ज्यान जोगाउन वर्षौं काम गरेको बोनस र तलब माया मारेर साउदीबाट घर आएँ

खबर खुराक

रौतहट, १० चैत्र । परदेश नजाउन्जेल पैसा कमाउन त जे पनि गर्छु जस्तो लाग्छ । तर त्यो परको अर्काको देशमा सोच्दै नसोचेका दुःख कष्ट आइपर्छ तब मानिसलाई पैसाको भन्दा ज्यानको माया लाग्छ थाल्छ । त्यसैले त गौर नगरपालिका १ का दिनानाथ तिवारीले साउदीमा वर्षौं काम गरेको बोनस र तलबसमेत छाडेर घर फर्कनुभयो । अप्ठेरो परिस्थितिमा पैसाको भन्दा पनि ज्यानको माया लाग्यो । सोच्नु भयो – ‘ज्यान भए पैसा त कमाइएला नि ।

घरको आर्थिक अवस्था सुधार्न र दिदीबहिनीको विवाहका लागि खर्च जुटाउन दिनानाथ सन् २०१४ मा साउदी जानुभएको थियो । सुरुका दिनमा काम र कमाइ ठिक ठिकै भयो । बचेको जति रकम नियमित रूपमा घरमा पठाउनुभयो । दुई वर्षपछि भने तलब बढ्यो । मासिक ६० हजार रुपैयाँ कमाउन थाल्नुभयो । तलब बढ्दा खुसी नहुने को पो होला र । दिनानाथले पनि सपनाहरु बुन्न थाल्नुभयो । मेडिकल कम्पनीमा जनरल वर्करका रूपमा जानुभएका दिना नाथको काम पनि सजिलो नै थियो । तर बिस्तारै कम्पनी घाटामा जान थाल्यो ।



कम्पनी घाटामा गएको बहानामा कम्पनीले तीन महिनामा मात्र तलब दिन थाल्यो । तर तीन महिनामा पनि एक महिनाको काम तलब दिन्थ्यो । काम गरे पछि त एक दिन तलब आउला नि भन्ने आस भयो, आसै आसमा काम गरियो तर अरूको मन हाम्रो जस्तो नहुने रहेछ,’ दिनानाथ भन्नुहुन्छ । यही बेला साउदीमा कोरोना सङ्क्रमण देखिन थाल्यो । साउदी मात्र होइन कोरोना महामारीले विश्व नै आक्रान्त हुन थाल्यो । यही मौकामा कम्पनी बिक्री भएको कुरा दिनानाथसहित अन्य कामदारले पछि मात्रै जानकारी पाउनुभयो ।

हामीले त तलब माग्न जाँदा मात्र थाहा भयो साहुले कम्पनी बेचिसकेका रहेछन्,’ दिनानाथ भन्नु हुन्छ,‘कम्पनी बिक्री भइसक्यो अब तिमीहरूको तलब नयाँ साहुले दिन्छन् पो भन्यो । नयाँ साहुले पनि बहाना नै बनाए । अहिले आफूसँग रकम नभएको र बिस्तारै दिँदै जाने बताए । तर त्यो बिस्तारै दिन्छु भनेको दिन कहिले आएन । दिना नाथ सहित कम्पनीका कामदारले तलब मागिरहे । साहुले बाहानाबाजी गर्दै टारिरहे । कम्पनीले आलटाल गर्दा कामदारको भने बेहाल हुँदै गयो । विकल्प केही नभए पछि उनीहरूले दूतावासमा धर्ना दिए ।

साउदीको स्थानीय सञ्चार माध्यमले समेत उनीहरूको समस्यालाई उठाए । तर पनि केही भएन । एकातिर कोरोनाको कहर अर्को तिर कम्पनीको बेवास्ता । त्यो बेला त हामीलाई जिउँदो घर फर्कन पाइन्छ कि पाइँदैन जस्तो लागेको थियो, पैसाका लागि लड्दा लड्दै मरिने पो हो कि भन्ने भयो, दिनानाथ सुनाउनुहुन्छ । महामारीको त्यो समयमा दिनानाथसहित अन्य साथीहरू साउदीमा रहेको नेपाली दूतावासकै सहयोग माग्न गए । दूतावासले नै घर फर्कंन मेसो मिलाइदियो । घर फर्कन आफैंले साउदी रियाल एक हजार खर्च गर्नुपर्‍यो भने २१ दिन त जेलमा समेत बस्न पर्‍यो । धन्न त्यो बेला हामीलाई विभिन्न उपायहरू सुझाएर दूतावासले सहयोग गर्‍यो, नत्र हामी त बिचल्लीमै हुने थियौं दिनानाथ भन्नु हुन्छ,‘तर आफ्नो देश फर्कन बिना गल्ती जेलमा बिताएका ती दिनहरू सम्झँदा भने दुःख लाग्छ ।

दिनानाथ घर फर्कँदा उहाँले कम्पनीबाट पाउने बोनस र बाँकी तलबका लागि मुद्दा चलि रहेको थियो । आफू घर फर्कंने निश्चित भएपछि उहाँले आफूले पाउने रकम आफ्नो साथी इलामका डम्बर लिम्बूको नाममा अधिकार दिनुभयो । मेरो जम्मा २ लाख ५० हजार रुपैयाँ रकम आउने थियो, त्यो रकम मेरो अनुपस्थितिमा मेरो साथीले लिन मिल्ने बनाएर आएको तर अहिलेसम्म पनि पैसा आएको छैन दिनानाथले गुनासो गर्नुभयो । उहाँ गएको जेठमा नेपाल फर्कनुभयो ।

घर आएको पनि १० महिना पूरा भइसक्यो । तर अहिले सम्म पनि कम्पनीबाट त्यो रकम आएको छैन । भन्नुहुन्छ ‘त्यो बेला पैसाको भन्दा त ज्यानको माया लाग्यो, घर आउँदा बल्ल अब चाहिँ बाँच्छु भन्ने लाग्यो, पैसाको त के भरोसा र । दिनानाथ आप्रवासी स्रोत केन्द्र रौतहटमा सहयोगका लागि पुग्नुभएको छ । केन्द्रले काठमाण्डौमा रहेको सीएमआइअआरसँग समन्वय गरेर दिनानाथको रकम झिकाउन प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: