कोरोना भाइरस विरुद्धको खोप आज काठमाडौं ल्याईदै

खोप आज बिहान ११ बजे आई पुग्ने

खबर खुराक

काठमाडौ, ८ माघ
भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ११ बजे एयर इन्डियाको विमानबाट कोरोना विरुद्धको पहिलो खोप आउने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई खोप हस्तान्तरण गरिने छ । विमान स्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।



स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ । १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने योजना मन्त्रालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *