किशोरकिशोरीलाई आपराधिक क्रियाकलापमा लाग्न नदिन सचेत रहौ

meropati

आपराधिक क्रियाकलापमा किशोरकिशोरीको संलग्नता बढ्दो छ । हाम्रो समाजको रीतिरिवाज, परम्पराहरु पछिल्लो समय फेरिँदो क्रममा छ । किशोरकिशोरी तथा बालबालिका खराब क्रियाकलापमा संलग्न हुनुमा हाम्रो सामाजिक तथा राजनीतिक परिवेशले पनि फरक पार्छ । परिवार र समाजले, बालबालिकाले कस्तो क्रियाकलाप गर्दैछन् भन्ने कुराको ख्याल गर्नुपर्छ ।

हाम्रो मूल्य मान्यता, सामाजिक परिवेश, परिवर्तन हुँदै गएकाले मानिसहरु मेकानिकल भएका छन् । एकले अर्कोको समस्यामा सहयोग गर्ने, साथ दिने कुराहरु छोडिएको छ । यस्ता क्रियाकलापहरू न हामीले बालबालिकालाई सिकाउन सकेका छौँ,  न हामीले गर्न नै सकेका छौँ । यी कुराहरुले पनि बालबालिका आपराधिक क्रियाकलापतर्फ उन्मुख भएका हुन् ।



बालबालिकाले एकैपटक ठूलो गल्ती गर्ने होइनन् । बलात्कार, बलात्कारपछिको हत्या, चोरी गरेर प्रहरीले पक्राउ गर्ने अवस्था आउनुभन्दा पहिला नै उनीहरुमा गलत काम गर्ने प्रवृत्तिको विकास हुँदै गएको हुन्छ । यस्ता क्रियाकलापलाई अभिभावकले ध्यान दिएका हुँदैनन् ।  उनीहरुको उमेर बढ्दै जाँदा आपराधिक क्रियाकलाप पनि बढ्दै जान्छन् ।

उदाहरणका लागि नर्सरी पढ्ने बच्चाले साथीको किताब घरमा ल्यायो भने सुरुमा उसले चोर्ने मनसायले ल्याएको हुँदैन । राम्रो लागेर ल्याएको हुन सक्छ । घरमा ल्याएपछि परिवारले व्यक्त गर्ने प्रतिक्रियामा  उनीहरु कसरी अगाडि बढ्छन् भन्ने कुराको निर्क्यौल हुन्छ । परिवारका सदस्यले यस्तो गर्नु हुँदैन, अरुको सामान ल्याउनु हुँदैन भनेर सम्झाउन सकेन भने उसले अर्को  दिन पनि किताब वा अरु सामान  ल्याउँछ । अनि बिस्तारै बानी पर्दै जान्छ  ।

तर हामीले बालबालिकाको व्यवहारलाई त्यति ध्यान दिएका हुँदैनौँ । मेरो बालबालिकाले के गरिरहेको छ, कस्तो व्यवहार गर्छ भन्ने बुझ्ने कोशिस नै गर्दैनौँ । अर्को कुरा भनेको हाम्रो व्यवहार कस्तो छ भन्ने कुराले पनि बालबालिका आपराधिक क्रियाकलापमा सहभागी हुने या नहुने कुरामा भर पर्छ ।

हामीले कसैसँग झगडा गर्यौं, प्रतिसाेध साँध्यौ भने बालबालिकाले ती कुरामा निगरानी गरिरहेका हुन्छन् र उनीहरुले पनि यस्तै सिक्छन् । उनीहरुमा पनि यस्तै भावनाको विकास हुँदै जान्छ । सुरुमा आमाबुबाले छोराछोरीको कुनै पनि कुरामा ध्यान नदिने अनि एकैपटक छोराछोरी गलत भए, कुलतमा लागे भनेर छटपटिन थाल्छन् ।

घरमा बालबालिकाको व्यवहार कस्तो छ, कति रिसाउँछ, कति खुसी हुन्छ, साथी संगत कस्तो छ, साथीभाइबीच कस्तो व्यवहार छ भन्ने कुराको हामीले पहिला ध्यान नदिँदा एकैपटक ठूलो आपराधिक क्रियाकलापमा सहभागी भएपछि हामीलाई छटपटी र गल्ती महशुस हुन थाल्छ ।

पछिल्लो समय बलात्कारका घटनाहरु धेरै हुने गरेका छन् । बलात्कारको घटना बढ्नुको कारण बालबालिकालाई हामीले बुझाउन नसकेर पनि हो । सानै उमेरदेखि आपराधिक घटना के हो, कुन गलत र कुन सही भन्ने छुट्याउन जान्ने बनाउनु पर्छ । यी सबै कुराहरु बुझाउन जरुरी छ ।

संवेगलाई नियन्त्रण गर्न सिकाउनुपर्छ ।  मेरो छोराछोरीले के गर्दै आएका छन्, आज के-के गरे भनेर खोजी गर्नुपर्छ । अहिलेका बुबाआमा धेरै व्यस्त हुने भएकाले उनीहरुलाई छोराछोरीको क्रियाकलाप नजिकबाट हेर्ने फुर्सद नै हुँदैन ।

व्यस्तताका कारण बालबालिकालाई होस्टलमा राखेर पढाउने प्रचलन पनि बढ्दै गएको छ । होस्टलमा बस्दा आमाबुबाको माया पाउँदैनन् । गलत काम गर्नबाट रोक्ने कोही हुँदैनन् । अनि एकैपटक एसईई दिइसकेर घर आउँदा ‘ए मेरो छोरो त  बिग्रेछ’, ‘ड्रग्स खान थालेछ’, ‘यसलाई सुधार गर्नुपर्यो’ भनेर बाबुआमा लागिपर्छन् । तर त्यतिबेला ढिला भइसकेको हुन्छ ।

बालबालिकालाई आफूसँग राखेर उनीहरुलाई चाहिने माया, ममता दिएर उनीहरुको व्यवहारलाई सच्याउँदै जान सकियो भने आपराधिक क्रियाकलापमा संलग्न हुनबाट जोगाउन सकिन्छ । बालबालिका गलत काममा लाग्न लागेको सङ्केत पाउनासाथ उनीहरुलाई सही बाटोमा ल्याउन प्रयास गरिहाल्नुपर्छ । यस्तो कुरामा पालिकाहरुको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

स्कुलका शिक्षकहरुलाई बालबालिकाको कसरी ध्यान दिने भन्ने विषयमा तालिम दिनुपर्छ ।  हरेक स्कुलमा मनोविद्हरु राख्ने, बेलाबेला परामर्शहरु दिने गर्नुपर्छ । समस्या देखिएमा तुरुन्तै सच्याउन पहल गर्नुपर्छ ।
स्कुलले सुधार्न नसकेको अवस्थामा अभिभावकलाई बोलाएर, बालबालिकालाई पनि सँगै राखेर यो कुरा गलत भइरहेको छ है भनेर सम्झाउनुपर्छ ।

८, ९ कक्षामा पुगेपछि केटाकेटीसँगै हिँड्छन् । त्यस्तो बेलामा विशेष ध्यान दिनुपर्छ । किशोर अवस्थामा पुग्दा झनै ध्यान दिनुपर्छ । कुनै पनि घटना हुनै नदिनु सबैभन्दा ठूलो कुरा हो । नेपालमा विशेषगरी, बलात्कारका एकपछि अर्को घटना निरन्तर घट्न थालेको छ । परिवार, समाज र सरकार चुकेका कारण यस्तो भइरहेको हो ।

निर्मला पन्तको हत्यारालाई बेलैमा सार्वजनिक गरेर सजाय दिन सकेको भए भागरथीको हत्या सायद दोहरिँदैन थियो होला । दोषीलाई कडा र  छिटो कारबाही नहुँदा पनि यस्ता घटनाहरु दोहोरिने गर्छन् किशोरकिशोरीले गर्ने व्यवहार नजिकबाट नियाल्नुपर्छ ।

कसैले गल्ती गर्दैछ भन्ने लागेमा  थाहा पाउने जोसुकैले घर, परिवारलाई जानकारी गराइदिनुपर्छ । आक्रोशित व्यवहार, रिसाउने तथा बदलाको भावना हुनु आपराधिक क्रियाकलापमा लाग्न लागेको सङ्केत भनेर बुझिन्छ ।

सुरुको अवस्थामा ती कुराहरु थाहा भएमा बिस्तारै निराकरण गर्दै लैजान सहयोग पुग्छ । कुनै बालबालिकाले त्यस्ता व्यवहार गरेका छन् भने त्यसलाई मजाकमा लिनु हुँदैन । सम्झाउने प्रयास गर्नुपर्छ । अहिले टोलटोलमा महिला समूहहरु रहेका छन् । महिला समूहमार्फत् पनि सचेत गर्न सकिन्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: