पाल्पामा समुदाय, विद्यार्थी र विद्यालयबीच बैठक, दलित बालिका शिक्षाको पहँुचमा नपुगेको निष्कर्ष

meropati

मिलन विश्वकर्मा
पाल्पा, १२ फागुन । कर्मठ बालिका परियोजनाअन्तर्गत समुदाय, विद्यार्थी र विद्यालाबीच संयुक्त बैठक तानसेनमा सम्पन्न भएको छ । रिड नेपाल, ग्रीन तारा नेपाल र दलित महिला संघ पाल्पाको संयुक्त आयोजनामा बैठक सम्पन्न भएको हो ।

बैठकमा रिड नेपालका एजुकेसन कोर्डिनेटर कपिलप्रसाद पुरीले संस्थाले पाल्पामा गरेका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । यी तीन संस्थाको सहकार्यमा पाल्पामा दलित र सीमान्तकृत समुदायका बालिकालाई सहयोग हुने खालका कार्यक्रम संचालन हुँदै आएको छ । दलित तथा सीमान्तकृत समुदायका बालिकाको शिक्षामा गुणस्तर सुधार गर्ने काम आफूहरूले गरेको उहाँले बताउनुभयो । लक्षित बालिकाको अध्ययनका क्षेत्रमा संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरेको पुरीले बताउनुभयो ।



बालिकालाई स्वाथ्य तथा शैक्षिक सामग्र्री, ती बालिकाका अभिभावक आमालाई आयआर्जन र शिक्षकलाई गुणस्तरीय शिक्षा तथा कक्षाकोठा व्यवस्थापनसम्बन्धी तालिमसहितका कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार आमाहरूलाई सीपमूलक तालिम दिइएको छ । कपडा सिलाउने, डल तथा कुसन बनाउने तालिम, सरफ तथा अगरबत्ती बनाउने र अचार बनाउने, तरकारी खेतीका बारेमा तालिम दिएको पुरीले बताउनुभयो । शैक्षिक सामग्री, कृषि उपकरण र विद्यालयलाई ल्यापटप समेत वितरण गरिएको छ ।

पाल्पामा यो कार्यक्रम पाँचवटा विद्यालयमा संचालन भएको छ । तानसेन नगरपालिकाभित्रका देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, लुम्बिनी माध्यमिक बिद्यालय, रम्भा गाउँपालिकाको ताहुँस्थित जनता आधारभूत विद्यालय र तिनाउ गाउँपालिकाको दोभानस्थित आदर्श आधारभूत विद्यालयमा कार्यक्रम सञ्चालन भएको रिड नेपालका प्रोजेक्ट डाइरेक्टर डिल्ली डोटेलले बताउनुभयो ।

कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालायका छात्रा रोजिना गाहाले संस्थाले वितरण गरेको सेनिटरी प्याडका कारण छात्राहरू विद्यालय आउन थालेको बताउनुभयो । महिनावारी हुँदा पनि बालिका विद्यालय आउन थालेको उहाँले बताउनुभयो । देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण थापाले संस्थाले गरेको सहयोगले विद्यालयमा धेरै परिवर्तन आएका बताउनुभयो । शिक्षकले आधुनिक शिक्षा र प्रविधिबारे सिक्न पाएको र विद्यार्थी सिर्जनशील भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षमा छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर नगरले अहिलेपनि कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले गरिबीका कारण अझैपनि दलित र सीमान्तकृत समुदायका बालिका शिक्षाको पहुँचमा पुग्न नसकेको बताउनुभयो । ‘अति विपन्न परिवारलाई लक्षित गरेर संस्थाले संचालन गरेको कार्यक्रम सराहनीय छ’ उहाँले भन्नुभयो ‘ती परिवारलाई आर्थिक रुपमा सबल बनाउँदै बालिकालाई शिक्षाको पहुँचमा ल्याउन राज्यले पनि चासो दिनुपर्छ ।’

कार्यक्रममा जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख शिक्षक, अभिभावक, विद्यार्थी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

दलित महिला संघकी कोर्डिनेटर साबित्रा विश्वकर्माले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: