पाल्पाका दलित महिलालाई तरकारी खेती सम्बन्धि तालिम

meropati

पाल्पा, ६ माघ । जिल्लाको तानसेन नगरपालिका १२ बौघापोखराथोकमा तरकारी खेतीसम्बसन्धि तालिम सम्पन्न भएको छ । दलित महिला संघ पाल्पाको आयोजना तथा करूणा जर्मनीको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको थियो । एक हप्तासम्म चलेको तालिममा दलित र सीमान्तकृत समुदायका २५ जना महिलाहरूको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १२ का वडाध्यक्ष देवेन्द्र बहादुर रानाले आर्थिकरूपमा विपन्न महिलालाई तालिम दिएकोप्रति आयोजक संस्थालाई धन्यवाद दिनुभयो । उहाँले स्थानीय सरकारले कृषिलाई प्रथामिकता दिएर बजेट तथा कार्यक्रम तय गरेको बताउनुभयो । व्यवसायिक तरकारी खेती गर्न इच्छुक किसानलाई आर्थिक, भौतिक तथा विभिन्न सीपमूलक तालिम दिने उहाँले बताउनुभयो । रक्सी बेच्दै आएका यहाँका मानिसले पछिल्लो समयमा दुध बेचरे जिविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । वडालाई तरकारीमा आत्मनिर्भर बनाउने गरी उत्पादन गर्न रानाले आग्रह गर्नुभयो ।



नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्माले निर्वाहमूखी नभइ व्यवसायिक खेती गर्न सुझाउनु भयो । प्रशिक्षक विष्णु विक र लुम्बिनी महिला समुहका अध्यक्ष विष्णु थापाले तालिममा सिकेका कुरा व्यावहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

जिविकोपार्जन संयोजक साबित्री विकले दलित तथा सीमान्तकृत समुदायको महिलालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले सीपमूलक तालिम संचालन गरेको बताउनुभयो । आमाको गोजीमा पैसा भए छोराछोरीले राम्रोसँग पढ्न पाउने उहाँको ठम्याइ छ । ‘कम्तिमा एउटी छोरीको पढाइ खर्च जुटाउन आमाले कसैसँग हात फैलाउन नपारोस्’ उहाँले भन्नुभयो ‘घरायसी कामसँगै तरकारी उत्पादन गर्न सके आर्थिक रुपमा बलियो हुन सक्नेछन् ।’ तालिममा सिकेको सीपलाई जीवन व्यावहारमा जोड्न सके पढाइमा लगानी गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

तालिममा सहभागीलाई बिउ आलु, तरकारीमा पानी हाल्ने हजारी लगायतका कृषि समाग्री प्रदान गरिएको थियो । व्यवसायिक तरकारी खेती गर्ने उनीहरूलाई करिब एक वर्षसम्म संस्थाले आवश्यक सहयोग गर्ने बिकले बताउनुभयो ।

तालिममा सहभागी ममता सुनारले आफूले पहिलो पटक तालिम पाएको बताउनुभयो । यहाँबाट सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्ने बताउनुभयो ।

दलित महिला संघ पाल्पाका अध्यक्ष शान्ति गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तुलसी प्रिथिले सञ्चालन गर्नुभएको थियो । तालिममा आधुनिक तरिकाले व्यवसायिक तरकारी खेती गर्ने उपायबारे सहजीकरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: