताउनुभयो । राष्ट्रिय जनमुक्तिका खडक झेडीमगरले कालिगण्डकी गाउँपालिकामा विकासले फड्को मारेको बताउनुभयो । जुनसुकै राजनीतिक दलले पनि दलीय स्वाथ्र्य त्यागेर स्थानीय सरकारले गरेका विकासका सकारात्मक काममा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले यो पुल यस क्षेत्रको ऐतिहासिक र कृतिमानी बन्ने दावी गर्नुभयो । गाउँपालिका भित्रको गौरव गर्ने लायकको योजनाअन्तर्गत यो पुल रहेको उहाँले बताउनुभयो । पुल अनुगमन समितिका सदस्य तथा बगनासकाली गाउँपालिकाका स्थानीय टंकनाथ न्यौपानेले स्थानीय उत्पादनको व्यापारमा यो पुलले सहयोग पुग्ने बताउनुभयो । यो पुलबाट स्याङ्जाको पश्चिम क्षेत्र र पाल्पाको उत्तरी क्षेत्रका मानिसहरू लाभान्वीत हुने छन् ।

यो पुल यस भेगमा अहिलेसम्मकै सबैभन्दा अग्लो निर्माण हुने दावी गरिएको छ । पुल निर्माणको लागि दुई करोड ६७ लाख २५ हजार ७७० रुपैयाँ लागत अनुमान गरिएको छ । ठेकेदार कम्पनीसँग भने १ करोड ८६ लाख ४५ हजारमा सम्झौता भएको कालिगण्डकी गाउँपालिकाका प्राविधिक पूर्ण रानाले बताउनुभयो । उहाँकाअनुसार संघीय सरकार र कालिगण्डकी गाउँपालिको सहकार्यमा पुल निर्माण हुने भएको हो ।पुलको लठ्ठा बनाउनको लागि ८० लाख पुल क्षेत्र विकास कार्यक्रम पोखराले सहयोग गर्ने उहाँले बताउनुभयो । पुलको उचाइ ९२.०९ मिटर हुनेछ। ३४२ मिटर लामो पुल १.४ मिटर फराकिलो हुनेछ। पुल डि आकारको निर्माण हुने यस पुल बनाउने जिम्मेवारी श्री गीता कण्ट्रक्सन कम्पनी सेखाम स्याङ्जाले लिएको छ । गत असार ९ गते ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य आगामी असार ९ गते सम्पन्न हुने सम्झौतामा उल्लेख रहेको रानाले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन अनुगमन समितिका सदस्य गोकुल रानाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *