ओली कम्युनिष्टभित्र लुकेका गोमन सर्प : शर्मा

खबर खुराक

पुस १८ ,मोरङ — नेकपाका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओली कम्युनिष्टभित्र लुकेर बसेको गोमन सर्प भएकाले आफैंले डसेर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

दाहाल–नेपाल समूहले विराटनगरमा शनिबार गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरी ७२ वर्षको लामो कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पारेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको असंवैधानिक संसद् विघटनले ७२ वर्षको लामो कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू कम्युनिष्टभित्र लुकेर बसेको गोमन सर्प भएकोले आफैंले डसेर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेका तर संसद् विघटनले कम्युनिष्ट आन्दोलन नभई ओली समाप्त भएका छन् ।’



शर्माले कम्युनिष्ट पार्टी एकताको औचित्य समाप्त नभएको बताए । समाजवाद अर्थतन्त्र निर्माण गर्न, आत्मनिर्भर र स्वाधिन राष्ट्र निर्माणका लागि एकताबद्ध ठूलो पार्टी अहिले पनि आवश्यक रहेको उनको भनाइ थियो । अहिले मुलुकमा क्रान्ति र प्रतिक्रान्तिविरुद्धको लडाइँ सुरु भएको शर्माको भनाइ थियो । ‘प्रधानमन्त्रीज्यूले चालेको असंवैधानिक कदमको अपराध क्षम्य हुँदैन,’ उनले भने, ‘प्रतिगमनविरुद्ध र कम्युनिष्ट आन्दोलन कसरी अघि बढाउने भन्ने गहन जिम्मेवारी आएको छ । त्यो हामी सबैले इमान्दारिताका साथ पूरा गर्नुपर्छ ।’

नेकपाको ३ सय ४५ केन्द्रीय सदस्यमध्ये ३ सय १ जना हस्ताक्षर गरेर नेकपाको आधिकारिकता र सूर्य चिन्ह प्राप्त भइसकेकाले अरु कसैसँग मागेर लिने कुरा नभएको शर्माले बताए । मुलुकमा राजनीतिक स्थिरता कायम गर्न दुई तिहाइको समर्थन दिएका जनता अहिले रिसाइरहेकाले घर घरमा गएर माफी माग्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

यस्तै, दाहाल-नेपाल समूहका नेता युवराज ज्ञवालीले संसद् विघटन देशी र विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’मा भएको बताए ।ओलीले चार महिनामात्रै प्रधानमन्त्री बन्नका लागि नभई लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र कम्युनिष्ट आन्दोलन समाप्त पार्न संसद् विघटन गरेको उनले बताएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *