बगनासकाली लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा

खबर खुराक

मिलन विश्वकर्मा
पाल्पा, १५ चैत । जिल्लाको बगनासकाली गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच घोषणा गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकास्तरीय बाल सञ्जालकी संयोजक इन्दु गाहाले पानसमा बत्ती बालेर बालमैत्री गाउँपालिका घोषणा गर्नुभएको हो । गाउँपालिका बालमैत्री बने पछि आफूहरूलाई जागरुप र उत्साहित बनाएको गाहाले बताउनुभयो । आजको दिन यहाँका बालालिकाले ऐतिहासिक सफलता हात पारेको दिनको रुपमा रहने छ ।

आफूहरूलाई निर्धक्क भइ अगाडि बढेर हक अधिकार खोज्ने बाटो खुलेको उहाँले बताउनुभयो । ‘बालबालिकाको भविष्य उज्वल बनाउन भव्य समारोहकाबीच फूल रोपिएको छ। यसलाई फक्रिन दिनुपर्छ’ उहाँले भन्नुभयो ‘बीचमा निमोठ्ने वा सुकेर जान नदिने गरी यहाँका बालबालिकासहित अभिभावक र स्थानीय सरकारले भूमिका खेल्नुपर्छ ।’ यहाँका सबै बालबालिका अधिकारसम्पन्न हुनेगरी आगामी कार्यक्रम अगाडि बढाउन सुझाव दिनुभयो ।



तीन वर्षको निरन्तर प्रयासपछि गाउँपालिकालाई बालमैत्री बनाउन सफल भएको गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बताउनुभयो । अबका दिन यहाँका बालबालिकाको सक्रिय सहभागितामा बालमैत्री गतिविधि गर्ने उहाँले बताउनुभयो ।बगनासकाली लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका बनेको छ । नेपालका ७ सय ५३ वटा स्थानीय तहमध्य १०औं र मलुकभरीका गाउँपालिकामध्य तेस्रो गाउँपालिकाको रुपमा बालमैत्री बनेको छ ।बालविवाहको न्यूनीकरण, बालश्रमको अन्त्य, बालअधिकारको सुनिश्चततासहितका सूचक पूरा गरेपछि गाउँपालिकालाई बालमैत्री घोषणा गरिएको हो ।

आर्थिक वर्ष ०७४÷७५ मा एक करोड बजेट विनियोजन गरेर यो अभियान थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालले बताउनु भयो । यो अभियान सफल पार्न करिब ३ करोड बजेट खर्च भएको छ । बालमैत्री राष्ट्रिय रणनीति २०६८ अनुसार ३९ सूचकमध्ये १७ वटा सूचकहरूमा शतप्रतिशत र २२ वटा सूचकहरुमा ८० प्रतिशत नतिजा ल्याए बालमैत्री घोषणा गर्न सकिने प्रावधान रहेको छ। बगनासकाली गाउँपालिकाले २३ वटा सूचकमा शतप्रतिशत अन्यमा ९० प्रतिशत भन्दा बढी नतिजा ल्याई बालमैत्री घोषणा गरिएको उहाँले बताउनुभयो ।

बालमैत्री घोषणा भएसंगै आफूलाई जिम्मेवारी थपिएको उहाँले बताउनुभयो । अब यस गाउँपालिकाका बालबालिका कुनैपनि अधिकारबाट बञ्चित हुने छैनन् । गाउँपालिका भित्रका २५ जना बेसाहारा बालबालिकालाई मासिक एक हजार भत्ताको व्यवस्था मिलाएको बश्यालले बताउनुभयो । गरिबी र विपन्नताको कारणले खान, बस्न र पढ्नको लागि समस्या भएका बालबालिकाहरूको अझैपनि वडास्तरबाट विवरण लिइने छ । त्यस्ता बालबालिका फेला परेमा गाउँपालिकाले ती बालबालिकाहरूको सबै व्यवस्था मिलाउने बश्यालले बताउनुभयो । उहाँकाअनुसार तीन वर्षदेखि विभिन्न वडाका टोलटोलमा पुगेर अभिभावक, शिक्षक, र बालबालिकाको सहभागितामा बालमैत्री अभियानका कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले बगनासकाली गाउँपालिका अध्यक्ष हरि पाठक, नेपाली काँग्रेसका सभापति यमलाल तिमिल्सेना, नेकपा माओवादी केन्द्रका कोषल न्यौपाने, राप्रपाका कपिल ढुंगाना, बालमैत्री राष्ट्रिय सहजकर्ता शर्मिला पौडेल, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वसभापति गोविन्द भट्टराई, बगनासकाली पत्रकार समूहका उपाध्यक्ष भोजराज तिमिल्सेना लगायतले शुभकामना दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालको सभापतित्वमा भएको कार्यक्रममा बाल सञ्जालतका सचिव दिनेश पाण्डे र शिक्षा शाखा प्रमुख गुनाराम खनालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका अवसरमा बालमैत्री गाउँपालिका घोषणा गर्न सहयोग गर्नुहुने पूर्व प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, फोकल पर्सन मनोज आचार्य, पत्रकार विष्णुप्रसाद घिमिरे लगायतलाई सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: