बंगला देशको रोहिंगा शरणार्थी क्याम्पमा भीषण आगलागी : कम्तीमा १५ जनाको मृत्यु

१० हजार भन्दा बढी टहरा नष्ट

खबर खुराक

बंगला देशको कक्स बजार स्थित रोहिंगा शरणार्थी क्याम्पमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । त्यस्तै आगलागीमा परी ४ सयभन्दा बढी हराइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग यूएनएचसीआरले जनाएको छ ।

त्यस्तै आगलागीबाट झन्डै ५० हजार शरणार्थी विस्थापित भएको पनि आयोगले जनाएको छ । यूएनएचसीआरका जोहानेस भानडेर क्लाउले भने, ‘भीषण आगलागी भएको छ, अझै पनि ४ सय जना हराइरहेका छन् ।



बंगला देशी अधिकारीहरुले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको बताएका छन् । आगाले शरणार्थी क्याम्पमा रहेका करिब १० हजार टहरा नष्ट गरेको यूएनएचसीआरले जनाएको छ ।

बंगलादेशको विपद् व्यवस्थापन तथा उद्धार मन्त्रालयका सचिव मोहम्मद मोहसिनले भने झन्डै ४० हजार टहरा नष्ट भएको रोयटर्सलाई बताएका छन् । घटनाको अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको पनि उनले बताए ।

रोहिंगा शरणार्थी अमन उल्लाहले रोयटर्ससँगको कुराकानीमा भने, ‘सबैथोक गयो । हजारौं घरविहीन भएका छन् । रातभर लागेको आगो करिब ६ घण्टापछि मात्रै नियन्त्रणमा आएको हो ।

आगलागीबाट अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम र टर्की सरकारले सञ्चालन गरेका दुई वटा अस्पताल पनि नष्ट भएका छन् । बंगलादेशको कक्स बजार जिल्लामा मात्रै करिब १० लाख शरणार्थी रहेका छन् । म्यानमारमा सेनाले रोहिंगा समुदायमाथि दमन गरे पछि छिमेकी मुलुक बंगलादेशको कक्स बजार क्षेत्रमा उनीहरु शरण लिन आइपुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: