मेरूदण्डका बिरामी पोमबहादुरलाई साउदी अरबबाट सहयोग

meropati

मिलन विश्वकर्मा
पाल्पा, २४ पुस । ढाड मूनिको भाग नचलेर थला परेका तानसेन नगरपालिका–६ लामडाँडाका ५१ वर्षीय पोमबहादुर विश्वकर्मालाई थप सहयोग जुटेको छ ।

‘उपचार गर्ने पैसा छैन्, मालिकले घर छाड्न भने, परिवारकै विचल्ली’ शीर्षकमा थाहा खबरमा प्रकाशित भएको समाचार पढेर साउदी अरबसहित विभिन्न देशमा रहेका नेपालीहरूले सहयोग गरेका हुन् । उनीहरूले १ लाख ५६ हजार ९ सय १८ रुपैयाँ नगद सहयोग गरेका हुन् । बुधबार एक कार्यक्रमकाबीच तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले बिरामी पोम बहादुरको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।



साउदी अरबमा स्थापना गरिएको प्रवासी हातेमालो युवा समूह तानसेन नगरपालिका–६ कुन्सरमा आवद्ध युवाले अभियान नै संचालन गरेर सहयोग रकम जुटाएका थिए । सिर्जनशील समूह कुन्सरे र कुन्सरे गाउँ सेवा समाज दोहा कतारले यो अभियानमा साथ दिएको प्रवासी हातेमालो युवा समूह अध्यक्ष मानबहादुर सिंजालीले बताउनुभयो उहाँकाअनुसार आफूहरुले गरेको अपिलमा रोजगारका सिलसिलामा विभिन्न देशमा रहेका नेपाली तथा विदेश यूवाले आर्थिक सहयोग गरेका हुन् । आर्थिक अवस्था न्यून भएको पोमबहादुरको पीडामा मलम पट्टी लगाउन सक्दो प्रयास गरेको सिंजालीले बताउनुभयो ।

सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख शाहीले विदेशी भूमिमा रहेका नेपालीले गाउँघरको दुखमा देखाएको सदासयता सराहनीय भएको बताउनुभयो । समाजमा अझैपनि मानवीयता जीवित रहेको सप्रमाण यही सहयोग भएको उहाँले बताउनुभयो । यूवासँग हातेमालो गरेर गरिब तथा विपन्न परिवारको लागि स्थानीय सरकारले सहयोग गर्ने शाहीले बताउनुभयो । पोमबहादुरको घर निर्माण गर्नको लागि नगरपालिकाले घडेरीको व्यवस्था मिलाइदिने छ । उहाँले साना छोराछोरीलाई परिवारको सल्लाहअनुसार बजारमा रहेको राम्रो मध्यको कुनै एक विद्यालयमा निशुल्कः खान र बस्न मिल्ने गरी पढने व्यवस्था मिलाउने आश्वासन दिनुभयो ।

विचल्लीमा परेको पामबहादुरलाई अझै पनि सहयोग गर्न वडाअध्यक्ष सागरमान महर्जनले अपिल गर्नुभयो ।

यसअघि स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ बिर्घास्थित घरबारी भन्नेठाउँमा घर भइ हाल अमेरीकाको टेनेसी बस्दै आएका मोहन पाण्डेयले नगद ३४ हजार सहयोग गर्नुभएको थियो ।

विगत २ वर्षदेखि बिस्तारमा मुढाजस्तै पल्टिरहेका पोमबहादुरको दिशा पिसाबसमेत पाइपबाट गर्नु परेको छ । श्रीमती पूर्णकुमारीले उहाँको रेखदेख गर्दै अउनुभएको छ । मेलापातमा हिड्न समेत नपाएकी पूर्णकुमारीलाई बिरामी श्रीमानसहित ४ जना साना छोराछोरी पाल्न समस्या परेको छ । अर्काको जमिनमा सानो छाप्रो बनाएर बस्दै आएका उनको परिवारलाई जमिनका मालिकले घर छाडेर जान दबाब दिइरहेको पूर्णकुमारीले बताउनुभयो ।

छिमेकीको घरमा दाउराको लागि रुखका हाँगा काट्नेक्रममा उनी २ वर्षअघि लडेर घाइते हुनु भएको थियो । पोमबहादुरको ढाडको मेरूदण्ड भाँचिएको छ । अहिले ढाडबाट मूनिको भाग नै चल्दैन् । अण्डकोष पनि काटेर फालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *