बगनासकाली बहुउद्देश्यीय सहकारीको भवन शिलान्यास

मिलन विश्वकर्मा

पाल्पा, ९ फागुन ।
बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भवनको आइतबार शिलान्यास गरिएको छ । बगनासकाली गाउँपालिका ८ बराङ्दीमा सामुदायिक भवन तथा कृषि उपज संकलन केन्द्रका लागि भवनको शिलान्यास गरिएको हो । पूर्वमन्त्री सोमप्रसाद पाण्डेले भवनको शिलान्यास गर्नुभएको छ । यस क्षेत्रमा कृषि र पशुपालको प्रवल संभावना रहेको उहाँले बताउनुभयो । सहकारीले यहाँका किसानलाई व्यावसायिक बनाउने गरी कार्यक्रम संचालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

जिल्लाको सदरमुकाम नजिक रहेको यहाँको उत्पादन बिक्रीका लागि बजारको समस्या हुँदैन्’ उहाँले भन्नुभयो ‘यस क्षेत्र कृषि र पशु पालन व्यवसायको लागि उत्तम ठाउँ हो।’ आयस्रोत बढाएर यहाँका मानिसलाई समृद्धि बनाउनु पर्छ । योजना बनाएर मात्रै हुँदैन काम गर्नुपर्छ । मुनाफा बाड्ने होइन । केही वर्षको मुनाफा कृषि क्षेत्रको बिस्तार गर्नुपर्ने पाण्डले बताउनुभयो । नेकपा नेता ठाकुर गैरेले मुलुकको आर्थिक विकास गर्न सरकारले तीन खम्बे अर्थनीतिको अवलम्बन गरेको बताउनुभयो ।



सरकारी, निजी क्षेत्र र सहकारीको माध्यमबाट मुलुकको आर्थिक विकास गर्ने गरी सरकारले कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो  यहाँका गरिब किसान र जनताको हितमा काम गर्न सहकारीलाई सुझाव दिनुभयो । यहाँका विभिन्न वडालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि सहकारीले लगानी गर्नुपर्नेमा गैरेले जोड दिनुभयो । कार्यक्रममा वडाध्यक्ष गणेश प्रसाद बश्याल, सहकारी संघ पाल्पाका सचिव भूपती पाण्डेले सहकारी गरिब जनताको साथी बन्नुपर्ने बताउनुभएको थियो ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मोतिलाल बश्यालले ३५ लाख लगानीमा भवन निर्माण हुन लागेको बताउनुभयो । संसद क्षेत्र विकास कोषबाट २० लाख, कृषि व्यवसाय प्रबद्र्धन सहयोग कार्यक्रम बाँके खजुराबाट १० लाख र ५ लाख सहकारीको लगानीमा भवन निर्माण हुन लागेको उहाँले बताउनुभयो । बश्यालका अनुसार अगामी तीन महिनामा भवनको काम सम्पन्न हुने छ ।

सामान्य बचत प्रक्रियाबाट सुरु भएको यस सहकारीले पछिल्लो समयमा रचनात्मक काम गर्न सफल भएको सहकारीका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । उहाँका अनुसार अन्य संघसंस्थासँग सहकार्य गरेर सहकारीका सदस्यलाई भैंसी खरिदको लागि अनुदान दिनुका साथै गोठ सुधारका लागि आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो । ‘५० वटा गोठ सुधार गरेका छौं’ उहाँले भन्नुभयो ‘केही दिनमा ५०५ वटा भैंसी खरिद गरेर किसानलाई अनुदानमा बितरण गर्ने तयारी भइरहेको छ ।

ढावखोलामा व्यावसायिक अकबरे खुर्सानी र कुरिलो खेती थालेका छौं । अदुवाको बीउ उत्पादन गर्ने तयारी गरेका छौं । सहुलियत दरमा बिना धितो कृषि कर्जा दिएर यहाँका युवालाई विभिन्न कृषि तथा पशुपालन व्यवसायमा जोडेको उहाँले बताउनुभयो। सचिव कमल तिमिल्सेनाले सहकारीले दैनीक २०० लिटर भैंसीको दुध बिक्री गर्दै आएको बताउनुभयो । उहाँले तानसेनमा दुध बिक्री गरेर मासिक ५ लाख आम्दानी गरेको बताउनुभयो । भवन निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेको कृषि उपज संकलन गरे बजार लैजान सजिलो हुने तिमिल्सेनाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: